टाउको बजारिँदा पाएको तक्मा
त्यो पनि ठीक्क तक्माकै आकारमा डल्लाकारमा कृपया मेरो यो तक्मा देखेर यसरी नहाँस्नुस् मेरो यो स्वयम्भू त तक्मासँगै आउनुस् एउटा सेल्फी त खिचाउनुस् ।
भ्यागुतोझैँ बुरुक्क उफ्रिँदै
कहिले यो कार्यालय
त कहिले त्यो कार्यालय धाएँ।
कहिले यसको काँधमा त
कहिले उसको काँधमा बस्न भ्याएँ ।
गोप्यता भङ्ग नहुनेगरी उनको कानमा
ट्वार्र-ट्वार्र आफ्ना भएभरका
पैँचो ल्याएका योग्यता सुनाएँ ।
फोन गर्न लगाएर हैसियत देखाएँ ।
मज्जाले गतिला फुइँ हान्न भ्याएँ ।
साइत जुराएर निवेदन पनि चढाएँ ।
प्रभु! यस पालि त पक्कै पार्नु हुनेछ भनी
सङ्कल्प लिएर पुराण लगाएँ ।
तक्मा लिन जान भनि
नयाँ दौरा-सुरुवाल सिलाएँ
तर मेरो नाम च्याट्ट उधिनेर नै होला
तक्मा पड्काउने सपना अधूरै रह्यो
पुर्पुरोमा लेखेको रहेनछ भनि
उध्रेको यो मन
धैर्यको धागोले खुटेर मिलाएँ ।
तै पनि के भयो !
सयौंको भीडमा आफ्नो नाम
कता पर्यो खोज्न थाल्दा हतारमा
टाउको यस्तो बजार्यो भित्तामा बेकारमा
कि सबैले देख्ने गरी
“तक्मा” प्रष्ट उम्रेको छ निधारमा ।
त्यो पनि ठीक्क तक्माकै
आकारमा डल्लाकारमा
कृपया मेरो यो तक्मा देखेर
यसरी नहाँस्नुस्
मेरो यो स्वयम्भू त तक्मासँगै आउनुस्
एउटा सेल्फी त खिचाउनुस् ।
०००
विराटनगर