साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँचुञ्जेल चिडियाखाना त्यसपछि सङ्ग्रहालय

बाँचुञ्जेल जावलाखेलको सदर चिडियाखानामा सुविधासम्पन्न टहरो बनाएर‚ मुख्य आकर्षण हुने गरी 'महान एवम् संरक्षित जीवित-जिन्सी सामान'को रुपमा राखौं र त्यसपछि भने छाउनीस्थित संग्रहालयमा राख्ने व्यवस्था गरौँ ।

Nepal Telecom ad
राजेन्द्रप्रसाद अधिकारी :
धेरै पहिला नेपालमा आकाशवाणी (आवा) चल्थ्यो‚ टाढा रहेका मानिसहरुबिच समाचार आदानप्रदानको लागि । अहिलेको जस्तो व्हाट्सएप‚ मेसेन्जर वा भाइबरहरु थिएनन् । आवा पठाउँदा अक्षर गनेर पैसा लिने गर्थ्यो दूरसञ्चारले । त्यसैले छोटोमा लेख्ने गरिन्थ्यो‚ आफूले पठाउने समाचार । उदाहरणको लागि “कुरा गरौं” भन्न “कु गरौं” लेखिन्थ्यो । त्यसै समयतिर कुनै पत्रिकामा यौटा चुटकिला छापिएको थियो । चुटकिला बमोजिम- चिडियाखानाका हाकिम एक महिनाको घरविदामा आफ्नो गाउँ गएका रहेछन् । त्यसै बेला चिडियाखानाको मूख्य आकर्षक बनेको‚ बुढो वनमान्छे एकाएक मरेछ । चिडियाखानाको लागि त्यो त ठूलै घटना हुन पुग्यो । त्यसको जानकारी हाकिमलाई गराएर अब त्यहाँ के गर्ने हो आदेश पनि माग्नै पर्ने भयो । त्यसैले उनका कर्मचारीले आवा मार्फत किफायती ढङ्गले जानकारी पठाए जसमा लेखिएको थियो- “चिडिया घरको बुढो वनमान्छे मर्यो । तपाईं आफैँ आउनु हुन्छ कि अर्को किन्ने आदेश दिनुहुन्छ ?” आवा पढ्दा लाग्थ्यो हाकिम साहेब आफैँ आएर वनमान्छेको ठाऊँमा बस्ने रहेछन् कि ?
यो पटक नेपालका महान दलका महान भनिएकाहरुले ङिच्च ङिच्च गर्दै आफ्ना पहेंला दाँतहरु देखाएर‚ आफ्नो अन्तिम लाज छोपेर झुण्डिहेको सानो अनि झुत्रो टालोलाई पनि च्यातचुत पारेर मान्छेहरुको भीडमा मज्जैले फ्याँकेको समाचारले भने विस्मृतिमा गइसकेको माथिको चुटकिलाको एकाएक संझना गरायो । वनमान्छे झण्डै झण्डै मान्छे नै हो‚ खासमा त्यसले लुगा लगाउन मात्र बाँकी हो । महान दलका‚ ती महान भनिएकहरुले बचेको त्यही कालो मैलो र झुत्रो कपडाको टुक्रो टालोलाई पनि च्यातचुत पारेर मान्छेकै भीडमा फालिसकेका छन् । त्यसैले अब त्यो झुत्रो टालो लगाएर फेरि लाज छोप्ने संभावना पनि बाँकी रहेन । विचौलियाहरुले उपहारमा दिएका महँगो “कालो चश्मा” लगाएको र गुलियो फ्रुटी खाएको भरमा मात्रै‚ सर्वाङ्ग नाङ्गो भएर मानिसहरुको भीडमा ढलिमली गर्दै आफ्नो ढाड कन्याएर वरिपरी छारो उडाइरहने यी महान भनिएकाहरुलाई मानिसै हुन् भनेर कसरी मान्ने र ? मानिस हुनलाई त थोरै भए पनि मानिसको जस्तो व्यवहार हुनै पर्यो । अर्थात् लाज सरमको केही अंश त हुनै पर्यो ।
