साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला र झोले जिन्दगी 

झोलै झोल झोलामा बोकेर झोल पिउँदै विपक्षीलाई कुटुकुटु टोकेर, टेकेर, ठोकेर, खोकेर, नचाहिँदो बकेर सोझा सिदा जनतामा भ्रम छरेर भाँडभैलो मच्चाउन पनि झोल कारक मानिन्छ ।

Nepal Telecom ad
शेषराज भट्टराई :
चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने नेपाली उखान त्यसै चर्चित भएको होइन । यसको अन्तर्यमा धेरै रहस्यहरू लुकेका छन् । मुख्य कुरा हरेक प्राणी झोलबाट तयार हुन्छ । मान्छे झोलबाटै तयार हुन्छ । नौ महिनासम्म झोलमा नै डुबेर पनि जन्मनासाथ इनर्जीको लागि झोल नै पिउन खोज्छ । मर्न गाह्रो हुँदा झोल पिउन खोज्छ र अन्त्यमा झोल नै पिएर मर्छ । झोलले चिता पखालपुखुल गरेर बिसर्जन गरिन्छ र आत्माको शान्तिका लागि झोलले नै तर्पण दिने चलन हाम्रो समाज संस्कारले स्वीकार्छ भनेपछि झोल चोक्टाभन्दा अनमोल साबित भएन त ?
हरेक प्राणीको प्राण धान्ने काम झोलले नै गर्छ र मृतात्माको तृप्तिका लागि पनि झोल नै अगाडि सारिन्छ । मानव जीवित छउँन्जेल झोलका खातिर मरिहत्ते गर्छ । मेलम्चीको झोल काठमाडौँमा ल्याउन र धरानका जनतालाई पिउने झोलको व्यवस्था गर्न तत्क्षेत्रका नेताहरू रातदिन नभनी लागिपरेका छन् । दाँत माझ्‌न, मुख धुन होस् या सूची हुन वा सिङ्गो कद पखाल्न झोल अति आवश्यक मानिन्छ । कन्यादान दिन होस् या सूर्यार्ध दिन वा जप, तप, ध्यान, झोलबाट सुरु र झोलबाटै अन्त्य हुन्छ ।
खेतीपाती, हराभरा, शीतल स्वास्थ्य हरेक कुरा झोलबाट मात्रै सम्भव हुन्छ । झोल हालेको तिउन खाएर बचाइमा लीउन अलगाउनु पर्छ । नाक, आँखा, मुखमा झोलको तलाउ हुन्छ र नै आवश्यक पर्दा बर्सिने गर्छ । मान्छे/प्राणीको मन चित्त दुख्यो भने देहमा झोलको सधैँ बाढी आइरहन्छ । मानव शरीरको सत्तरी प्रतिशत अंशमा झोलकै हालीमुहाली हुन्छ । त्यसैले होला मान्छे झोल भनेपछि भुतुक्क हुन्छ ।
पृथ्वीमा चार भागको तीन भाग झोल हुन्छ । झोलका मामलामा ब्राजिल पछि नेपाल दोस्रो धनी देशमा दरिएको छ । संसारमा झोल नहुँदो होला त प्राणीको अस्तित्व नै भाँडभैलो भएर भँड्खालामा पर्ने थियो । त्यसैले माम हाममा पनि झोल, हरेक काममा पनि झोल भएपछि प्राणी, बन, जङ्गल जमिनका लागि झोल अनमोल भएन त ?
