कविराज घिमिरेभानु आऊ मिलाऊ
घाँसी तिम्रा गुरु हुनगए धन्न सोती हुनाले । गाली बर्से पररर अहो ! चोट केही दिनाले ॥ नेपालीको सुपथ दिल होस् भानु आऊ समाऊ भाषा हाम्रो खजमज भयो भानु आऊ मिलाऊ ॥

कविराज घिमिरे
तिम्रो हामी अतुल महिमा लेख्न सक्छौँ असाध्यै ।
गर्दै आयौ सहजगतिको काव्य विस्तार ज्यादै ॥
नेपालीका प्रथम कवि हौ विद्वतामा महान् छौ ।
उल्था गर्दै कठिन पदका सार खिच्तै दिलायौ ॥१
को बुझ्थे संस्कृत जटिलता रामका दिव्य कार्य ।
को भन्थे ती लक्षुमन कथा राम हुन् उच्च आर्य ॥
सीताजीका कहर दिन ती गन्नसक्ने थिएनौँ ।
लङ्काजस्तो सहर महिमा बुझ्नसक्ने थिएनौँ ॥२
पढ्छौँ रामायण खरर जो भन्नसक्छौँ मुखाग्रे ।
बुझ्छौँ सारा अतिशय कथा राक्षसीका मजाले ॥
कस्तो हो रावण अति सुरो लान्छ सीता छलेर ।
मैमत्ता हो असुर ननिको मर्छ आफैँ ढलेर ॥३
गाल्दा गाल्दा रसमय कथा पूर्ण छन् भाष्य गर्दा ।
कस्तो तिम्रो सघन बल हो ज्ञान आयो निचोर्दा ॥
तिम्रो आभा गगन तलमा भानु चम्किन्छ नित्य ।
भाषाप्रेमी मन मुटु दियौ भानु जिउन् अनन्त ॥४
तिम्रा हुन्छन् अति सुगठिला स्वच्छ साहित्य चोखा ।
शिक्षा दिन्छौ सबकन तिमी छन्द आफैँ छ शोभा ॥
मोतीजस्ता प्रिय मन हुँदा मित्रको स्वाद पायौ ।
तिम्रो चर्चा घरघर पुगी सभ्य संस्कार लायौ ॥५
घाँसी तिम्रा गुरु हुनगए धन्न सोती हुनाले ।
गाली बर्से पररर अहो ! चोट केही दिनाले ॥
नेपालीको सुपथ दिल होस् भानु आऊ समाऊ
भाषा हाम्रो खजमज भयो भानु आऊ मिलाऊ ॥६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































