साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समीक्षा बैठक

“आगामी कार्यक्रम साविक बमोजिम गर्ने है भनेर सभापतिबाट हुकुम प्रमाङ्गी भएको छ । तपाईंहरु सबैलाई याद होस् है महोदयहरु ।”

Nepal Telecom ad

राम विनय :

बैठकको सूचना आयो । उसले पनि समयमा नै बैठकमा पुग्ने साेच बनायो । बैठकको समय भन्दा ठीक १० मिनेट अगाडि ऊ त्यहाँ पुग्यो अर्थात बैठक स्थलमा ।

ऊ त्यहाँ पुग्दा एकजना रखबारे बाहेक अरु कोही पनि आएका थिएनन् । रखबारे पनि भरखरै आएको रहेछ । उसले बैठक कोठाको मूलढोका खोलेर झ्यालहरु उघारिरहेकाे थियाे । रखबारेले उसलाई देख्नासाथ मुख खोलिहाल्याे—“तपाई निकै छिटो आउनुभयो नि त कविजी ?”

कविजीले भित्ताको घडी हेरेर भन्यो — “बैठक कोठाको त्यो भित्तेघडी ढिलो छ ।” उसले आफ्नो घडी हेरेर भन्यो— “मेरो घडीको समय रेडियो नेपालको समयसँग ठ्याक्कै मिल्छ । त्यो भित्ताको घडी ढिलो छ, त्यसलाई मिलाउनु होस्र, रखबारेजी । समयको महत्व ठूलो छ ।”

रखबारे केही बोलेन र उसले भनेका कुरालाई  केही वास्ता पनि गरेन । तर रखबारेले मनमनै भन्दै थियो— “खै, मलाई कसैले केही भनेकै छैन— घडीको समय मिलेको छैन भनेर । मैले त्यसलाई मिलाएँ भने मलाई ठालु्‌हरुले तँ किन बाठो भइस् हँ ? भन्ने छन् । त्यहि भएर मैले वास्ता गरेको छैन, चाहे त्यो घडीको सुई ढिलो चलोस् या छिटो चलोस् । ढिलो होस् कि छिटो होस् ।

महिना सकिएपछि भित्ते क्यालेण्डर पल्टाएर मिलाउने काम मैले गरेको छैन । मलाई कसैले जस दिँदैनन् । बेकारमा मैले किन टाउको दुखाउने ? म त आजको कामलाई सधैं भोलि भन्ने मान्छे । मलाई केही कसैको के मतलब ?
रखबारेले कविजीको अनुहार पुलुक्क हेर्यो र ङिच्च हाँस्यो ।

केहीबेरपछि मानिसहरु बैठक कोठामा बिस्तारै ओइरिन थाले । संयोजक आए । मेनेजर आए । सभापति आए र त्यसपछि अरुहरु पनि बिस्तारै आए । सबैले सबैलाई नमस्कार ठोके ।

एकछिन पछि मेनेजरले दराजबाट बैठकको निर्णय पुस्तिका निकाले । बैठकको समय तोकिएको भन्दा ४५ मिनेट ढिलो भैसकेको थियो । मेनेजरले भने— “लौ अहिलेको समयानुसार तपाईंहरु सबैलाई म नमस्कार ठोक्छु है। स्वीकार गर्नु होला । अव हामीले बैठक थालौँ है, सभापतिज्यू ?”
“ल अब सबभन्दा पहिले हामी सबैले शान्तिको लागि एकमिनेट चुपचाप उभियौँ ।” सबैले उठेर एक मिनेट चुपचाप उभिए अर्थात चुपचाप उभिएर औपचारिकता पूरा गरे ।

मेनेजरले भने— “बैठक गर्दा हामीले पालन गर्नुपर्ने केही नियम (आचारसंहिता)हरुको बारेमा मैले एउटा प्रस्ताव तयार पारेर ल्याएको छु । त्यस बमोजिम बैठक गर्दा हामी सबैलाई काइदाको फाइदा हुन्छ भन्ने मलाई लागेको छ । त्यसलाई यो बैठकबाट पारित गर्न पेश गरौँ है सभापतिज्यू ?”

