साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरा कुरा, मलुवा बिचार

नो पर्बाह, नो अब्जेक्सन । नो कम्लेन् । महानगरपालिका त थानका थान बथान बनेका खानपीन र गानाबजाना प्रतिनिधिले भरिभराउ भए पनि खाँटी प्रतिनिधित्व गर्ने मामिलामा लङ्गडो बनेको छ कि क्या हो ?

Nepal Telecom ad

आयो रे ! आयो । लाम्पाते सुर्तीको कडा राग आयो । त्योभन्दा अझ कडा देशमा नयाँ जातको पर्चातन्त्र आयो, पर्चाभित्र गाँजा चरेस र जाँडभाँडमा लठ्ठिने अकबरे तन्त्रमन्त्र पनि आयो । त्यही मन्त्रको जपना गर्दै र रागेपाटे सपना उग्राउँदै बेगारीका गलगाँडको लर्को आयो । पछिपछि धुपौरेहरूको धूपधुवार धुवाउँने पावरदार धुपौरो आयो । धामीले शिरमाथि धुपौरो घुमाएर धुवाँ सुङाएपछि घटीबढी बोल्ने ग्याङको बोलकबोल संहिता आयो । त्यसको पालना गर्ने न गर्ने सबै प्रकारका बञ्जाराहरूको बञ्जीजम्प गर्ने लाइन आयो । लाइनभित्र हतार गरेर घुस्नेहरूको पौरखको बखान आयो । दानवी पाखण्डको भूख्खण्ड वणर्न आयो । उहिलेका पख्तून नेता खाँन अब्दूल गप्mफार खाँनको नाम बेवारिस रहे पनि तिनका अवतारको उखान घुमीफिरी यही हम्रो नेपालमा बखान छाँटेर आयो ।

दिल्ली बेइजिङ्गका साँड र तिनको जुधाइको रमितामा ताली ठोक्न विहारी बञ्जारा जमातको बाढ आयो । स्पेनको साँडेजुधाइ फासफुस भए पनि डीसी क्रेम्लिनको भालु जुधाइमा परेका बाच्छाहरूको कराइले मधूर सङ्गीत बनेर लाउके कानमा नयाँ तान्पुराको राग घन्कायो । तिनकुने मण्डलामा पाण्डाल सजाएर लीला मञ्चन गर्ने उखुकिसान, हलीहरुवा र मिटरव्याज पीडितका मागजति टाँङ अड्याएर थन्किए पनि त्यताहुँदी भन्किएका सञ्चारी झिँगा लामखुट्टेका तानामा गानाबजाना घन्किएर सुमधुर राग आयो । रागले अनुराग जन्माउने कुरा त वैरागीले समेत चाल पाएकै कुरा हो ।

यो ऊ भन्नु परेन, सब प्रकारका विकासे ब्राण्डको वैरोपैरो लाग्यो । नयाँ धान नयाँ गहूँ र नयाँ छ्वाली पराल पनि आयो । थरीथरी बिऊ उमार्ने ब्याडको प्रविधि आयो । ब्याड राख्ने हातहतियारसहितको नयाँ विधान लिएर प्राविधिक जमात आयो । अनि त झन् के के आयो आयो, त्यसलाई ओढाउँने नयाँ परिधान आयो । देशलाई ससाना प्रदेशमा भागबण्डा गरेर उपदेशअनुसार उपध्रो गर्ने र नारा जुलूश टायरदहन गर्ने खाले भाँडभैलो मच्चाउन दरकार पर्ने उच्च क्रान्तिको कानूनी विधान आयो । साथै देश प्रदेश ताकेर पालो फेरो शहिद बन्दिने फर्मान आयो । अनाचार पाल्ने सदाचार पखाल्ने अचारसंहितासहितको नयाँ संविधानसमेत पो आयो त । ंसविधान नै आइसकेपछि त झन दशगजाको आदानप्रदान गर्ने विधेयक पनि आयो !! फिरिङ्गीका धर्मान्तरणको काँध थापेर भार बोक्ने र पराईभाषामा डुबेर मातृभाषा र सनातन धर्मको खोइरो उतार्ने ढ्याङ्ग्रो आफैं ठोकिँदै र नगरा बज्दै आयो ।

