साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेरो बाउ – मेरो बाउ

अर्कोतिर “तेरो बाउ मेरो बाउ” भन्दै ठुलो स्वरमा कराएर नाँच्दै गरेको गुन्जिएको आवाज परपरसम्म अझै सुनिएको थियो । जय होस् । हाे, याे एकादेशकाे कथा हाे ।

Nepal Telecom ad

राम ‘विनय’ :

“तेरो बाउ मेरो बाउ माछा मार्न गयो ।
तँलाई पुच्छर मलाई टाउको बराबर भयो ।”

याे एकादेशकाे कथा हाे ।

गाँजा, अफिमको नसाको स्वादमा रमाएर त्यहाँ केही युवाहरू र्‍यापको तालमा गाउँदै रमाएर नाचिरहेका थिए । आपुूलाई मनपर्ने त्यो गीतको आवाज सुनेर अग्लो ठाउँको चौकीको हवल्दार खुब रमायो । आफ्‌नो बाटोमा हिँड्नखोज्ने गजपको ठिटो उसले फेला पारेछ । उसले त्यसबेलाका ऊ जस्ता युवाहरूलाई आफूकहाँ बोलाए । कुरा गरे । उनीहरूले उसको जोकरखालको नोकर बन्न माने । उनले तिनीहरूलाई तालिम दिए । आफनोपन ठीक छैन भनेर, त्यसप्रति अनास्था उत्पन्न गराए र त्यसबाट कसरी अलग गराउन सकिन्छ ? त्यो र त्यो जस्ताहरूलाई कसरी फेर्न सकिन्छ भनेर निकै कुरा सिकाए । ऊ र ऊ जस्ताहरूलाई हवल्दारले राम्रो जागीरमा राखेर आफ्‌नो गोटी बनाए । त्यहिबेला त्यहाँ चुनावमा उसलाई उठाए । उसको चुनाव चिन्ह लौरो थियो । उसलाई सबैले लौरो भनेर चिने ।

उसलाई जस्तो तालिम दिएर सिकाएको थियो, त्यसरी नै आफ्‌नो समाजको विद्यमान परम्परागत मुल्य र मान्यता बिपरित काम गर्न थाले । बिकासको कामको नाम विनिर्माणवादी भएर सबैतिर भताभुङ्ग पारेर विकास देखाउन थाले । धेरैलाई विकास भनेको यहि हो कि भन्ने भ्रम दिन थाले । नकारात्मक शोच र व्यवहार गरेर समाजमा नैराश्यता, असन्तुष्टि, आक्रोश र विद्रोहको बिजापरोपण गर्न थाले । रातिराति सामाजिक सन्जालमा रमाएर जनमानसमा खासगरी नयाँ पुष्ताहरूमा नकारात्मक भावनाले दिमाग भुट्न थाले । उसको अभियानको नियत—आगो सल्काउनु, भत्काउनु, सबैतिर बिध्वंस पार्नु बाहेक केही पनि थिएन । किनकि उसले उसको हवल्दार मालिकबाट त्यस्तै भत्तावाल तालिम पाएको थियो । तालिममा त्यस्तै सिकाइएको थियो ।

उसैको लहैलहैमा भरखरका चिचिलाहरू पछि लागे । उनीहरूले अन्त कतै केही उपाय नदेखेर, विदेशिन नसकेर ऊतिर आर्किर्षत भएका थिए । तिनीहरूलाई कसरी विद्यमान मुल्य र मान्यतालाई भत्काएर नैराश्यताको र बिद्रोहको बाटो लान सकिन्छ भनेर लौरोले सामाजिक सन्जालबाट सबैको दिमाग भुटने काम गरे । मुख निचोर्दा दुध निस्कला जस्ता नाकको सिँगान पुछ्न पनि गाह्रो होला जस्ता चिचिलाहरू निकै फुर्तिफार्ती गरेर निस्के । जानेर नजानेर भए पनि पाकाहरू अर्तिबुद्धि दिन थाले । नैराश्यता, असन्तोष र विद्रोहको कुरा गर्न थाले । त्यसैले एकजना पाका मानिसले भन्न थालेको थियोः— पहिला पहिला “आगो ताप्नु मुढाको,कुरा सुन्नु बुढाको”भन्थे । अहिले त जमाना फेरिएछ— “आगो ताप्नु झिँजाको, कुरा सुन्नु चिचिला(चिँजा)को, पो भएछ । अब यिनीहरूले पनि रंगिन आन्दोलन पो गर्न थालेछ बा । छक्क परेर पाका मानिस तुलसी नारायण कराई रहेका थियो ।

के निउ पाउँ, कनिका केलाउँ भनेको बेलामा एकदिन सबैको हातहातमा भएको बिनातारको बिजुली मेसिनबाट चल्ने सामाजिक सञ्जाल बन्द भयो । तत्कालिन अवस्थालाई चर्काउन यसले आगोमा घिउथप्ने काम गर्‍यो । चिचिलाहरू पनि रँगीन आन्दोलनमा लागे । धर्नामा बसे र माग गरेर भने— “हाम्रो प्राणबायु भैसकेको सामाजिक सञ्जाल खुल्ला गर, सुशासन कायम गर, भ्रष्टाचारीलाई कारबाई गर, आदि इत्यादि ।”