बुद्धिको को त के कुरा गर्नु र आफूलाई समयानुकुल बाँच्न र आहारा जुटाउनको लागि चाहिने जति बुद्धि त भ्यागुत्तो मै पनि नहुने होइन । बाँकी त उही र उस्तै‚ बेला न कुबेलाको अनि ठाउँ न ठहरको ट्वार ट्वार न हो । यी महान् भनिएकाहरुबाट पनि सुनिने त्यही ट्वार ट्वार नै त हो । हुँदा हुँदा खुम्चिएर‚ किन चाउरिस मरिच आफ्नै रागले भने जस्तो भइसके । कुनै काम नलाग्ने भुत्ते खुकुरी जस्तो भएको नै कति भै सकेको थियो तर के गर्नु दापहरुको दादागिरीले जोगिएका थिए तर यसपाली त जेनजीको विद्रोहले दापसाप एकातिर हुत्याईदिएपछि यिनीहरुको असलियत ह्वार्लाङ्गै भएको हो । यी महान भनिएकाहरु त कस्ता भए भने‚ कवाडीले लगे हुन्थ्यो भनेर कामना गरेको तर कवाडीले पनि लान मन नगरिरहेको‚ दोस्रो विश्वयुद्ध लडेर फर्कदा‚ कुनै लाहुरेले बोकेर ल्याएको तर बिग्रिएर थन्किएको बडेमानको पेण्डुलम घडी जस्तो । यस्ता बिग्रिएर थुप्रिएका अनि घाँडो भएर बिभिन्न घरहरुमा ठाऊँ ओगटेर बसेका पेण्डुलम घडीहरुले सहकार्य गर्ने रे ! अनि त्यसको सदस्य संख्या एक करोड पुर्याउने रे ! हाँस्न पनि कति हाँस्नु ? फेरि यिनीहरुलाई महान् नै हुन् भनेर कसैले भित्र मनैदेखि मानेका छन् भने‚ त्यस्ता मानिसहरुको मानसिक अवस्थाको परीक्षण पनि गर्नै पर्ने हुन्छ । नत्र नेपालका सच्चा मानिसहरु चाहिँ विलुप्त हुने डर भएकोले‚ बेलैमा सचेत हुनु पर्ने हुन्छ ।
बुझ्न पर्ने कुरा चाहिँ के हो भने बोल्न सक्छ भन्दैमा‚ बोलेकै भरमा मानिस नै हुन् भनेर ठोकुवा गर्न चाहिँ सकिँदैन । सुगाहरु बोल्न सक्छन् मानिसले जस्तै‚ तर के तिनीहरुलाई थाहा हुन्छ र आफूले के बोलिरहेको छु भनेर ? अनि बोलेकै भरमा सुगालाई मानिस भन्न मिल्छ र ? यहाँनेर सुगाकै यौटा कथाको पनि संझना भयो । अलिकति प्रसंग जोडि हालौं- बारीमा मकै खान आउँदा रहेछन् सुगाका बथान । त्यहाँ कसैले जाल थाप्दो रहेछ र सुगाहरु समातेर बजारमा बेच्न लैजाने गर्दो रहेछ । किसानलाई त्यो देखेर सुगाप्रति दया जागेछ र उसले केही सुगालाई समातेर बोल्न सिकायो- “जाले आउँछ‚ जाल हाल्छ‚ फस्दै नफस्नु‚” अनि ती सुगालाई छोडिदियो अरु सुगाको बथानमा । बिस्तारै सबै सुगाहरुले त्यो भन्न जाने । फेरि कुनै दिन बारीमा मकै खान आएका सुगाहरुलाई जालेले आफ्नो जालमा पार्यो र जाल सहितै तिनीहरुलाई बोकेर बजार तिर जाँदै गर्दा सुगाहरु चाहिँ भन्दै थिए – “जाले आउँछ‚ जाल हाल्छ‚ फस्दै नफस्नु ।” त्यसैले मानिसहरुले बुझ्नु पर्ने हुन्छ कि सुगाहरु मानिस होइनन् । त्यसैले यी महान भनिएकाहरुले मानिसहरुमाथि धर्म संकट पैदा गरेका छन् । कुनै कुरा सिकेर बुझ्ने गुण नभएकालाई‚ मानिसले जस्तै बोलेको भरमा‚ मानिस भनेर मान्न मिल्छ त ? मानिसले त आफ्ना विगतहरुबाट सिक्छ । मानिससँग विवेक हुन्छ त्यसैले उ पछुतो पनि गर्छ अनि सच्याउँछ पनि आफूलाई । मानिसका व्यवहारहरु त स्वनियन्त्रित हुन्छन् र अनुमान गर्न सकिने हुन्छन् । तर यी महान भनिएका ज्याद्राहरुमा त्यस्तो कुनै गुण भएको देखिएन ।  त्यसैले यिनीहरुलाई संरक्षीत जीवहरुको महान् सूचीमा राखेर‚ संरक्षण गर्न आवश्यक देखिएको हो । वास्तवमा‚ धेरै पछि नेपालीहरुले गर्व गर्न सक्ने प्राचीन‚ “भ्यान्टेज” ठहरिनेछन् यिनीहरु ।