किलकिलेमा खुराकले पाइलो सार्न गारो मान्यो भने झोलकै मद्दतले ठेल्नु पर्छ । शरीरको बाहिरबाट खलखल्ती पसिना बग्दा झोलको मोल तिरेर भए पनि पानी पिएर आनन्दको अनुभूति गर्छौ । झोलकै मद्दतबाट प्राणी पैदा हुन्छ । झोल नभए सिरक सिरानेको खोल पनि सफा हुँदैन भने झोल नपिइ मान्छे कसरी सफा हुन्छ त ? बडेमानका जहाजदेखि साना मट्याङ्ग्रा पाङ्ग्राहरू गुड्दैनन् । इन्धन पिपासु सुविधाका साधनहरू झोल नभए पाइलै सार्दैनन्, सासै फेर्दैनन् । खाडी मुलुक अरेबियन कन्ट्रीहरू झोलको बाडी बगाएर बेचेर विश्व जगत्‌को द्रव्य धमाधम आफूतिर खैचिरहेका छन् ।
सुद्र, छुद्र जातिहरूको कुनै पनि धर्म कर्ममा कोदोको झोल अनमोल मानिन्छ । नेवार समुदायले म्हः पूजामा कोदोको झोल अनिवार्य नै ग्रहण गर्ने गर्छन् । एक चोटि नेवार्नी नानीसँग भाइटिका लगाउनु पर्ने अवस्था आइलाग्दा म उपाध्याय ब्राह्मणलाई घाँटी समाएर पशुलाई झैं जबर्जस्ती पिलाइदिन खोजेका थिए मैले दलका नेताले जस्तै विद्रोह गरेँ । मैले धर्म छाड्न सकिनँ । यस्ता लोक्कल झोलहरू नेपाली सुरक्षाकर्मीले फेला पारेभने सोझै खाल्डामा खन्याउँछन् । पोख्नु, नष्ट गर्नु एक किसिमको संहारेपन हो । प्रगतिका लागि संहार हानिकारक नै मान्नुपर्छ । आफ्‌नो देशको उत्पादनलाई संरक्षण श्रीवृद्धि गर्नुको सट्टा पोखेर पौरख देखाउनु राष्ट्रहित विपरीत कर्म हो । जतन, जगेर्ना, उन्नति प्रगतिका लागि झोल पिएर भएपनि मुन्टो टेकेर लागिपर्नु पर्छ । नेपाल सरकार झोल पिउन प्रेरित गर्छ तर उल्लेख्य उत्पादनका लागि उदास उदास छ । नेपाली आदिवासी जनजाति हुँ भन्न रुचाउनेहरू नानाभाँतीका झोल पिउन पाउँदा आफूलाई अचाक्ली नै भाग्यमानी ठान्छन् ।
विशिष्ट व्यक्तिलाई झोलले सम्मान नगर्ने देशै छैनन् । ठूला ठूला भोज भतेरमा महँगा महँगा झोलको व्यवस्था गर्नेले आफूलाई निकै ठूलो ठान्छ । छातीबाट अमृतका सहश्र धारा चुसाएर नै महिलालाई आमाको उपाधि मिलेको हो । फुस्रो झुसे पुरुषको जतिसुकै चौडा छाती भएपनि त्यो सम्भव हुँदैन । त्यसैले झोलको महत्त्व महिमा अपराम्पार र दिलदार छ ।
झोल नभए बत्ती बल्दैन । घुँडा, मांशपेशी चल्दैन । फल फल्दैन । झोल नभए आँखाको गेडो घुम्दैन । जिब्रो चल्दैन । बोट विरुवालाई झोल नपुगे फूल फुल्दैन । झोल नभए कसैकसैको सिंगो ज्यान र हात खुट्टै चल्दैन । झोल नभए अक्षर नै अलप हुन्छ । कालो, निलो, सेतो, हरियो, पहेलो रङ्गीविरङ्गी झोलका कारणले नै कलम र कोकको अस्तित्व रहेको छ । इन्जेक्सन झोल नभए खोल मात्रै हुन्छ । झोल नभए खोला धारा, कुवाको कल्पनै गर्न सकिँदैन । महासागर त झोलको खानी नै हो । माछा लगायत जलचरको जन्म, घरजम, बासस्थान झोल नभए सम्भवै हुँदैन । मान्छेलाई सारै, पिर पर्दा वा हर्षले हुरुक्क फुरुक्क हुँदा आँखाबाट झोल बर्सिने गर्छ । मुख, जिब्रामा हरदम झोल नभए मान्छेले बोल्न निल्न नै सक्दैन । हामीले हाम्रा शरीरमा हुलेका हलुका गरौँ झोलहरू पसिनाको रूपमा बाहिरिने छुट्टाछुट्टै खोल हुन्छ र नै प्राणी स्वस्थ रहन सम्भव भएको भनौ न त्यसैले अन्तरात्मालाई साक्षी राखेर सोचौँ हाम्रो अनमोल जिन्दगी साँच्चै झोलै झोलले भरिएको झोले जिन्दगी होइन त ?
