साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविहरूलाई नेताको अर्ती

बरु मेरा वरिपरि झुम्मिने हनुमानहरूको बखान गर्नू बरु मेरा पर्चा, घोषणापत्र र भाषणहरूको बखान गर्नू नेताले कविहरूलाई भन्यो- “कविता लेख्दा अबदेखि नेताहरूको खिसिट्युरी नगर्नू ।

Nepal Telecom ad

नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूलाई गाली नगर्नू ।”

बरु मेरो आलिशान महलको प्रशंसा गर्नू
बरू मेरो करोडौँ पर्ने गाडीको प्रशंसा गर्नू
बरु मेरो ब्याङ्क ब्यालेन्सको प्रशंसा गर्नू
बरु मेरो त्याग, तपस्या र बलिदानको प्रशंसा गर्नू
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको उछित्तो नकाढ्नू ।”

बरु मेरा रखौटीहरूको सुन्दरताको बखान गर्नू
बरु मेरा सन्तानहरूको व्यापार, चहलपहल र उछलकूदको बखान गर्नू
बरु मेरा वरिपरि झुम्मिने हनुमानहरूको बखान गर्नू
बरु मेरा पर्चा, घोषणापत्र र भाषणहरूको बखान गर्नू
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको खिसिट्युरी नगर्नू ।”

बरु मैले पालेका जखमले कुकुरहरूको तारीफ गर्नू
बरु मैले लगाएका सुट, पाइन्ट र टाईको तारीफ गर्नू
बरू मैले पिउने गरेका विभिन्न झोल पदार्थहरूको तारीफ गर्नू
बरू मैले चुसेर फालेका हड्डीहरूको तारीफ गर्नू
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको खोइरो नखन्नू ।”

हिजो तपाईंहरू र म आन्दोलनमा सँगै थियौँ
हिजो तपाईंहरू र म अराष्ट्रियतत्वको नाममा सँगै वारेन्टेड भएका थियौँ
हिजो तपाईंहरू र म जेलमा सँगै परेका थियौँ
हिजो तपाईंहरू र म झुपडीमा सँगै बसेर गुन्द्रुक, ढिँडो र खोले खाएका थियौँ
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको धज्जी नउडाउनू ।”

समयको खेल हो
तपाईंहरू कवि हुनु भो
म नेता भएँ
मेरो काम भनेको राजनीति गर्ने हो
तपाईंहरूको काम भनेको कविता लेख्ने हो
नेताले कविहरूलाई भन्यो-
“कविता लेख्दा अबदेखि नेताहरूको उछित्तो नकाढ्नू
कविता लेख्दा अबदेखि नेताहरूको खिसिट्युरी नगर्नू
कविता लेख्दा अबदेखि नेताहरूको खोइरो नखन्नू
कविता लेख्दा अबदेखि नेताहरूको धज्जी नउडाउनू
कविता लेख्दा अबदेखि नेताहरूलाई गाली नगर्नू ।”

०००
२०८० वैशाख १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x