साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्चा चुनावकाे

जनतामा यिनको सुवास यति फैलिएको थियो कि यी दलका टोलस्तरका सामान्य कार्यकर्ता नजिक परेभने पनि ओखरपौवा वा बञ्चरे डाँडाकै जस्तो मगमग हुन्थ्यो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

देशमा चुनावी माहोल शुरु हुने हल्ला चल्यो । देशका हात्तिदलहरू दशकौंदेखि जनता र देशलाई दलपेल गर्दै रमाइरहेका हुँदा फेरि एकपटक भात मासु खान दिएर पाँच वर्षसम्म आँसुको आहालमा जनतालाई डुबाएर मोज गर्न पाइने भयो भनेर मख्ख परे । आफ्ना आफ्ना बिधान अनुरुपका कर्मकाण्ड टपर्टुइयाँ पुरोहितको शैलीमा सिध्याएर लागे चुनावको माहोलतिर । पैसो बाँडेर होस् कि रक्सी पियाएर, डर धम्की लम्की झम्की बम्की गरेर होस कि मतदान केन्द्र कब्जा गरेर अनेक छलकपट गर्नमा माहिर हात्ती दलहरूको चुनावी हुलिया भने यसपालि निकै रोमाञ्चक देखियो ।

एउटा दलको झण्डामा उध्रेको पेटिकोटको चित्र बनाइएको थियो भने त्यो दलको चुनाव चिन्ह डढेको नोट थियो । यो दलको केन्द्रीय नेता छागमान नौजाले । त्यस्तै अर्को हात्ती दलको झण्डामा भ्रष्ट लेनदेन गरिरहेका व्यक्तिको चित्र थियो भने चुनाव चिन्ह थियो- बन्दूकको गोली । यो दलका केन्द्रिय नेता थिए- दुच्छरराज अहङ्कारी । त्यस्तै अझ अर्को हात्तिदलको झण्डामा निरीह नागरिकलाई भाटे कारबाही गरिरहेको चित्र अङ्कित थियो भने चुनाव श्याल ब्वाँसो आदिको झुण्ड थियो । यो दलका केन्द्रिय नेता महा उद्दण्ड लम्पसारे थिए । यस्तै क्रममा अर्को एउटा दलको झण्डामा सात समुद्र पारिका विदेशीहरूको चिन्ह सजाइएको थियो भने यसको चुनाव चिन्ह गन्तव्य हिनता थियो । यी बाहेक अन्य दलहरूमा राष्ट्रिय बितण्डा दल, विदेश भक्त सङ्घ , घुसतन्त्र मञ्च, लुटकर्म दल, खन्चुवा समाज, देश सिध्याउ अभियान, अधर्मराज्य दल आदि निकै थिए ।

सबैजसो मै हुँ भन्ने दलहरू घुस, कमिशन, आफन्तवाद, पराइभक्ती, नागरिक बेचबिखन, हत्या चोरी डकैती ठग लुटेरा आदि कर्म तथा यस्तै कर्मका ठेकेदारहरूले सुसज्जित थिए । जनतामा यिनको सुवास यति फैलिएको थियो कि यी दलका टोलस्तरका सामान्य कार्यकर्ता नजिक परेभने पनि ओखरपौवा वा बञ्चरे डाँडाकै जस्तो मगमग हुन्थ्यो । देश विदेश सबैतिर पराइको इशारामा नाच्दै आफ्नै भनिएका जनता र देशको ढाड हाड भाँच्दै गर्नमा यिनीहरू सुप्रसिद्ध थिए । यिनका यस्ता पौरख र पुरुषार्थ यति धेरै थियो कि त्यसको महाभारत लेख्न भनेर अहिले पाराशर द्वैपायन आएका भए बाँकि अठार पुराण अठार उपपुराण शुरु गर्नै नभ्याई तिनको पूरै आयु सकिन्थ्यो ।

जनताद्वारा आगो लगाई भूत प्रेत लखेटेको शैलीमा लखेटेर भाग्न बाध्य पारिएका यी हात्तिदलहरू यिनका प्रभुहरूका निर्लज्ज इशारामा अझै जनताको थाप्लोमा बन्चरो बर्षाउन सकिन्छ कि भनेर सम्साँझै फिरी लाउने जम्बूमन्त्रीको जस्तो हुइयाँ मच्चाउने कार्यमा तल्लिन थिए ।

अन्य मृग दल, खरायो दल, चितुवा दल, हुँडार दल, जरायो दल, हरायो दल, करायो दल, डरायो दल, चरायो दल लगायतका दलहरूका आआफ्नै कथा ब्यथाका चाङ थिए। उता मतदाताहरू मत लिएर मात लिएको हर्कत देखाउनेजती सबैलाई चुनावको बहानामा गतिलैसँग चुना लगाइ हात्ती दलबाट ती दल थिए अरे भन्ने बनाइदिने भनेर कस्सिँदै थिए। अलिकती सचेत नागरिकहरू भने यो देशमा केही हुन बन्न खोज्यो कि कता कताबाट तिलस्मी भाँजो हालिने र देश तथा जनताको भाग्य भविष्यमा धाँजो पारिने प्रवृत्ति दोहोरिने गरेको इतिहास सम्झिरहेका थिए ।

०००
२०८२ माघ ७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x