साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रिसमस पर्वका पाँच फित्कौली

[सामाजिक सद्भावको साझा संस्कृति निर्माण हेतु]

Nepal Telecom ad

संयाेजन- नन्दलाल आचार्य :

१. शून्यताको उपहार
– नन्दलाल आचार्य

“के तिम्रो ईश्वर मेरो भन्दा अग्लो छ ?” झिसमिसेमै मन्दिरको पेटीमा सुतिरहेको जोगीले क्रिसमस ट्रि सजाउँदै गरेको तन्नेरीलाई अचानक सोध्यो ।
तन्नेरी टक्क अडियो । रङ्गीचङ्गी बत्तीहरू उसको हातमा अल्झिएका थिए । उसले मुस्काउँदै भन्यो, “बाजे, उचाइ त नजरको भ्रम हो । म त केवल प्रकाशको उत्सव मनाउँदै छु ।”

“प्रकाश त सूर्यको पनि हुन्छ, जुन सबैको आँगनमा बराबरी झर्छ,” जोगीले आफ्नो धुनीको खरानी चलाउँदै दार्शनिक लवजमा थप्यो, “तर मान्छेले भने त्यही प्रकाशलाई पर्खाल लगाएर बाँड्न खोज्छ । तिम्रो यो ‘क्रिसमस’ मा मेरो ‘ॐ’ अटाउँछ कि नाई ?”

तन्नेरी नजिकै गयो र एउटा सानो तारा जोगीको चिम्टामा झुण्ड्याइदियो- “बाजे, सद्भाव त त्यो शून्यता हो जहाँ शब्दहरू सकिन्छन् र प्रेम सुरु हुन्छ । धर्म त बाटो मात्र हो, गन्तव्य त मानवता नै त हो नि !”

भिड बढ्दै गयो । कोही चर्चतिर लाग्दै थिए, कोही मन्दिरतिर । जोगीले त्यो चम्किलो तारालाई सुमसुम्याउँदै रहस्यमय ढङ्गले भन्यो, “अनौठो छ है ! मान्छे स्वर्ग जाने होडमा पृथ्वीमा छिमेकीलाई चिन्नै बिर्सन्छ ।”

तन्नेरीले सोध्यो, “त्यसोभए यो पर्वको अर्थ के त ?”
जोगीले आकाशतिर हेर्दै भन्यो, “जब तिमी अर्काको खुसीमा आफ्नै ईश्वर मुस्कुराएको देख्छौ, सम्झनु- तिम्रो हृदयमा आजै क्रिसमस जन्मियो !”

सिद्धार्थटोल, उदयपुर
~~~०००~~~

२. अद्वैत उज्यालो
लक्ष्मी रिजाल

“गुरुबा, के बुद्ध र येशु एउटै आकाशका दुई सूर्य हुन् ?” गुम्बाको आँगन बढारिरहेको कर्माले झुल्के घामको लालीतर्फ हेर्दै अचानक प्रश्न गर्‍यो ।

वृद्ध भिक्षु आनन्दले टाढाको चर्चबाट तैरिएर आएको क्रिसमसको घण्टीको ध्वनिमा एकाकार हुँदै भन्नुभयो, “होइन कर्मा, उनीहरू त एउटै महाशून्यबाट प्रस्फुटित दुई फरक रश्मि हुन् । एउटाले निर्वाणको शून्यता सिकाउँछ, अर्कोले प्रेमको पूर्णता ।”

“तर बाटो त विपरीत देखिन्छ नि ?” कर्माले कुचो बिसाएर दार्शनिक तर्क खोज्यो ।

भिक्षुले भुइँको सुक्खा पात उठाउँदै भन्नुभयो, “हेर, यो पात माटोमा मिल्नु र हिउँ पग्लिएर सागर बन्नुमा के भिन्नता छ ? दुवैको अस्तित्व विसर्जनमै नयाँ सृजना लुकेको हुन्छ । ‘मेरो र तिम्रो’ त केवल अज्ञानताले खडा गरेको काल्पनिक सीमा रेखा मात्र हो ।”

गुम्बाको मन्त्र र चर्चको ‘क्यारोल’ एकापसमा मिसावट भइरहँदा कर्माले उत्सुक हुँदै सोध्यो, “त्यसोभए आज म गुम्बाको यो दीप लिएर चर्च जाऊँ त ?”

भिक्षुले उसको काँधमा हात राख्दै अन्त्य-प्रहार गर्नुभयो, “अवश्य जाऊ, तर सम्झिराख- जबसम्म तिम्रो करुणाको क्रिसमसले बुद्धत्वको बोध पाउँदैन, तबसम्म तिमीले बाल्ने दियोले आफ्नै अहङ्कार मात्र जलाउँछ; किनकि सत्यको कुनै कित्ता हुँदैन र ईश्वरको कुनै नागरिकता हुँदैन ।”

– कञ्चरूप-१२, रूपनगर, सप्तरी ।
~~~०००~~~

३. सद्भावको रङ
– गरिमा आचार्य

“यो ‘एस्थेटिक’ सजावट र मँहगो ट्रीले मात्र हाम्रो क्रिसमस ‘पर्फेक्ट’ होला त सारा ?” प्रियाले आफ्नो इन्स्टाग्राम स्टोरी ड्राफ्ट गर्दै सोधी ।
क्रिसमसको पूर्वसन्ध्यामा अपार्टमेन्ट झिलिमिली थियो । साराले कफीको चुस्की लिँदै भनी, “सामान त सबै ब्रान्डेड नै छन् प्रिया ! उत्सव आखिर देखिने त हो नि, होइन र ?”

