
वर्तमानमा भानुस्मृति
हे भानो ! यतिखेर सङ्गति ढली, भाषा भयो घाइते । हिज्जे अङ्ग अपाङ्ग दुर्बल गरी, नाच्छौँ कयौँ काइते ॥ झर्रा देशज शब्द मास्न कसिए, के भन्नु खै बुज्रुक ? भाषा संस्कृति छाँस्न उद्यत भई, सोझ्याउँछन् घुच्चुक ॥

बद्रीप्रसाद दाहाल
नेपाली कविकुञ्जका मखमली, जाई जुएली तिमी ।
तिम्रा श्लोक घनक्क घन्किन पुगी, मुस्काउँछिन् रे जिमी ॥
भाषावाङ्मय व्योेमका चहकिला, साक्षात् तिमी भास्कर ।
रोप्यौ राष्ट्रिय एकता मुलुकमा, हाम्रा तिमी भार्गव ॥
॥१॥
चाम्रा दुष्ट र भ्रष्ट उग्र कपटी, जो कर्मचारी थिए ।
भन्थे भोलि सधैं दलेर जनता, अत्यन्त स्वार्थी थिए ॥
नीचा कर्महराम दुर्जन कथा, लेखेर बाटो लियौ ।
तिम्रा साहस चुम्दथ्यो हिमचुली, संस्कार नौलो दियौ ॥
॥२॥
हे भानो ! यतिखेर सङ्गति ढली, भाषा भयो घाइते ।
हिज्जे अङ्ग अपाङ्ग दुर्बल गरी, नाच्छौँ कयौँ काइते ॥
झर्रा देशज शब्द मास्न कसिए, के भन्नु खै बुज्रुक ?
भाषा संस्कृति छाँस्न उद्यत भई, सोझ्याउँछन् घुच्चुक ॥
॥३॥
शिक्षाका पगरी गुथेर अहिले, पण्डा छँटाए कयौँ ।
शोधार्थी सतही बनेर किन हो, कुर्लीरहन्छन् सयौँ ॥
यस्ता बेथितिका विरुद्ध कलमी स्रष्टा र प्राध्यापक ।
भाषा वाङ्मय भानुकै किरणमा, चम्काइद्यौ लेखक ॥
०००
धादिङ