खगेन्द्र नेउपानेसाला जिन्दगी !
आफैंलाई बिर्सिनेगरि मातेर बस्न मन छ
रक्सीको समुन्द्रमा एकैछिन् पस्न मन छ
साँझ आँगनमा निस्किएर
आकाशका नौलाख तारा गन्न मन छ
एकै छिन आफ्नै स्वतन्त्रतामा जिएर
शब्दकोशका मनमौजी शब्द भन्न मन छ
भ्रमका आदर्शमा
भविष्यका कष्टप्रद चिन्ताहरु समेटेर
मलाई टोक्न खोज्ने दार्शनिकहरुबाट टाढा भागेर
यथार्थमा स्वतन्त्रतापूर्वक जीउँन मन छ
बोतलको नशालु काखमा चुपचाप निदाउँन
धीत मर्नेगरि प्युँन मन छ
किनकि विश्व भनेको म आफैं हो
वि + स्व
म सकिंनासाथ विश्व प्रलय हुन्छ
आफैं नरहेपछि
कोही हुनुको केही छैन
तबसम्म मान्छे सुखी हुन्न
जबसम्म उस्ले आफ्ना बन्धनहरु चुँडाउँदैन
त्यसैले
जिन्दगीमा एकपल्ट फाटेको मन सिउँन मन छ
जिन्दगीमा एकपल्ट धित मर्नेगरि पिउँन मन छ ।
एक पल्ट
घाम र जून छुट्याउँन नसक्नेगरि हुन मन छ
जीवनका विसंगतिहरुलाई फोएर रुन मन छ
मान्छेहरु किन पिउँछन् थाहा छैन
मान्छेहरु किन जीउँछन् थाहाछैन
कोही भन्छन् मलाई पिउँनको लागि जीउँन मन छ
उस्को डाक्टरले जीउँनको लागि पिउँन छोड भन्यो रे
यस्तै साँझका कथाहरु बेस्सरी धोकेर
त्यो चोकमा
बेस्सरी समयको बमन गर्न मन छ
आँतभरी रहर भर्न मन छ ।
हो नि !
एकपल्ट बेस्सरी मात्न मन छ
दुनियाँका बिसंगतिका बिरुद्धमा
जोडसंग तात्न मन छ
होसका बन्धनहरुले छेकेको बेला
बेहोस हुन मन छ
परिस्थितिले जमाएका भित्रका मैलाहरुलाई
बिद्रोहले धुन मन छ ।
कुनै साँझ झ्याम्मै जमाउँन मन छ
दुनियाँ बिर्षिएर रमाउँन मन छ
गोठाले गित बर्बराएर
ओछ्यानमा पल्टिएर
उपरखुट्टी लगाएर भन्न मन छ
साला जिन्दगी !
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest








































