युवराज मैनालीखरा कुरा, मलुवा बिचार
नो पर्बाह, नो अब्जेक्सन । नो कम्लेन् । महानगरपालिका त थानका थान बथान बनेका खानपीन र गानाबजाना प्रतिनिधिले भरिभराउ भए पनि खाँटी प्रतिनिधित्व गर्ने मामिलामा लङ्गडो बनेको छ कि क्या हो ?

आयो रे ! आयो । लाम्पाते सुर्तीको कडा राग आयो । त्योभन्दा अझ कडा देशमा नयाँ जातको पर्चातन्त्र आयो, पर्चाभित्र गाँजा चरेस र जाँडभाँडमा लठ्ठिने अकबरे तन्त्रमन्त्र पनि आयो । त्यही मन्त्रको जपना गर्दै र रागेपाटे सपना उग्राउँदै बेगारीका गलगाँडको लर्को आयो । पछिपछि धुपौरेहरूको धूपधुवार धुवाउँने पावरदार धुपौरो आयो । धामीले शिरमाथि धुपौरो घुमाएर धुवाँ सुङाएपछि घटीबढी बोल्ने ग्याङको बोलकबोल संहिता आयो । त्यसको पालना गर्ने न गर्ने सबै प्रकारका बञ्जाराहरूको बञ्जीजम्प गर्ने लाइन आयो । लाइनभित्र हतार गरेर घुस्नेहरूको पौरखको बखान आयो । दानवी पाखण्डको भूख्खण्ड वणर्न आयो । उहिलेका पख्तून नेता खाँन अब्दूल गप्mफार खाँनको नाम बेवारिस रहे पनि तिनका अवतारको उखान घुमीफिरी यही हम्रो नेपालमा बखान छाँटेर आयो ।
दिल्ली बेइजिङ्गका साँड र तिनको जुधाइको रमितामा ताली ठोक्न विहारी बञ्जारा जमातको बाढ आयो । स्पेनको साँडेजुधाइ फासफुस भए पनि डीसी क्रेम्लिनको भालु जुधाइमा परेका बाच्छाहरूको कराइले मधूर सङ्गीत बनेर लाउके कानमा नयाँ तान्पुराको राग घन्कायो । तिनकुने मण्डलामा पाण्डाल सजाएर लीला मञ्चन गर्ने उखुकिसान, हलीहरुवा र मिटरव्याज पीडितका मागजति टाँङ अड्याएर थन्किए पनि त्यताहुँदी भन्किएका सञ्चारी झिँगा लामखुट्टेका तानामा गानाबजाना घन्किएर सुमधुर राग आयो । रागले अनुराग जन्माउने कुरा त वैरागीले समेत चाल पाएकै कुरा हो ।
यो ऊ भन्नु परेन, सब प्रकारका विकासे ब्राण्डको वैरोपैरो लाग्यो । नयाँ धान नयाँ गहूँ र नयाँ छ्वाली पराल पनि आयो । थरीथरी बिऊ उमार्ने ब्याडको प्रविधि आयो । ब्याड राख्ने हातहतियारसहितको नयाँ विधान लिएर प्राविधिक जमात आयो । अनि त झन् के के आयो आयो, त्यसलाई ओढाउँने नयाँ परिधान आयो । देशलाई ससाना प्रदेशमा भागबण्डा गरेर उपदेशअनुसार उपध्रो गर्ने र नारा जुलूश टायरदहन गर्ने खाले भाँडभैलो मच्चाउन दरकार पर्ने उच्च क्रान्तिको कानूनी विधान आयो । साथै देश प्रदेश ताकेर पालो फेरो शहिद बन्दिने फर्मान आयो । अनाचार पाल्ने सदाचार पखाल्ने अचारसंहितासहितको नयाँ संविधानसमेत पो आयो त । ंसविधान नै आइसकेपछि त झन दशगजाको आदानप्रदान गर्ने विधेयक पनि आयो !! फिरिङ्गीका धर्मान्तरणको काँध थापेर भार बोक्ने र पराईभाषामा डुबेर मातृभाषा र सनातन धर्मको खोइरो उतार्ने ढ्याङ्ग्रो आफैं ठोकिँदै र नगरा बज्दै आयो ।
