कोमल भट्टआमचुनाव २०७९
बोली जाल र झेलका कपटका झुट्टा दिलासा बुझौँ । आफ्नै पेट भरी प्रशन्न रहने लोभी र पापी चिनौँ । पुछ्दै आँसु अनाथमा अशकमा छर्ने खुसी हर्दम । रोजौँ रत्न समानका चहकिला बेदागका उत्तम ।

आयो आमचुनाव देशभरि नै उत्साह छायो नयाँ
ताजा जाँगर जोशका जगजगी आशा पलायो नयाँ
होला देश विकाश तीव्र गतिले भन्दै कुरेका थियौँ
मिथ्या भो परिकल्पना प्रगतिको बेकारमा झुक्कियौँ ।१।
शाही राज गयो निरङ्कुश गयो एकाधिकारी गयो
लेरायौँ गणतन्त्र हर्षित सबै सानन्द वर्षा भयो
चाँडै ध्वस्त भए परन्तु सपना भाका भरोषा जति
रोजिन्दा मुठभेडमा दलहरू झन् झन् बढे बेथिति ।२।
ठान्थ्यौँ देश हुनेछ दिव्य दरिलो पक्का प्रजातन्त्रले
हर्नेछन् परिताप जे छ जनको जानेर नेतृत्वले
सारा सोचहरू निरर्थक भए स्वार्थी हुँदा शासक
लुच्चा मात्र पुगे उँचा शिखरमा उत्थानका बाधक ।३।
बिक्रीमा छ विवेक विज्ञहरूको दुर्भावका खेलमा
काला कल्मषको रजाइँ छ सधैँ सत्पात्र ओझेलमा
राम्रोको रति छैन मानमनितो सङ्कीणर्ता खास भो
निष्ठा नैतिकता निशाफ सकिए सद्भावना ह्रास भो ।४।
धज्जी उड्छ विभूतिका वचनको भाषा तथा भेषको
खाँचो शुद्ध सदाशयी सुमनको चिन्ता लिने देशको
सत्तामा यदि पुग्छ सज्जन भने होला सफा चिन्तन
पर्ने छैन कदापि पिल्सिन यहाँ निर्धा तथा निर्धन ।५।
आँटी थाम निदाल जर्जर हुँदा बेहालमा आश्रय
जो जो पस्छ लुटेर जान्छ सजिलै मान्दै नमानी भय
बिर्से बोल कबोल बात रसिला बाटो भुले मातले
रित्याए प्रिय जन्मभूमि जननी खाए खुराफातले ।६।
बोली जाल र झेलका कपटका झुट्टा दिलासा बुझौँ
आफ्नै पेट भरी प्रशन्न रहने लोभी र पापी चिनौँ
पुछ्दै आँसु अनाथमा अशकमा छर्ने खुसी हर्दम
रोजौँ रत्न समानका चहकिला बेदागका उत्तम ।७।
खोजौँ निश्छल निष्कलंक नरमी नामुदका नायक
सङ्ला सद्गुणका सदाशय सफा सम्मानका लायक
भ्रष्टाचार अकासिँदा मुलुकको बिग्री सक्यो हालत
सच्चा सेवक राष्ट्रका सहृदयी छानेर हालौँ मत ।८।
०००
चन्द्रागिरि न.पा-१३, पुरानो नैकाप, काठमाडौँ
हालः न्युयोर्क, अमेरिका
Subscribe
Login
0 Comments
Oldest





































