दिप मंग्रातीअकर्मण्यता
"बाघको कुनै डमरुले पनि उहिले मैले जस्तै सुरुवात गरेको थियो होला आमा, तेसैले आज सबै बाघहरु आत्मनिर्भर छन्।

दिप मंग्राती :
“आमा….! के हामी सधै बाघ…, चितुवाहरुले , छोडे, उब्रेको सिनो मात्रै खाएर बस्ने…?” हुँडार (हाइना) को बच्चाले सिनो लुछ्दै गरेको आफ्नो आमासँग सोध्यो।
“हाम्रो नियति यहि हो बाबु, मौकामा खाइहाल्नु पर्छ।, मौका भनेको सधै आउदैन।” आफ्नो बच्चालाई सम्झाउदै भनी मादा हुँडारले भनी।
“अनि अरुले छोडेको खानमा पनि के को लडाइँ त…? मिलेर खादा हुदैन…? ” झगडा गर्दै लुछिरहेका अन्य हुँडारहरुतिर इसारा गर्दै भन्यो।
“सबैलाई आफ्नो भुँडी प्यारो हुन्छ बाबु, पहिले आफ्नो पेट भर्नु पर्छ, पहिले आफ्नो भोक मेटाउनु पर्छ, यहि हो जङ्गलको नियम।”
“अनि हामी चाहिँ सधै, बाघ, चितुवाहरुले खाएर छोडेको सिनो मात्रै खाने त, आफै सिकार गरेर खाँदा हुन्न। कहिले कतिखेर बाघले छोडेर जान्छ अनि खाने ? त्यो पनि लुछाचुँडी..?”
“हाम्रो पञ्जामा दम छैन नि बाबु, तेसको लागि, बाघहरुको जस्तो ज्यान हुनुपर्छ, धारिलो नङ्ग्रा हुनुपर्छ । सिकार गर्ने, बुद्धि र रणनीति हुनुपर्छ । हामी नियतिको दास छौँ बाबु ।”
“अरुले छोडेको खानु र लुछाचुँडी गर्नु नै हाम्रो भाग्य हो।
उ त्याहाँ हेरिस स्याल्हरु….! हामीले छोडेपछि तिनीहरु आउछन्, लुछाचुँडी गर्न, अनि स्याल्हरुले छोडेर गएपछि, टिपन टापन गर्न कागहरू आउछन्। उनीहरुको बाध्यता हेरेर चित्त बुझाउनु पर्छ।”
फुच्चे हुँडार अलि पर गएर ढुङ्गामा आफ्नु नङ्रा घोट्न थाल्यो।
“बाबु के गरेको…? आएर खाइहाल, अरुले सक्लान् फेरि..!”
“तँ एउटाले नंग्रा तिखारेर के हुन्छ र ? सबै अरुले छोडेकै शिकारमा बाँच्न बानि परेका छ्न्।”
“बाघको कुनै डमरुले पनि उहिले मैले जस्तै सुरुवात गरेको थियो होला आमा, तेसैले आज सबै बाघहरु आत्मनिर्भर छन्। कुनै एउटाले शुरुवात नगरेको भए, बाघहरु पनि हामी जस्तै परनिर्भर नै रहन्थे होला, हामी जस्तै ।”
शुरुआत त कसैले गर्नै पर्छ, पहाड चढ्नको लागि पनि पहिलो कदम त भुइँबाट नै सुरु गर्नु पर्छ नि आमा ।”
“हामी नियतिको दास होइन, अकर्मण्यताको दास भएका रहेछौँ ।
“मैले बुझिसकेँ आमा।”
०००
बेलबारी, माेरङ
Subscribe
Login
0 Comments
Oldest





