प्रियाले झ्यालको पर्दा अलिकति हटाई । बाहिर सडकमा एउटा सानो बालकले आफ्नो क्रिस्चियन साथीलाई अँगालो हालेर ‘ह्याप्पी क्रिसमस’ भन्दै आफ्नो रोटी आधा भाँचेर दिँदै थियो । प्रियाले सुस्तरी भनी, “हेर सारा, उत्सव बजारको चमकमा होइन, मनको खुलापनमा हुन्छ । तिमी र म फरक आस्थाका भएर पनि एउटै छानोमुनि खुसी साट्न सक्नु नै हाम्रो ठूलो उपलब्धि हो ।”

उपहार साटासाट गर्ने बेला साराले एउटा रित्तो खाम दिइन् । प्रिया अलमल्ल परी । साराले मुस्कुराउँदै भनी, “यसमा कुनै वस्तु छैन प्रिया, यसमा तिम्रो विश्वासप्रति मेरो सम्मान र तिम्रो संस्कृतिको लागि मेरो हृदयको एउटा कुना छ ।”

प्रियाका आँखा रसाए । साराको कुराले उसको मन पुलकित भयो ।

प्रियाले बाहिरको हिउँ र भित्रको आत्मीयतालाई नियाल्दै भनी, “चाड त क्यालेन्डरको एउटा मिति मात्र हो सारा, तर जब एउटा मान्छेले अर्को मान्छेको अस्तित्वलाई उत्सव मान्न थाल्छ, तब मात्र संसारमा असली रङ भरिन्छ !”

– ख्वप कलेज अफ इन्जिनियरिङ, भक्तपुर ।
~~~०००~~~

४. उपहार
गजल आचार्य

“आमा, हाम्रो घरमा सधैँ किन क्रिसमस ट्री हुँदैन ?” दश वर्षीया समीराले छिमेकीको झ्यालमा चम्किरहेको रङ्गीचङ्गी बत्तीलाई हेर्दै सोधी ।

आमाले भान्छाबाटै भनिन्, “नानी, हामी अर्कै धर्म मान्छौँ नि त, त्यही भएर ।”

“अनि खुसीको पनि धर्म हुन्छ र आमा ?”

समीरको प्रतिप्रश्नले आमालाई एकछिन निरुत्तर बनायो । उनले सम्झाइन्, “क्रिसमस त सद्भाव बाँड्ने पर्व हो नानी, जसरी हामी दशैँ मनाउँछौँ ।”

तत्कालै समीराले एउटा कार्ड बनाई । त्यसमा लेखी- ‘मेरी क्रिसमस ! उपहारमा माया र छिमेकीको साथ ।’ उसले आफ्नो सानो खुत्रुके फुटाएर जम्मा गरेको पैसाले किनेको चकलेट र कार्ड बोकेर छिमेकी एन्जिलको ढोका ढकढक्याई ।

एन्जिलले अचम्म मान्दै ढोका खोली । समीराले उपहार दिँदै भनी, “यो मेरो तर्फबाट तिम्रो खुसीमा सानो हिस्सा !”

एन्जिलका आमाबुबाले भावुक हुँदै भने, “समीरा, तिमीले त आज हाम्रो उत्सवलाई साँच्चैको ‘क्रिसमस’ बनायौ ।”
घर फर्किएपछि समीराले ढुक्कसँग आमालाई भनी, “आमा, खुसी मनाउन घरमा रूख होइन, मनमा फराकिलो सोच हुनुपर्दो रहेछ ।”

आमाले छोरीको उन्नत चेतमा गौरव गर्दै भनिन्, “ठिक भन्यौ नानी, साँचो धर्म त मान्छेले मान्छेलाई चिन्नु नै हो !”

– श्री बुढानिलकण्ठ माध्यमिक विद्यालय गोलबजार, सिरहा ।
~~~०००~~~

५. खुशीको रङ
– पीयूष आचार्य

“आमा, त्यो रूखमा किन बत्ती बालेको ?” आठ वर्षको समीरले सोध्यो । उसकी आमाले क्रिसमस ट्रीमा एउटा तारा राखिन् ।

“बाबु, यो क्रिसमस हो,” आमाले भनिन् । “येशु ख्रीष्टको जन्मदिन मनाउने दिन । यस दिन मानिसहरू खुसी हुन्छन्, उपहार दिन्छन् र मीठो-मीठो खाना खान्छन् ।”
समीर अचम्मित भयो- “अनि सान्ता क्लज पनि आउँछन् ?”

“हो, राम्रो बच्चा भए सान्ता क्लजले उपहार दिन्छन्,” आमाले भनिन् । “तर क्रिसमसको मुख्य कुरा चाहिँ सबैलाई माया गर्नु र खुसी बाँड्नु हो ।”

त्यही बेला उनीहरूको छिमेकी अङ्कल जोन आए । अङ्कल जोन क्रिस्चियन हुनुहुन्थ्यो । उहाँले समीरलाई चकलेट दिनुभयो ।

“मेरी क्रिसमस, समीर !” अङ्कल जोनले भन्नुभयो ।
समीरले खुसी हुँदै चकलेट लियो । “मेरी क्रिसमस, अङ्कल !” उसले भन्यो ।

आमाले समीरलाई हेर्दै भनिन्, “हेर बाबु, क्रिसमसले सबैलाई जोड्छ । यो त खुसी र मायाको चाड हो ।” समीरले टाउको हल्लायो । उसले बुझ्यो, क्रिसमस भनेको केवल उपहार र सान्ता क्लज मात्र होइन, यो त मनैदेखि खुसी हुने र अरूलाई पनि खुसी दिने पर्व रहेछ ।

श्री जनता माध्यमिक विद्यालय, गोलबजार, सिरहा ।
~~~०००~~~

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x