झोल पिउँदै पिउँदै भएपनि हर्दम झोला बोकेर कर्म क्षेत्रमा लाग्नुपर्छ बस्तुहरू राख्न मिल्ने जस्तोसुकै टोकरीलाई पनि झोला भन्ने चलन छ । मोबाइल, मेमोरी कार्ड, पेन ड्राइभ, सुटकेश, दराज झोलाकै विकसित रूप मानौ । अझ रेलगाडी, हवाइजहाज, बस, झोलजहाज (पानी जहाज) पनि मान्छे र समान ढुवानी गर्ने अत्याधुनिक झोलाहरू हुन् । यस्ता झोला भित्र टन्न मानव, प्राणी र अनेक थरी वस्तुहरू कोचेर, यताका मान्छे उता उताका मान्छे यता गरेर मान्छेले मनग्गे आम्दानी गरिरहेको छ । पर्स, थैली, कुन्तुर, बाकस झोलाका आदि रुपहरू हुन् । पाठेघर जस्तो झोला र झोलमा बसेर प्राणीले प्राण धारण गर्छ । सुन्तला र सुनका तोला अनि नुनका किला बोक्नलाई पनि झोला अनिवार्य नै होला । फागुका बेलामा रङरोगनका लोला, माछा मारेर बोक्नलाई झोला भिरेर हिँड्छन् खोला खोला । गिट्ठा भ्याकुर, अम्बा, अण्डा, सागसब्जी बोक्नलाई पनि झोला अति नै खाँचो होला भने पछि बुझौँ मानव चोलामा झोला कति खाँचो पर्छ होला ?
टुकुटुकु हिँड्न थालेदेखिको झोलाले अझै छोडेको छैन भनेपछि झोलले छोड्ने त कुरै भएन । सानो छउन्जेल झोलामा किताब कापी च्यापेर हिडिन्छ भने बुढेसकालमा ओखती मलम बोकेर हिँड्नुपर्छ । तन्नेरी वयमा घर जम गर्ने साथीको खोजीमा गोजीमा नअटेका अर्जेन्ट लभ लेटर झोलाभरी बोकेर नाक ठाडो पार्दै हिँड्नुको आनन्दै अर्कै भनेपछि नमरी स्वर्ग कहाँ देखिन्छ र ?
गोठाले खेताले जिन्दगीमा झोलाले छोड्दै छोड्दैन थियो भने बृद्धावस्थामा वृद्धाश्रमको बास छँदा पनि लगौंटी लुगा, फेरुवा, फेटा, अनमोल, ओखतीदेखि सिटामोल नक्कली दाँत र कपालको कलर जगेर्ना गर्न पनि झोला र झोल अनमोल साबित भएको छ । यसो गम खाएर सोचविचार गरौँ त महादेवको कमन्डलु र शिवका जटाबाट निस्किएको बाछिटा पनि झोला र झोलकै पृथक् रूप होइन र ?
