किशन पाैडेलअग्निपरीक्षा
"जो इमानदार नैतिकवान् छैनन्, भ्रष्टआचरणबाट गुज्रिएका छन् तिनीहरू कुर्सीमा बस्ने बित्तिकै कुर्सीको तापले मर्नेछन् ।"
किशन पाैडेल :
ज्योतिषले उसको कुण्डली हेर्दै भयो- “तपाईंको ठूलो राजयोग रहेछ।
अलिकति जप तप, कसरत गर्नु भयो भने यो देशको प्रधानमन्त्री बन्न सक्नु हुनेछ ।”
ज्योतिषको कुरा सुनेर ऊ दन्न पर्दै घर फर्कियो र रातभरि सोच्न थाल्यो । श्रीमान् छट्पटिएको देखेर श्रीमतीले जिज्ञासापूर्वक सोधिन् -“होइन तपाईंलाई के भयो ? यता कोल्टे उता कोल्टे फेर्दै रात छिप्पिइसक्यो न निदाएर ।”
श्रीमानले बिहान ज्योतिषले भनेको कुरा सुनायो ।
“मर्ने बेलामा हरियो काक्रो। के गर्नु प्रधानमन्त्री भएर यत्रो सम्पत्ति जोडिसक्नु भएको छ । बेकार टाउको दुखाएर । भो भो सुत्नुस् मलाई विश्वास लाग्दैन त्यो हावा ज्योतिषीको कुरा ।”
बिहान उठेर जप ध्यान गरेर रेडियो सुन्दै थियो । रेडियोबाट एउटा विज्ञापन बजिरहेको थियो –
“कान्तिपुर नगरीमा एक जना योग्य प्रधानमन्त्रीको आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारले प्रतियोगितामा भाग लिन सहभागी हुनुहोला ।”
उसको अनुहारमा खुसीको रौनक चम्कियो। हतार हतार दौरा सुरूवाल र टोपी लगाएर प्रतियोगितातर्फ हानियो ।
त्यहाँ ऊ जस्तै धेरै बृद्धहरू प्रतियोगितामा सहभागी हुन आएको देखेर दङ्ग पर्यो ।
प्रधानमन्त्री बस्ने त्यहाँ एउटा गजबको अदभूत कुर्सी राखिएको थियो र त्यहाँ लेखिएको थियो –
“जो इमानदार नैतिकवान् छैनन्, भ्रष्टआचरणबाट गुज्रिएका छन् तिनीहरू कुर्सीमा बस्ने बित्तिकै कुर्सीको तापले मर्नेछन् ।”
ऊ नराम्रोसँग झस्कियो र सोच्न थाल्यो ओहो ! यो त जिन्दगीकै अग्नि परीक्षा पो रहेछ ! भो बेकार जिन्दगीलाई नै दाउमा राखेर चाहिँदैन यो कुर्सी । बरू तीर्थतिर गएर पाप पखालेर आउँछु भन्दै ऊ सरासर घर र फर्कियो ।
०००
हेटाैडा, मकवानपुर
खुसी (२०७९)
Subscribe
Login
0 Comments
Oldest









































