अमर अधिकारीफन्टुस ज्ञान विक्री केन्द्र प्रा.लि.
भगवान बन्न खोज्नेहरु पनि नभएका होइनन् यहाँ जगल्टा र दाह्री पालेर आश्रममा बसेको भरमा। उसलाई भगवान मान्नेहरु केवल मानसिक रोगी भएको भन्न सकिन्छ।

अमर अधिकारी :
‘फन्टुस’ शब्दको नेपाली अर्थ हो- ‘मुर्ख’, अंग्रेजी अर्थ हुन्छ ‘सिल्ली’ वा ‘फुलिस।’ यहीँ फन्टुस काम भैरहेको छ दुनियाँलाई बेबकुफ बनाएर तन-मन-धन आफूतिर तान्ने धन्दा। नेपालमा विभिन्न किसिमका फटाहाहरुले सर्वसाधारणहरुलाई बेबकुफ बनाउँदै धन आर्जन गरिरहेको पाइनु स्वभाविकै हो। तर यहाँ त धर्म वा अध्यात्मको नाममा लुट चलिरहेको छ। एउटा आध्यात्मिक संस्थाले विहे गर्नुहुँदैन विहे गरेकाले सँगै सुत्नुहुँदैन भन्नेगर्छ भने अर्को आध्यात्मिक संस्थाले सम्भोगलाई बढी जोड दिएको छ। यसतर्फ सरकारको ध्यान गएको पाइँदैन। पाखण्डी वा ढोँगीहरु र उनको दलालहरुबाट रचिएका झुठा, मनगढन्ते अर्थात् कपोलकल्पित कुराहरु समावेश भएका पुस्तक अनि पत्रपत्रिकाहरु मजाले किन्नेगरेका छन् उनका अन्धभक्तहरुले। पछिल्लो समय ठगिखाने धन्दा बनेको छ धर्म वा अध्यात्म।
महिलालाई पुरुष बनाउने र पुरुषलाई महिला बनाउने जनर-मन्तर विक्री भैरहँदा के हेरेर बसेको छ सरकार ? विशेषगरि गृह प्रशासन। “हाम्रा बाबा वा गुरु सर्वश्रेष्ठ भगवान हुनुहुन्छ, उहाँको चरणमा तेत्तिसकोटी देवताहरुको बास हुन्छ” भन्दै जबर्जस्ती विचार लाद्ने र बसिकरण गर्ने काम भैरहेको छ भारतमा झैँ नेपालमा। जबर्जस्ती विचार लाद्ने कामलाई ‘ब्रेनवास’ भनिन्छ भने बसिकरणलाई ‘हिप्नोसिस’ भनिन्छ। यी दुबै माध्यमबाट सर्वसाधारणलाई फसाएर उनीहरुको तन-मन-धन लुट्ने लुटेराहरुबाट सबै चनाखो हुनुपर्ने अवस्था छ। यो धन्दा समाजका लागि निकै घातक मानिन्छ।
यस्ता धन्दाहरुका कारण घरपरिवारमा अशान्ति मच्चिन्छ। श्रीमती यस्ता अखडामा फसेमा श्रीमानलाई तनाव हुन्छ भने श्रीमान् फसेमा श्रीमतीलाई। दुबैजना यस्ता अखडामा फस्दा घरवारै तहसनहन भएको पनि देखिएको छ। बाबा वा गुरुले छुँदाबित्तिकै कुनै पनि रोग निको हुन्छ भने किन पढ्नुपर्योभ डाक्टरी ? किन स्थापना हुनुपर्यो अस्पताल? अनि किन उत्पादन गर्नुपर्यो औषधि उद्योगहरु? ढ्यांग्रो ठटाउने झाँक्रीले आफ्नो नामको अगाडि डा. लेखेर झारफुक गरेर धन कमाउन पल्केकाहरु अहिले काठमाडौँमा मात्र होइन पोखरा र बुटवलमा समेत सक्रिय छन्। पहिले न्यून शुल्क लिने र भित्रभित्रै हजारौँ लुट्ने यस्तो धन्दावालाहरुबाट बेलैमा सचेत भइएन भने धेरै चिज गुमाइन्छ। धन लुट्छन्, महिलाहरुको तन लुट्छन्, मन लुट्ने त एकातिर छँदैछ। लुटिहोम तथा कथित महायज्ञमा प्रवचन दिनेहरुमा कतिपय विवादित वाचक तथा गुरु पनि नदेखिएका होइनन्। तर के गर्नु गेरुबस्त्र धारण गरेपछि जस्तो चोर-फटाहा भए पनि उसलाई निहुरिएर दण्डवत गर्ने अन्धभक्तहरुको भीड लाग्नेगर्छ यहाँ।
यदाकदा मुर्ख बन्नेहरुले ठगिएपछि उजुरबाजुर गरेको पनि देखिन्छ। तर कतिपय उजुरबाजुर गर्दा आफै दुःख पाइन्छ भन्नेमा शंका गर्छन् र पीडा सहेर बसेका हुन्छन् अन्धभक्तहरु र उनको पारिवारिक सदस्यहरु। नारीलाई पुरुष बनाउने र पुरुषलाई नारी बनाउने मन्त्र त यो लेखकसँग सुरक्षित छ। त्यस्ता नचाहिँदा मन्त्र रच्नेलाई राक्षस भन्ने कि भगवान। अन्धभक्तहरुका लागि त भगवान हुने नै भए। किन कि उनीहरुको आँखामा बाक्लो कालो पट्टी लगाइएकै हुन्छ ब्रेनवास वा हिप्नोसिस मार्फत्।