तत्कालै सभापति करायो— “ल, ल, छिटो छिटो गर । मलाई अन्त जानुछ । बैठक छिटो सक्नुपर्छ ।”
मेनेजरले भन्यो — “सभापतिजी, नआत्तिनुस न भन्या । आजको बैठक निकै महत्वपूर्ण विषयको छ । बैठकमा आचारसंहिताको प्रस्ताब पारित गर्नुपर्छ । मेरो प्रस्ताब सुन्नुहोश है त । यसप्रकार छ मेरा प्रस्तावहरु—
१) बैठकमा उपस्थित हुनुपर्ने सबै पदाधिकारी, सल्लाहकार, आमन्त्रित व्यक्तिहरु ठीक समयमा नै आउने र नमस्कार ठोक्ने तथा आआफनो रोजिएको ठाउँमा गएर चुपचाप बस्ने ।

२)बैठकमा शान्ति होस् कि नहोस् शान्तिको लागि भनेर एक मिनेट चुपचाप उभिने ।

३) सभापतिले सभापतित्व गर्ने र आफ्नो शक्तिको कुर्चिमा बसेर यस प्रस्तावको बारेमा शक्ति प्रयोग गरेर हुकुमी शासनको कुरा छम्कने अर्थात जारी गर्ने ।
—अघिल्लो कार्यक्रमलाई सम्झेर समिक्षा गर्ने ।उध्रिएका कुराहरुलाई सिलाएर मिलाउने अर्थात सिक्ने ।
—आगामी कार्यक्रमलाई कसरी चलाउने भनेर कार्यक्रमको खाका कोर्ने अर्थात आगामी कार्यसुचि ठीक सँग मिलाउने ।

४)बैठकमा सभापतिले बैठकको मियो बन्ने । सबैलाई आलोपालो गरेर बैठकको मियोको वरपर घुमेर दाईं गर्न लगाउने अर्थात बोल्न लगाउने । बैठकको बेलामा आपसमा खासखुस नगर्ने । माछाबजारमा जस्तो होहल्ला पनि नगर्ने ।

५)गत कार्यक्रमको बारेमा समीक्षा गर्दा कहाँ कहाँ प्वाल परेको छ पत्ता लगाउने र त्यो प्वाललाई कसरी सिलाएर ताल्ने भनेर सबैले पालैपाले आआफ्नो कामकुरा र तरिकाहरु सुनाउने ।

६)सभापति र मेनेजरले पनि आआफ्नो कुरा राखेर कहाँकहाँ प्वाल परेको रहेछ त्यो एकिन गरेर अब त्यसलाई कसरी टाल्ने हो अथवा सिलाएर मिलाउने हो कि च्याटेर फाल्ने हो भनेर उदाहरणसहित समीक्षा बैठकको निचोड (निश्कर्ष ) निकाल्ने ।

७)आगामी कार्यक्रमको कार्यसुची सबैलाई सुनाएर सो को बारेमा बैठकमा गडगडाहत ताली बजाएर पारित गराउने ।
त्यो प्रस्तावमा सभापतिले प्याच्च मुखखोले— “यो त हामीहरुले सधैं गरिराखेकै कामधन्धा हो । यसलाई लेखेर राख्नु राम्रो हो । मेनेजरजी लाई धन्यवाद छ । ल यो प्रस्तावलाई तालि ठोकेर पारित गरौँ।”

त्यहाँ चुपचाप बसेका सबैले ताली ठोकेर त्यो प्रस्तावलाई चुपचाप पारित गरे । त्यसपछि तिनीहरुले गएको कार्यक्रमको समीक्षा सुरु गरे ।
केहीले भने—राम्रो भयो । सारै राम्रो भयो । यसमा मेरो भन्नु केही छैन ।
त्यही बेलामा सभापतिको तेबुलमा फोनको घण्टी बज्यो । उनी ठुलो ठुलो स्वरले कुरा गर्न थाले । समीक्षा बैठकतिर उनकाे ध्यान गएन । उनी फोनमा कुरा गर्दैगर्दा केही सहभागीहरु एक आपसमा खासखुस गर्दै थिए । त्यहाँ बोल्नेहरु बोलिरहेका थिए । कोही नबोल्नेहरु “चुपचाप—सहिछाप” गरिरहेका थिए । कोही होहल्ला गरिरहेका थिए । त्यहाँ जे जस्तो भए पनि समीक्षा बैठक भने चलिरहेकै थियो । अरुले मुख नखोले पनि एकजना सहभागी शिष्टजीले निकै जोशिएर मुख खोले—