बालकका आँखाको झोल बन्द गर्न आनन्द दिन झोलामा झुलाउँदै झुल्लरीको भाकामा लोहोरी गीत गाउने चलन पुरानै पुस्ताका पालाको हो । महत्त्वपूर्ण ग्रन्थ धर्मशास्त्रहरू सुरक्षित राख्न झोला अनिवार्य मानिन्छ । कानचिरा जोगीहरू रातभरी फेरी लगाएर सत्रथरी दानमान सङ्कलन गर्न अधिक गोजिवेष्ठित झोला भिरेर हिँड्छन् । थरीथरीका झोल र झोला निर्माण गर्नु आआफ्‌नो कला हो ।
उदेकलाग्दा झोल र झोलाका परिकल्पनाकारलाई प्रबल गोरखा दक्षिणबाहु सम्मान पनि न्यून हुन्छ तर नेपालमा सिप पौरखको सम्मान भन्दा पनि आफ्‌नालाई विभूषित गर्ने अपाच्य रीतिथिति बाँधिएको छ जुन असल साधक, श्रमिक र कलाको ठाडो उपहास ठहर्छ । जे भएपनि पापी पेट भर्नलाई नानाभातीका झोल पिउँदै अनेकथरीका झोला बोक्दै जिउँदो पौरखी भएको भानमा रमाउनै पर्छ । नेपाल सिंगो देश नै झोला बोकेर अलख निरन्जन भिक्षांदेहि फलाकी रहँदा एउटा स्वाभिमान नेपालीको शिर निहुरिनु अस्वभाविक हो त ? अभिभावकले नै भाग्न सिकाउँछ भने भावी पुस्तामा मगन्ते स्वभाव सल्किहाल्छ नि ।
गोपाल योन्जनको राष्ट्रगानले त भन्छ नि-
खोसेको रोटीले मेरो पेट भरिन्न ।
मागेको धोतीले मेरो लाज छोपिन्न ।
यहाँ कथनी र करनीमा फरक छ । त्यसैले पटक्कै चित्त बुझ्‌दैन र झोल पिउँदै झोला र झोलको बयान विस्तारमा बताउँदै छु ।
झोल दुई थरिका हुन्छन् । कडा झोल र नरम झोल । कडा झोलले झुलाउँछ, चक्कर ठक्कर लगाउँछ र लडाउँछ भने नरम झोलले आनन्दको अनुभूति गराउँछ । पवित्र देहका लागि कडा कर्कस झोलभन्दा नरम झोल अनमोल मानिन्छ तर मोल, मूल्य कडाको भन्दा नरमको कम । मानव समाजमा पनि जो होचो उसका मुखमा घोचो व्याप्त र व्यापक छ । दाँत छउन्जेल बडेबडे चोक्टा लुछेर उदररुपी झोलामा हाल्यो अनि दाँत र आँतले बिदा मागेपछि झोलै झोल पिउँदै जिन्दगीलाई ज्यादै माया गरिन्छ । उमेरको ओरालीसँगै कोरलीसँग खेल्ने इत्रिने मित्रिने दिनले पनि बाइबाइ भनिसकेको हुन्छ । दबाइका झोल र चोक्टा झोलामा टन्न बोकेर खोलेको खेलो र झोल पिउँदै जिन्दगी जिउँदा आफूलाई जिउँदै भएको भान पनि भइरहन्छ । अत्यन्त सुगम जिन्दगी खातिर नेताको पछि लाग्ने परिपाटी इमन्दार चाकरीबाज कार्यकर्तालाई झोले भन्ने चलन पुरानै हो । पर्चा पम्प्लेट गोप्य कागजपत्रहरू झोलेकै झोलामा सुरक्षित हुन्छ ।
झोलै झोल झोलामा बोकेर झोल पिउँदै विपक्षीलाई कुटुकुटु टोकेर, टेकेर, ठोकेर, खोकेर, नचाहिँदो बकेर सोझा सिदा जनतामा भ्रम छरेर भाँडभैलो मच्चाउन पनि झोल कारक मानिन्छ । वास्तवमा झोले जिन्दगी परनिर्भरताका लागि ज्यादै सहज, सरल र उत्तम मानिन्छ तर के गर्नु झोल र झोलाले नछोड्दै खोलामा पुगिन्छ होला भन्ने पिरलोले पलपल पोली रहन्छ ।
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x