सोझा सिधाहरुलाई बेबकुफ बनाउने धन्दामध्ये एक हो विभिन्न फन्टुस ज्ञान दिलाएर थैलो भर्ने कथित जोगी र तीनका युटुबे, टिकटके। खाना पस्किँदा यस्तो गरेमा यो हुन्छ, खाना यति समयसम्म चपाउनुपर्छ, खाएपछि यसो गर्नुपर्छ, खाना यसरी खानुहुँदैन। पानी पिउँदा यसरी पिउने, रोटी यतिवटा बनाउनुहुँदैन, तरकारी काट्दा यसरी काट्नुपर्छ नत्र अलक्षिन हुन्छ। यस्ता नचाहिँदा कुराहरु युट्युब र टिकटकमा राखेर भाइरल बनेर डलर कमाउनेहरुको धन्दा सिक्छौँ हामी नेपालीहरु। यस्ता नचाहिँदा कुराहरु सिकेर बेबकुफ बनेको पत्तो हुँदैन हामीहरुलाई।
पछिल्लो समय आलु काटेपछि पानीमा डुबाउनुपर्छ भन्ने गलत सन्देशहरु विक्री गरिरहेका छन् त्यस्ता टिकटके र युट्युवेहरुले। यस्ता नचाहिँदा र उरण्ठेउला ज्ञान विक्री गर्ने संस्थालाई भनिन्छ ‘फन्टुस ज्ञान विक्री केन्द्र प्रा.लि.’। अखडा खोलेर होस् वा युट्युबबाट वा टिकटकबाट प्रवाह गरेर होस् ज्ञान प्रदान गर्नेहरुको होड नै चलेको छ। हुँदै नभएको र अप्रमाणित कुराहरु अरुलाई बाँड्ने गरेको पाइन्छ। यो गरेपछि यो हुन्छ, फलिफाप नै फलिफाम हुन्छ। सुख-शान्ति हुन्छ, स्वस्थ भइन्छ, निरोगी भइन्छ, दीर्घजीवि भइन्छ भनेर ज्ञान बाँड्नेहरु कोही ५८ वर्षमै परमधाम भैसकेका छन् भने कोही ६३ वर्षमा जीवनको इहलिला समाप्त भैसकेको छ। हजारौँ वर्ष बाँच्न पाइने एक अलौकिक ठाउँमा लैजान्छौँ भन्दै विभिन्न बहानामा जन्तर-मन्तर बेच्ने कथित जोगीको व्यापार मनग्यै बढेको छ नेपालमा।
एआईले गर्दा ठग्न झन सजिलो भएको छ, एआईको सहयताले जोगीको हातको इशाराले आगो उत्पत्ति भएको देखाइन्छ त कहिले हाँडी फनफनी नाचेको देखिन्छ। टिकटकमा यो देखेर अन्धभक्तहरु “हरहर महादेव!”, “जय बजरंगबली!” पनि भन्नथाल्छन्। कसले बेबकुफ बनाएको छ भन्ने कुराको पत्तो हुँदैन। करोडपति-अर्बपति जोगीहरुले अन्धभक्तहरुबाट तन-मन-धन जति लुटे पनि उनीहरुका विरुद्धमा उजुरी दिनु बेकार छ, किन कि त्यो लुटिएको धन माथिमाथिकाले समेत पाउने हुँदा ढोँगी वा पाखण्डीहरुलाई कारवाही हुँदैन। सबैभन्दा सजिलो ठग्न पाइने माध्यम नै धर्मको नाममा हो। एकातिर ज्ञान बाँडे झैँ गर्ने र अर्कोतिर थैलो भरेर सीमापारी जाने यस्ता जोगीहरुबाट पुरुषभन्दा पनि महिलाहरु धेरै ठगिने गरेको पाइन्छ। ठगिएर पनि आफू ठगिएको महसुस नगर्नेहरु सरासर अन्धभक्त हुन् भन्नुमा अत्युक्ति नहोला।
पोखरामा केही दिनअघि एक मान्छेलाई रोग निको पार्ने मान्छे भनिएपछि त्यहाँ उपचार गर्न चाहनेहरुको भीड बढेको, दस्तुर बुझाएको, पालो कुरेको पनि देखियो। बाहिर एउटा दस्तुर र भित्री भारी दस्तुरले ठहरै परे कतिपय अन्धभक्तहरु। रोग निको भो वा भएन थाहा भएन। महिलाको फिलामा, छातीमा, गालामा हत्केलाले हिर्काएर रोग निको पारेको भनेर प्रचार गरेको पनि देखियो। महिलाको संवेदनशील अंगमा दबाएर रोग निको पार्ने काम पनि गरेको देखियो ती कथित उपचारकले। त्यस्ता पाखण्डीहरुलाई अन्धभक्तहरुले भगवानको संज्ञा दिइनु साह्रै लाजमर्दो कुरा हो। बुटवलमा पनि एक माताले निकै चर्को मूल्य तोकेर झारफुक गरेको पाइएपछि उजुरी परेको थियो। माता-झाँक्रीले रोग निको पार्ने भए अस्पताल किन धाउनुपर्योे ? भगवान बन्न खोज्नेहरु पनि नभएका होइनन् यहाँ जगल्टा र दाह्री पालेर आश्रममा बसेको भरमा। उसलाई भगवान मान्नेहरु केवल मानसिक रोगी भएको भन्न सकिन्छ। आश्रमवालाले आफ्नो पुस्तक वा पत्रिकामा जतिसुकै झुठा कुराहरु लेखिएको भए तापनि अन्धभक्तहरुले उल्लिखित ती सबै कुराहरु सत्य ठान्छन् र भन्छन् जय गोरुदेव !
हरि ॐ तत्सत् !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest








