पवित्रभूमि देवघाटमा गएर शान्तिको कामना गर्दै बेलुकाको सत्संगमा देखिन पनि लाज मान्नु पर्ने महान् भनिएका मध्येका एकले जेनजी अभियानका नाममा सुशासन र भ्रष्टाचारविरोधी आन्दोलन चलाइरहेका नव युवाहरुलाई सार्वजनिक रुपमा प्रश्ना गरेछन् कि नव युवाहरुको आदर्शको मापदण्डमा कोही छन् भने त्यसैसँग ती महान् भनिएका जीव परीक्षणमा उत्रन तयार छन् रे ! अब सोच्नुस् अधमहरुसित को भिड्ने ? त्यसैले त होला “मूर्खदेखि दैव डरायो” भन्ने उखान बनेको । पाखुरा सुर्केर साना नानीहरुसँग पौठाजोरी खेल्न कोही सद्दे मानिस सार्वजनिक रुपमा तयार होला र ? सद्दे मानिसले त ऐनामा आफ्नो हनुहार हेरे पछि अनुहार भरी लागेको फोहोर देख्दैन त ? जिन्दगीभर कुशासन र भ्रष्टाचारको संरक्षणमा योगदान पुर्याउनेले नवयुवालाई  आदर्शको मापदण्ड को छ भनेर सोध्ने साहस कसरी गर्ला र ?
त्यसैले ती महान भनिएकाहरु सुगा भन्दा माथि हुन् भनेर मान्ने आधार पटक्कै देखिदैन । बरु आफ्नो अनुहार सफा देखिने ऐना चाहिँ त्यस्ताका घरमा नहुन सक्थ्यो । त्यो बुझेर नव युवासँग ऐना मागेको भए चाहिँ यिनको दिमागले अलिकति भए पनि काम गरेको रहेछ भनेर मान्न मिल्थ्यो र मानिस नै हुन् कि भनि शंका गर्न पनि सकिन्थ्यो । त्यस्तै अर्को झनै ठूलो बेकारको पत्रु अर्थात् झनै ठूला महान भनिएकाले पनि- जेनजीका साथीहरुले उनको पार्टीको ठूलो महत्व छ भनेका छन् भनेर भन्न भ्याएछन् । यी महानलाई आफू हिजो कुन पार्टीबाट फुटेको हो एकछिन अघिसम्म कुन पार्टीमा थिए र अब कुन पार्टीमा छन् भन्ने बताउनै पनि निकै कसरत गर्नु पर्ने देखिन्छ । आफू नै “न घरको न घाटको” भएकोले कसलाई कुन घरबाट अनि कसलाई कुन घाटबाट धपाएका होलान् ? दया लाग्नु सिवाय बाँकी के नै रह्यो र ? अनि यस्तालाई फेरि महान भनेर मान्नै पर्छ भन्नेहरु पनि देखिएका छन् । हुन तः कुनै समय असनमा छोडिएका साँढेको पछि पछि लाग्ने तमासेहरु पनि भोगेकै हो हामीले त । वास्तवमा त्यस्ता साँढे र तमासेहरु बिच थोरै मात्र भिन्नता थियो र त्यो समय त्यस्तै थियो । तर अहिलेका यी महान भनिएकाहरुको पछि थपडी बजाउदै‚ अहिले जेनजी पुस्ताको समयमा पनि आफ्नो अमूल्य समय बेकार खेरा फालिरहेकाहरु साँच्चै नै विवेक भएका मानिसहरु नै हुन् भने तिनीहरु प्रति दयाभाव देखाउन भन्दा बढी के नै पो गर्न सकिएला र ?
