हरिकला उप्रेतीतिमी र म
हेर्दा हामी दुरुस्तै उस्तैछौ म भन्छु भनी रहन्छु तिमी गर्छौ गरिरहन्छौ त्यसैले त मित्र तिमी दिनदिनै मौलाउदैछौ म दिनदिनै ओइलाउदैछु ।

म भन्छु, खेतमा धान रोप्नुपर्छ
नाङ्गिनुहुन्न इज्जत छोप्नुपर्छ
तिमी गरा गरामा घर फलाउँछौ
र सर्वाङ्ग हेर्न छिमेकी बोलाउँछौ ।
म भन्छु, मन्दिर बनाउनुपर्छ
देउता पुज्नुपर्छ
तिमी मन्दिर बनाउँछौ
सक्कली मुर्ति लुकाउँछौ
र वरिपरि भिखारी उमार्छौ ।
म भन्छु, स्कुल खोल्नुपर्छ
बालबच्चा पढाउनुपर्छ
तिमी स्कुल खोल्छौ
र बच्चा च्यापेर तेल निचोर्छौ
म भन्छु, रुख रोप्नुपर्छ
जंगल जोगाउनुपर्छ
तिमी रुख काट्छौ जंगल फाँड्छौ
र चन्दन पोलेर अंगार बेच्छौ ।
म भन्छु, देशको विकास गर्नुपर्छ
आत्मा निर्भर बन्नुपर्छ
तिमी डोजर किन्छौ डाँडो फोर्छौ
र भरोसा पोलेर आगो ताप्छौ ।
म भन्छु, युवा दक्ष बनाउनुपर्छ
आफ्नै देशमा अटाउनुपर्छ
तिमी मेनपावर खोल्छौ
र छानिछानी खाडी पठाउँछौ ।
म भन्छु, निष्पक्ष निर्वाचन गर्नुपर्छ
योग्य नेता छान्नुपर्छ
तिमी नोटले भोट खरिद गर्छौ
र पुस्तौ पुग्ने ढुकुटी चर्छौ ।
म भन्छु, जमिन सिंचाइ गर्नुपर्छ
बालीनाली लगाउनु पर्छ
तिमी समुद्रमा जहाज गुडाउँछौ
र सडकमा मोनो रेल उडाउँछौ ।
म भन्छु, उद्योगधन्दा खोल्नुपर्छ
व्यपार वृद्धि गर्नुपर्छ
तिमी टाकुरामा भ्यू टावर ठड्याउँछौ
र दुर्विनबाट समृद्धि चिहाउँछौ ।
म भन्छु, जडिबुटी लगाउनुपर्छ
बिरामीले ओखती पाउनुपर्छ
तिमी अस्पताल खोल्छौ
र गरिबीको मुटु चिरफार गर्छौ ।
हो मित्र, हेर्दा हामी दुरुस्तै उस्तैछौ
म भन्छु भनी रहन्छु
तिमी गर्छौ गरिरहन्छौ
त्यसैले त मित्र
तिमी दिनदिनै मौलाउदैछौ
म दिनदिनै ओइलाउदैछु ।
तेह्रथुम, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































