मान्छे बिगार्ने धन
बोल्यो लाज पचाइँ बेसरमले आफैँ फटाहा भयो । बोली कर्कस झैँ छ सुन्न नहुने नेता बिकामे भयो । भाड्यो देश यता लियो मुलुकको सत्ता र भत्ता पनि । बेकामी नर वा त वानर भनौँ नेता बुख्याँचा अनि ।
ए भाते भतुवा समाज भँडुवा नेता भयौँ के गरी
धर्तीमा खिचलो छ याद गरलौँ बस्छौँ सधैँ ट्वा परी
आफ्नो देश बचाउँनै सकस भो सुन्छौ उसैको कुरा
गर्छौ सादर भक्तिभाव उसकै बिग्रेछ चाला पुरा ।
सेवा ढोग बिहान साँझ दिनहूँ ढोगेर खुट्टा अनि
खान्छौ भोज उतै बसेर कहिले लाग्छौ अघोरी पनि
सीमा साँध मिचेर रोड हुनगो बोल्दैन केही किन ?
सत्ताको सरकारभित्र बलियो खम्बा हरायो किन ?
डोकामा अडिने छ दूध दुहुँदा हालेर ढुङ्ग्रो भरी
बोकाको र छ दूध खान घरमा माग्ने भयो के गरी
भ्रष्टाचार अचार भो समयको स्वादिष्ट व्यञ्जन् भयो
बढ्दो भो अनिकाल गाउँ घरमा खाद्यान्न खाँदो भयो ।
आफू झैँ अरु छैन भन्छ उसले खन्दैछ खाल्डो पर
आफ्नै गाउँ छिमेकभित्र जनले टेर्दै नटेर्नै तर
नेताभित्र रहेन मानव चुरो ढुङ्गो सरी भो मन
रूवाका मनमा अटेन किन हो ? मान्छे बिगार्ने धन ।
बोल्यो लाज पचाइँ बेसरमले आफैँ फटाहा भयो
बोली कर्कस झैँ छ सुन्न नहुने नेता बिकामे भयो
भाड्यो देश यता लियो मुलुकको सत्ता र भत्ता पनि
बेकामी नर वा त वानर भनौँ नेता बुख्याँचा अनि ।
खाए घाँस जनावरा सरह नै बेमान दादा गिरी
गुण्डा नायक भै हिडे शहरमा मान्छे भनौ के गरी
नेता बन्न त छैन लायक कुनै नेता भनौँ के गरी
हालौँ खाडलमा र फोहर भनी गाडौँ चिहानै सरी ।
०००
उदयपुर