होम सुवेदीशुभकामना कुकुरहरूलाई !!
चाहे तिमीजस्ताले भरिएका हुन् चाहे रित्ता हुन् अब तिम्रा एकलौटीका कित्ता हुन् तिम्रो मालिकले छेउभित्तामा उभिँदा हुने तिमीले खुट्टा उचाल्नु किन नहुने ?

अब आएको छ तिहार,
अस्तिसम्म दसैँ पल्टिएको थियो
राम्रै खानपिनको राम्रो प्रबन्ध थियो
हड्डी मात्र हैन ह्याकुलाकै प्रबन्ध थियो
साँप्रो र ह्याकुलोसँगै सम्बन्ध थियो
अब केही समयलाई यो प्रबन्ध निख्रिए
तर तिहार
भित्रिएको छ
शुभकामना छ भुस्याहाहरू हो
तिहारको शुभकामना छ ।
प्रतीक्षा गर एलसिसिएनहरू
गुन्टामाथि बस्नलाई प्रतीक्षा गर
चाँडै माला लगाएर तिम्रो पूजाको तयारी हुँदैछ
जिउनारका लागि भुजा तयारी हुँदैछ
शुभकामना छ भोटे कुकुरहरू हो
तिहारको शुभकामना छ ।
तिमीमा लामो समयसम्म सुतेको
जोे मधुमास थियो
त्यो अब जागेको छ
किनभने कात्तिक लागेको छ
अब मधुमाशको तयारी गर
गाडीमा चढेर सैर गर्ने खिचाहरू हो
शुभकामना छ
तिहारको शुभकामना छ ।
बेला यही हो तिमीहरूको
अहिले राइँदाइँ छ
गाउँगाउँमा भुक
बाटो ढुक
नहराऊ बार्दलीमा
तिम्रो खोजीमा गाउँ ठाउँमा गाइँगुइँ छ
माला तयार छ
अविर तयार छ
जाऊ गाउँ गाउँमा जाऊ
अब त तिमीहरूकै छ दाउ
रेबिजको उपहार बोकेका
भुस्याहाहरूहो शुभकामना छ
तिहारको शुभकामना छ ।
अट्टालिकामा मोजमस्ती गर्ने
उच्च तहका राजामहाराजाहरू हो
पग
बक्सर
सेफार्ड
डेन
टेरियर
ग्रे हाउण्ड जस्ता घरानियाँहरूको
अनि एक पेट खान नपाउने
फुटपाथमा जीवन गुजारिरहेका भुस्याहाहरू हो
आउँदै छ तिम्रै दिन
आजैदेखि तिमीलाई फुक्का छ
जता खुट्टा उचाले पनि ढुुक्क छ
जहाँ मन लागे पनि हलुका भए हुन्छ
चाँडै माला लगाउनेछौ
मानौं तिमी मन्त्री हुनेछौ
हड्डीमा ङारङुर गर्ने स्वभाव भएका
हे डाँगा हो, हे छाउरी हो
तिमीलाई शुभकामना छ
तिहारको शुभकामना छ ।
चाहे मन्दिरका भित्ताहरू हुन्
अथवा ठुलाठुला कित्ता हुन्
चाहे तिमीजस्ताले भरिएका हुन् चाहे रित्ता हुन्
अब तिम्रा एकलौटीका कित्ता हुन्
तिम्रो मालिकले छेउभित्तामा उभिँदा हुने
तिमीले खुट्टा उचाल्नु किन नहुने ?
अब तिमीलाई कसले छुने ?
अब तिमी जहाँ मन लाग्छ
त्यहाँ खुट्टा उचाल
छेउ भित्ता जता मन लाग्छ त्यतै पखाल
आफ्नो खुट्टा दोब्र्याऊ
अथवा जता पायो उतै गोब्र्याऊ
शुभकामना छ जातजातका स्वानजाति हो
तिहारको शुभकामना छ ।
बाटाघाटाहरूको छेउमा
कुनै लाज सर्म नराखी
बानेश्वरदेखि थानेश्वरसम्म
खुट्टो उचाल्ने र
खुट्टा नउचाल्नेलाई समेत
शुभकामना छ रेविजहरू हो
तिहारको शुभकामना छ ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































