लौरो !
लौरो रहेन घरमा सब छन् बिराना । लौरो भएन सँगमा अब छन् कुनामा । लौरो विदेश तिर छन् भर छैन आस । लौरो विपक्ष तिर झन् डर बढ्छ त्रास ।
लौरो हुँदा सफरमा पनि हुन्छ ढुक्क ।
लौरो हुँदा विपदमा पनि भाग्छ दिक्क ।
लोरौ हुँदैन तब के अब जिन्दगानी !
लौरो त हो मनुजको सब घामपानी ।
लौरो बनेर जसरी जब उठ्छ थाँक्रो ।
लौरो समात्छ लहरा तब फल्छ काँक्रो ।
लोरौ खटेर जसरी जननी पिताको ।
लौरो दिएर सहयोग सखा मिताको ।
लौरो समाज घरको जब गर्छ काम।
लौरो सुनेर खलले अब छोड्छ धाम ।
लौरो सदैव हितको कति दिन्छ टेवा ।
लौरो अशक्त रहँदा जति मिल्छ सेवा ।
लौरो हुँदा कलुषको कति पोल्छ छाती ।
लौरो छुँदा सुजनले अति मान्छ जाती ।
लौरो छ कानुन त्यहीँ अनि धर्म राख्छ ।
लौरो विवेक पनि हो दनु चित्त भाग्छ ।
लौरो बनेर जसले जब विघ्न हर्छ ।
लौरो भनेर त्यसले अब आस गर्छ ।
लौरो दया सकलमा सुख दिन्छ प्यारो ।
लौरो कृपा सकसमा दुख हर्छ गाह्रो ।
लौरो लिएर गुरुले जब पिट्न थाले ।
लौरो पिएर करमा तब मिच्न थालेँ ।
लौरो जहाँ गलत छन् अब चल्नुपर्छ।
लौरो कहाँ तिमिर छन् तब जल्नुपर्छ ।
लौरो रहेन घरमा सब छन् बिराना ।
लौरो भएन सँगमा अब छन् कुनामा ।
लौरो विदेश तिर छन् भर छैन आस ।
लौरो विपक्ष तिर झन् डर बढ्छ त्रास ।
लौरो पुगेछ कसरी मुगलान आज ।
लौरो झुकेछ जसरी न त शान ताज ।
लौरो सुकेछ किन खै डर त्रास बाट ।
लौरो फुकेछ तब भो अति धेर आँट ।
लौरो विना छ अहिले रित छैन धर्म ।
लौरा विना छ जहिले निज छैन कर्म ।
लौरो विना मुलुक यो कति सम्म चल्छ ।
लौरो विना कठिन भो अब ढल्छ ढल्छ ।
लौरो जहाँ अधम छन् तब पर्छ खाँचो ।
लौरो जहाँ कठिन छन् अब बन्छ साँचो ।
लौरो प्रयोग नहुँदा अति हुन्छ राम्रो ।
लौरो यहाँ नियमले कति चल्छ हाम्रो ???
भरतपुर, चितवन