“खै मलाई त त्यो पण्डितको बोली  व्यवहार नै ठीक लागेन । कसैले केही कुरा सोद्धा पनि झन्झट मान्ने, कसैले केही सोध्यो भने हियाएर बोल्ने, कुरा पनि अन्टसन्ट गर्ने । के खालको पण्डित हो ? म त जिल्ल परेँ । किनभने उसले बेदान्तको अर्थ पनि अर्थ न बर्थसँग गरे । वेद भन्दा पनि अन्टअन्टको कुरा ल्याएर वेदान्तको अर्थ पनि यहि हो भने जस्तो पो गरे त । वेद भन्दा अन्तको कुरा कसरी वेदान्त हुन्छ ? यस्ता पण्डितलाई हामीले के के विषयमा ध्यान केन्द्रित गरेर बोल्ने हो भन्ने बारे स्पष्ट रुपमा नभनेको जस्तो पो लाग्यो मलाई । त्यस्तालाई मनपरि बोल्न दिएर खै के भयो त भन्ने मलाई लाग्यो ।

चुपचाप बसेर शिष्टजीको कुरा सुन्नेहरुले त्यसैमा सहिछाप ठोके र सबैले उनकाे कुरालाई मनासिब, मनासिब भनेर मुख खोलेर बोले । तर संयोजकले पनि के कम ? उनले पनि मुख खोले— “त्यो पण्डित अलिअलि ठट्टा गर्ने खालको छ । उसकाे बानी त्यस्तै छ । त्यसैले वेदान्तको कुरा कसैलाई थाहा छैन भन्ठानेर त्यस्तो अन्टसन्ट वेदान्तको कुरा गरेको होला । तर शिष्टजीले कुरा समाई हाल्नु भयो । धन्यबाद छ शिष्टजीलाई हामी सबै चुपचाप सुनेर बस्नेलाई— सचेत गराउनु भएकोेमा ।”

चुपचाप बसेकाहरु सबैले पनि मुख खोलेर हो, हो, त्यसै हो भने । त्यसैबेला सभापतिले फोनमा कुरा गर्न सकेछन् क्यारे । मुख खोले—  म अन्त अर्काे बैठकमा जानु छ, हतार छ । कामको लतारपतार छ, चताराे छ भन्रदै ऊ उठेर हिँडे ।अरुहरु सबै जिल्ल परेर चुपचाप रहे ।

त्यसपछि अरुहरुले पनि “मलाई पनि हतार छ” भनेर एकएक गरेर चुपचापसँग उठेर जान थाले । मेनेजर कराए — “एकछिन, एकछिन” भनेर निर्णय पुस्तिकामा दस्तखत धस्काउन लगाए, गराएर र भने— “आगामी कार्यक्रम साविक बमोजिम गर्ने है भनेर सभापतिबाट हुकुम प्रमाङ्गी भएको छ । तपाईंहरु सबैलाई याद होस् है महोदयहरु ।”

मेनेजरले आफनो मनको बह पोख्यो— “मैले त्यत्रो मेहनत गरेर आचारसंहिता बनाएर ल्याएँ। पालन नै भएन भन्या । के गर्ने गर्ने ?”

कविजीले मेनेजरतिर फर्केर भने— “आजको बैठक त गजपको भयो नि मेनेजरजी । कसो ?”

उसले कविजीको अनुहार ट्वाल्ल परेर हेर्यो र ङिच्च हाँस्यो । रखबारेले पनि मुख ङिच्च पारेर चुपचाप झयाल ढोकाहरु लगाउँदै थियो । त्यहाँ बाँकि भएका भएभरकाहरु सबै समीक्षा बैठक सकेर चुपचाप आआफ्नो बाटोतिर लागिसकेका थिए । बैठकघरले पनि आज खै किन हो कुन्नि सबैलाई चुपचाप हेरेर मुस्कुराइ रहेको थियो ।

०००
२०८३असार ७ ।
कुलेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
0
Would love your thoughts, please comment.x
()
x