जंगबहादुरे मुलुकी ऐनमा बिगार सुधार के के जाती भयो तर नजाती चैं भएन भन्छन् अजङ्ग बहादुरहरू । नारीस्वतन्त्रताका नाममा नौथरीका नौनाडी दरिए पनि नारीजति बुच्चा भए । दलित कमैया, हलिया, हरुवा चरुवाआदि सबै समस्याका एकमुष्ट समाधानका नगरा बजे !! दशलाख सडक छाप छरेर भए पनि तडक-भडक साथ टाउको विहिन गिँडहरूको डण्डीबियो खेलाउने सिङ्गो टुँडिखेल दाइजोमा आयो ! उपचारको हावा भरिएर भुक्क फुलेको बेलुन त भन्न मिल्ला नमिल्ला अहिलेको विकासयात्रालाई ? लाटोबुङ्गोका फुरौला त अवश्य नै उपमा दिन सकिन्छ । छिमेकी देशमा पाखुरालाई भनिन्छ कलाई । महिलाको कलाईमा चुरी, पुरुषकोमा घडी यही थियो कुनै बेला । अहिले त चुरी फुरी फुर्र्रर्र उड्यो । साउन नक्कली बनेर हरियो चुरी, लहँगा, टाउकोमा कलश मन मष्तिकमा गफसफ । यो आचार संहितामा अचार जस्तै मलमाल भएपछि कसलाई हुन्छ र होस ? बेहोसीको आश होसदारको त्राश । यही त छ आजको मदहोसीको सन्त्रास । छैन ! छैन !! छैन !!! को छनछनी मात्र होइन छमछमी नै छ । अवाक छन् विपक्ष । अवाक छन् सर्वपक्ष जनता जनार्दन । कारण छ यसको खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरिको सिकार । मूल यही चुम्बकीय शक्तिले तानिएको छ । सत्तापक्षको कुरा पाथि भरीभरी माथिनै मथिई सकिएको छ बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेको खप्परैमाथि थामी नसक्नु बाह्रमासे पहिरो छ ।

पहिरो त मजस्ता मनुवालाई मदानीले मथेर शिरमा राखिदिएको छ । म- अर्थात् महात्मा गान्धीका तीन वाँदरको एकै रुप अर्थात् गर्धन जोडिएको कुरा लाजै नमानी भन्नु नै पर्दछ । नभने पनि जति पर्दा लगाए पनि देखिँदो नै छ । अँ त यहाँनिर आएर अझ खुलस्त पार्नका निम्ति भन्नु नै परिरहेछ उदाहरणको आवरण चढाएर । सवैलाई थाहै छ, थाहा भएर पनि चासो नदिएर अबुझ बनिरहेका बेफुर्सदीका कत्ला टल्किने कायामा चाया परोस् सदा-सदा उनका शीरमा शनिको छाता नपरोस् । बिहानबेलुकी जाउलो पकाउन ताउलोमा अन्न नै परोस् कुअन्न चैं नपरोस् । राहुका हुंकारले तिनको सरसापटी व्यवहार चलोस् । सत्य त परिवर्तन र विकासका निकास राजपथमा स्वाट्ट भरिएर पट्ट फुटेका ढलका दुर्गन्धलाई सुगन्धमा सुँघ्ने महानगरपालिकाको दायरामा परोस्, नपरोस् । धोवीखोला झन झन फोहोर बन्दै गए पनि किनाराका घरजति नगपालिकाको ध्वंशप्रिय केतु दृष्टिमा सधै परिरहोस् ।

साँगुरा सडकमा दुवैतर्फका फुटपाथे पसल मित मित या दौँतरी रहोस् नरहोस्, पर्बाह नलिउँ । फुटपाथमा साइकल-बाइकले पैदल यात्रीका काँध चढोस् नचढोस्, अरुलाई अरु अरु कुरा चाहिन्छ । यो सत्य हेर्न तेस्रो नेत्र चाहिन्छ, चाहिन्छ । यस्तै यस्तै हिँड्ने पथगामी लिङ्गी, बेलिङ्गी नारिएर, छरिएर, छिल्लिएर, हेलिएर, भटभटेको भेट्रान आवाजलाई पनि नसुनिएर ध्वनि प्रदूषणलाई बेसन लड्डुझैँ ठानियोस् । नो पर्बाह, नो अब्जेक्सन । नो कम्लेन् । महानगरपालिका त थानका थान बथान बनेका खानपीन र गानाबजाना प्रतिनिधिले भरिभराउ भए पनि खाँटी प्रतिनिधित्व गर्ने मामिलामा लङ्गडो बनेको छ कि क्या हो ? खालि भत्काउने र जनता बेदखल गर्ने नगरपालिका नाउँको गाउँखाने कथाको भाँडो घाँडो बनी सकेकोले यसै मौकामा प्रतिनिधिका प्रतीक चारपाँच परालका बुख्याँचा ठड्याएर तिनमा धूप बत्ती चढाएर पुजारी बनिरहेको छ शासन । पुजारी भएपछि नैवेद्यमा चडेको हलुवा खान रोक्न कुन कानुनमा लेखिएको छ ? कुन संविधानमा छेकिएको छ ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
0
Would love your thoughts, please comment.x
()
x