
लाजै लजाएपछि
खाडीमा दिनरात बग्छ पसिना उम्रिन्छ रे बालुवा । बाक्साभित्र सुतेर फिर्छ सपना वैलाउँछन् पालुवा ॥ माटो उर्वरता सखाप घरले घरै बनाएपछि । सारा भाव अभाव बन्छ दुनियाँ लाजै लजाएपछि ॥

निभ्ला दीप हुँदैछ हेर मधुरो उर्जा गयो सिद्धिदैँ ।
ब्वाँसा बाँदर पालिए घरघरै भान्सा गयो रित्तिँदै ।
लुट्नेको मन मिल्छ एकछिनमै साझा बनाएपछि ।
भाग्छन् नैतिकता सधैँ मुलुकमा लाजै लजाएपछि ॥१॥
आफ्नो साख लिलाम लाम पहिल्यै सत्ता र भत्ता लिई ।
नाच्छन् भालु यता उता डिबडिबे मात्रै इसारा दिई ॥
आत्मा बेच्छ कठै नराधम स्वयम् आस्था भजाएपछि ।
ठान्छन् गौरव नग्नले मगनमा लाजै लजाएपछि ॥२॥
बाख्रा बाघ अनेक बाँदरहरू चिन्नै नसक्ने जन ।
आफ्नो मुक्ति खुलेन भित्र दिलमा दाशत्वप्रेमी मन ॥
आफ्नै भाग्य झिकेर दिन्छ बबुरो हड्डी चपाएपछि ।
भाग्छन् बस्त्र लगाउने जनहरू लाजै लजाएपछि ॥३॥
खाडीमा दिनरात बग्छ पसिना उम्रिन्छ रे बालुवा ।
बाक्साभित्र सुतेर फिर्छ सपना वैलाउँछन् पालुवा ॥
माटो उर्वरता सखाप घरले घरै बनाएपछि ।
सारा भाव अभाव बन्छ दुनियाँ लाजै लजाएपछि ॥४॥
छैनन् बीज किसानका पहुँचमा छैनन् कतै नै मल ।
आफ्नो भूमि बनेछ शुष्क सहजै बेचिन्छ अन्तै जल ॥
यी सारा घटना हुनै पनि थियो ब्वाँसा पसाएपछि ।
लज्जाका कविता नलेख कविले लाजै लजाएपछि ॥५॥
०००
२०८०/०१/०१
शुक्रबार, कीर्तिपुर