के.पी. पाैडेलमान्छे
आफन्ती जनका सभा र घरमा, जान्छन् यहाँ मानव । हेर्छन् तुच्छ विचारले यदि भने, ढाडे बिरालो सब ।। ज्ञानी भक्त दयालु सन्त मनुवा, हुन्छन् सकारात्मक । डाँका भ्रष्ट दलाल दुष्ट खल ती, बन्छन् नकारात्मक ।

(मान्छे विषयको शृङ्खलाबद्ध कविताको ६२ औँ भाग)
आफ्नो ल्यागतले भलो नियमले, सोच्दैन मान्छे किन ।
अर्काको गफमा परेर मनुवा, लट्ठिन्छ साह्रै किन ।।
आफू के हुँ भनी गुनी मगजले, हेर्दैन आफैँतिर ।
अर्काको बदनाम गर्छ मनुवा, जागेर त्यो आखिर ।।- १
आफ्नो दोष लुकाउँदै कपटको, बाटो निचो हिँड्दछ ।
सोझा मानिसको र रुग्ण जनको, खेदो खनी बोल्दछ ।।
डाँकाको दलको विषाक्त खलको, मोर्चा बनाईकन ।
लुट्छन् साधु र सन्त भक्त निमुखा, लाजै पचाईकन ।।- २
अर्काको धनको पवित्र मनको, ईष्र्या गरी हिँड्दछ ।
आफ्नो स्वार्थ निमित्तको कहरले, आफन्तनै तोड्दछ ।।
थाङ्ने बात गरेर रम्दछ खुबै, सेखी गरी हिँड्दछ ।
गाली गर्छ पछाडिबाट रिसले, आँखा तरी हेर्दछ ।।- ३
आफन्ती जनका सभा र घरमा, जान्छन् यहाँ मानव ।
हेर्छन् तुच्छ विचारले यदि भने, ढाडे बिरालो सब ।।
ज्ञानी भक्त दयालु सन्त मनुवा, हुन्छन् सकारात्मक ।
डाँका भ्रष्ट दलाल दुष्ट खल ती, बन्छन् नकारात्मक ।।-४
आफ्नो त्यो अनुहार हेर्दछ भने, गाली नगर्दा भयो ।
अर्काको रिस गर्न हुन्न नरले, बानी नराम्रो छ त्यो ।।
मान्छेको अनुहार होइन निको, चाहिन्छ बानी निको ।
मान्छे बन्न सकिन्छ है मगजको, ज्ञानी उँचो युक्तिको ।।- ५
०००
बालाजु, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