त्यसैले‚ समस्या त यहाँ यस्ता वेकारका पत्रुहरुको भयो । यी त विसर्जित वस्तु पोको पारेर फालेका प्लास्टिक जस्ता भए‚ गल्दै नगल्ने । हातले टिप्न पनि घिन लाग्ने । नजिक राखे एकनास गन्हाइरहने‚ मात्र प्रदुषणको थुप्रो अर्थात् व्यवस्थापन गर्न अति ठूलो समस्या । मलाई भने ‘मेनेजमेन्ट बाई एक्ससेप्सन’ भन्ने व्यवस्थापनको पुरानो सिद्धान्तलाई नेपालको सन्दर्भमा प्रयोग गर्न सकिएला जस्तो लाग्दै आएको छ । त्यसैले अब‚ जेनजी आन्दोलनले विस्थापित गर्न खोजेको तर नसकेको महान भनिएका यी ज्याद्रा‚ घिनलाग्दा‚ लोभी‚ निर्घिणी अनि पदलोलुपहरु जसलाई यौटा गरिब राष्ट्र नेपालले आफ्नो अमूल्य समय एवम् वर्षेनी ठूलो रकम खर्चेर अझ भन्ने हो भने धेरै नेपालीका रगत पसिना बगाएर तयार गरेको महान भनिएकाहरुलाई ‘संरक्षीत जीवित-जिन्सी सामान’ भनेर घोषणा गरौं र ‘मेनेजमेन्ट बाई एक्ससेप्सन’ अर्थात् अपवाद व्यवस्थापनको नमुनाको रुपमा बाँचुञ्जेल जावलाखेलको सदर चिडियाखानामा सुविधासम्पन्न टहरो बनाएर‚ मुख्य आकर्षण हुने गरी ‘महान एवम् संरक्षित जीवित-जिन्सी सामान’को रुपमा राखौं र त्यसपछि भने छाउनीस्थित संग्रहालयमा राख्ने व्यवस्था गरौँ ।
त्यसो गर्दा उनीहरुको उचित व्यवस्थापन पनि हुने । अनि आकर्षण थपिए पछि यस्ता महान भनिएकाहरु जिउँदो छउन्जेल चिडियाखानाले र त्यसपछि संग्रहालयले स्वदेशी तथा विदेशी पर्यटक एवम् दर्शकहरु बढाएर थप आम्दानी गर्न पनि सक्ने ।
यसो गर्न किन पनि जरुरी छ भने यिनीहरुले जीवनभर गरेका महान कामहरुको संझना गरिरहनु हामी सबैको साझा कर्त्तव्य पनि हो । अब यी महान भनिएकाहरुले गरेको ऐतिहासिक एवम् महान कामको बखान गर्नको लागि भने मैले प्रख्यात भारतीय गीतकार सन्तोष आनन्दको गीतको यौटा पंक्ति सापट लिएको छु- “घर फूँक दिया यिनने [हमने] अब राख उठानी है‚ जिंदगी और कुछ नहीँ यिनकी और हमारे देशकी [तेरी मेरी] कहानी है ।” त्यसैले इण्डियन आइडलका जज मध्येका एक विशाल ददलानीले मई २०२३ को इण्डियन आइडल कार्यक्रममा “हम कोशिस करेँ लोगों कि याद दिलाए कि संतोष आनन्दजी क्या चिज है” भने झैँ हामी पनि कोशिस गरौं‚ वर्षौं वर्षसम्म हाम्रा मानिसहरुलाई संझना गराऔं कि यी महान भनिएकाहरु के थिए र कस्ता वस्तु थिए ।
०००
२०८२ कार्तिक २२
काठमाडाैं
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Raghab lal Vaidya
Raghab lal Vaidya
7 months ago

हो पत्रु जिन्सी सामान सरहनै हुन् यी चिडियाखाना र सङ्राहलयमा शोभा दिन्छन् त्यसको जो हो हुनुपर्ने हो जिवित अजिवित जिन्सी पत्रु सरह ! कस्तो गज्जबको प्रहार हजुर !

kumar khadka
kumar khadka
7 months ago

समय सान्दर्भिक निबन्धको लागि धन्यवाद सर । यिनिहरु वास्तविक समय र उपयोगमा नहुने, नचाहेको ठाउँमा घाईते बनाउने पत्रु खिया लागेका कवाडीखानाका सामान जस्तै हुन् ।सरले भन्नू भएझैं ” मेनेजमेन्ट बाई एक्सेप्सन ” सिद्धान्त अनुसार ठेगान लाउनै उचित देखिन्छ ।

Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
2
0
Would love your thoughts, please comment.x
()
x