कहिले मौका आउला र भएभरको बिध्वंश मचाउँला भनेर कुरेर बसेका पिँदबिनाको लोटा बोकेर हिँडेका छ्यापरे बाँदर पनि त्यो अबस्था देखेर अति खुसी भए । मौकामा चौका हान्न सिपालु त्यो बाँदर र लौरासित खासखास कुरा गरे । तिनीहरूले मिलेर भस्मासुर योजना भनाए । तँ पनि उस्तै, म पनि उस्तै जाउँ सुस्तै भने जस्तै तिनीहरू सुस्तैसुस्तै गए । चिचिलाहरूकालाई अगाडि सारेर तिनीहरूको नाममा तिनीहरूले त्यो रँगिन आन्दोलन नामको बिध्वंशकारी काममा लागे । उसका सबै भेँडाहरू, स्यालहरू, ब्वाँसाहरू, चमेराहरू, छ्यापारे बाँदरहरू, गोमन सर्पहरू लगायत भएभरका दुराशयका भेँडाहरू जम्मा भए । कुनियतका भारी बोकेका भरियाहरूले बचेराहरू, चिचिलाहरूलाई अघि सारे । तिनीहरूको नाममा तिनीहरूले आफ्‌ना पाङ्दुरे भेँडाहरूलाई चिचिलाहरूको माझमा घुसाए । ती भेँडाहरू, ब्वाँसाहरू, छ्यापरे बाँदरहरू, गोमन सर्पहरूले चिचिलाहरूको ख्यापा (मुकुन्दो) लगाएर निस्के । ती अबतारीहरूले चर्को चर्को उत्तेजक नारा लगाए । भए भरकाहरूलाई उत्तेजित पारे । जताततै बारहरू, पर्खालहरू भत्काउने, पसलहरूमा लुटपाट मच्चाउने गरे ।

चिचिलाहरूलाई तानितानी मारे । ठुलाठुला घर महलहरूमा पसे । त्यहाँ भएका भएभरका ऐतिहासिक प्रमाणहरू जलाउनको लागि आगोको राँको झोसे । त्यतिमात्र कहाँ हो र ? लौराहरू र छ्यापरे चमेरे बाँदरहरूले गुगल नक्सा हेर्दै, समुह, समुहमा निर्देशन दिँदै आगो सल्काउन लगाए । सर्बजनिक र व्यक्तिगत निबासहरूमा डढेलो लगाए र सत्यानास पारे । जेल रहेका ब्वाँसाहरूलाई भगाए । सुरक्षावालकै हतियार लुटेर मानिसहरूलाई मारे । अराजकता र अब्यवस्थामा तिनीहरू लागे । चिचिला र अरुहरू धेरै मरिरहेका थिए ।

बाहिर सबै ध्वस्त भएको खरानीको थुप्रो थियो । तिनीहरू आफ्‌नो बिनिर्माण बिध्वंशको खृुसियालीमा थियो । बाहिर मरेकाहरूका आफन्तहरू आँसुमा बगिरहेका थिए । लौराहरू र बाँदरे चमेरे छ्यापराहरू विजयोत्सवको राक्षसी अट्टाहासको हाँसोमा रमाई रहेका थिए ।

“तेरो बाउ मेरो बाउ माछा मार्न गयो । तिमीलाई पुच्छर मलाई टाउको बराबरी भयो । या या या… ।” भन्दै लौराहरू र छ्यापारे, चमेरेबाँदरहरू र उसका आउरेबाउरेहरू भोजभतेर गर्दै थिए । गाँजा र अफिमको नसाको सुरमा भोड्काको चुस्की लगाएर तिनीहरू नाचिरहेका थिए ।

ठुलो चौकीको हवल्दारले यो सब हेरिरहेको थियो । उसले भने बमोजिम अझ भएको छैन भन्दै उनीहरूको कान फुक्दै थियो । ऊ पनि “तेरोबाउ मेरो बाउ माछा मार्न गयो, तिमीलाई पुच्छर मलाई टाउको बराबर भयो ” भन्दै र्‍याप गीतको तालमा, नसाको सुरमा नाँच्दै थियो ।

स्वदेशका दिमागी धुरन्धरहरू विदेशीको नोकर बनेका थिए । संजोगले स्वदेशमा मिल्काइएका दिमागी धुरन्धरहरू फाल्तु जोकर बनेका थिए । नोकरको त्यो तुजुक देखेर फाल्तु जोकरहरू कँचटमा हात राखेर झोक्राइरहेका थिए । खरानीको थु्‌प्रो देखेर लौराहरू र छ्यापरे बाँदरहरू रमाइरहेका थिए । अरु सबै आँखाभरी आँसुमा डुबेर रोईकराई गरिररहेका थिए । ती लौरो र छ्यापरे, चमरे बाँदरे बिध्वंशकारीहरूले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी छ रे भनेर लुटेर जलाउन गएका थिए रे ! भक्तजनहरूले जोगाएछन् र बचेछ ।

पहिलेदेखिनै पछिसम्म भन्नेहरूले भन्दै थिए— “पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।” पशुपतिनाथको मन्दिर नजिक एकजना बाबाजी जयसम्भो, हर हर महादेव ! जय भोलेनाथ बाबा ! हामी सबैको जय होश !” भन्दै थियो । अर्कोतिर “तेरो बाउ मेरो बाउ” भन्दै ठुलो स्वरमा कराएर नाँच्दै गरेको गुन्जिएको आवाज परपरसम्म अझै सुनिएको थियो । जय होस् । हाे, याे एकादेशकाे कथा हाे ।

०००
कुलेश्वर, काठमाडौं
२०८२।०७।२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x