जंगबहादुरे मुलुकी ऐनमा बिगार सुधार के के जाती भयो तर नजाती चैं भएन भन्छन् अजङ्ग बहादुरहरू । नारीस्वतन्त्रताका नाममा नौथरीका नौनाडी दरिए पनि नारीजति बुच्चा भए । दलित कमैया, हलिया, हरुवा चरुवाआदि सबै समस्याका एकमुष्ट समाधानका नगरा बजे !! दशलाख सडक छाप छरेर भए पनि तडक-भडक साथ टाउको विहिन गिँडहरूको डण्डीबियो खेलाउने सिङ्गो टुँडिखेल दाइजोमा आयो ! उपचारको हावा भरिएर भुक्क फुलेको बेलुन त भन्न मिल्ला नमिल्ला अहिलेको विकासयात्रालाई ? लाटोबुङ्गोका फुरौला त अवश्य नै उपमा दिन सकिन्छ । छिमेकी देशमा पाखुरालाई भनिन्छ कलाई । महिलाको कलाईमा चुरी, पुरुषकोमा घडी यही थियो कुनै बेला । अहिले त चुरी फुरी फुर्र्रर्र उड्यो । साउन नक्कली बनेर हरियो चुरी, लहँगा, टाउकोमा कलश मन मष्तिकमा गफसफ । यो आचार संहितामा अचार जस्तै मलमाल भएपछि कसलाई हुन्छ र होस ? बेहोसीको आश होसदारको त्राश । यही त छ आजको मदहोसीको सन्त्रास । छैन ! छैन !! छैन !!! को छनछनी मात्र होइन छमछमी नै छ । अवाक छन् विपक्ष । अवाक छन् सर्वपक्ष जनता जनार्दन । कारण छ यसको खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरिको सिकार । मूल यही चुम्बकीय शक्तिले तानिएको छ । सत्तापक्षको कुरा पाथि भरीभरी माथिनै मथिई सकिएको छ बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेको खप्परैमाथि थामी नसक्नु बाह्रमासे पहिरो छ ।
पहिरो त मजस्ता मनुवालाई मदानीले मथेर शिरमा राखिदिएको छ । म- अर्थात् महात्मा गान्धीका तीन वाँदरको एकै रुप अर्थात् गर्धन जोडिएको कुरा लाजै नमानी भन्नु नै पर्दछ । नभने पनि जति पर्दा लगाए पनि देखिँदो नै छ । अँ त यहाँनिर आएर अझ खुलस्त पार्नका निम्ति भन्नु नै परिरहेछ उदाहरणको आवरण चढाएर । सवैलाई थाहै छ, थाहा भएर पनि चासो नदिएर अबुझ बनिरहेका बेफुर्सदीका कत्ला टल्किने कायामा चाया परोस् सदा-सदा उनका शीरमा शनिको छाता नपरोस् । बिहानबेलुकी जाउलो पकाउन ताउलोमा अन्न नै परोस् कुअन्न चैं नपरोस् । राहुका हुंकारले तिनको सरसापटी व्यवहार चलोस् । सत्य त परिवर्तन र विकासका निकास राजपथमा स्वाट्ट भरिएर पट्ट फुटेका ढलका दुर्गन्धलाई सुगन्धमा सुँघ्ने महानगरपालिकाको दायरामा परोस्, नपरोस् । धोवीखोला झन झन फोहोर बन्दै गए पनि किनाराका घरजति नगपालिकाको ध्वंशप्रिय केतु दृष्टिमा सधै परिरहोस् ।
साँगुरा सडकमा दुवैतर्फका फुटपाथे पसल मित मित या दौँतरी रहोस् नरहोस्, पर्बाह नलिउँ । फुटपाथमा साइकल-बाइकले पैदल यात्रीका काँध चढोस् नचढोस्, अरुलाई अरु अरु कुरा चाहिन्छ । यो सत्य हेर्न तेस्रो नेत्र चाहिन्छ, चाहिन्छ । यस्तै यस्तै हिँड्ने पथगामी लिङ्गी, बेलिङ्गी नारिएर, छरिएर, छिल्लिएर, हेलिएर, भटभटेको भेट्रान आवाजलाई पनि नसुनिएर ध्वनि प्रदूषणलाई बेसन लड्डुझैँ ठानियोस् । नो पर्बाह, नो अब्जेक्सन । नो कम्लेन् । महानगरपालिका त थानका थान बथान बनेका खानपीन र गानाबजाना प्रतिनिधिले भरिभराउ भए पनि खाँटी प्रतिनिधित्व गर्ने मामिलामा लङ्गडो बनेको छ कि क्या हो ? खालि भत्काउने र जनता बेदखल गर्ने नगरपालिका नाउँको गाउँखाने कथाको भाँडो घाँडो बनी सकेकोले यसै मौकामा प्रतिनिधिका प्रतीक चारपाँच परालका बुख्याँचा ठड्याएर तिनमा धूप बत्ती चढाएर पुजारी बनिरहेको छ शासन । पुजारी भएपछि नैवेद्यमा चडेको हलुवा खान रोक्न कुन कानुनमा लेखिएको छ ? कुन संविधानमा छेकिएको छ ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































