साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्तलाई चिठी

कविता सुनाएर, दुःख बिलौना पोखेर तपाईँले मुद्दा जिते जस्तो जमाना अहिले छैन । अहिले त विधिको शासन चलेको हुँदा थोरै गिदी हुनेले मुद्दा हारजितको केही पत्तै पाउँदैन । जित्नेले सधैँ जितिरहन्छन् हार्नेले सधैँ हारिरहन्छन् ।

Nepal Telecom ad

राजकुमार लामिछाने

आदरणीय कविज्यू,
साहित्यिक अभिवादन एवम् जन्मदिनको सम्झना ।

मेरा घरपट्टिका हजुरबाले पितालाई र मावलीपट्टिकी हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा आमाले पनि मलाई यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरीरसँग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागिरहेको छ । त्यसैले कच्चा उमेरकोे बच्चादेखि नै हजुरको साहित्यिक कृतिसँग मैले बडो प्रीति लगाएको छु । हजुरका साहित्यिक रचनाहरू सबै बेजोडका छन्, तथापि कविता भने मलाई असाध्यै मन पर्दछ । त्यसैले सर्वप्रथम हजुरकै कविताबाटै हजुरप्रतिको सम्झनाको पोको फिँजाउने धोको गरेको छु ।
बिन्ति डिट्ठा बिचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्‍या झैँ अनि पछि दिन दिन् भन्दछन् भोलिभोली ।
कि ता सक्दिन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
भोलीभोली हुँदैैमा सब घर बितिगो बक्सियोस् आज झोली ॥

उतिबेलाका डिट्ठा र बिचारीले गरेका कुरा हजुरलाई पूरा थाहा भएकोले यो कविता फुरेको हुनुपर्दछ । राणा शासनको समयमा रचना गर्नु भएको यो कविताले त्यति बेला हुने गरेको बेथितिको उजागर गरेकोले पञ्चायत कालभरि यसले असाध्यै चर्चा पाएको थियो । डिट्ठाले मुद्दा छिन्थे भने बिचारीले राय बझाउँथे रे । ठुलै पद भएर होला दसैँमा टीका लगाउँदा मान्यजनहरूले आसिक दिँदा बाबु सरकारी जागिर खाएस् डिट्ठा बिचारी पद पाएस् भन्थे रे ! तर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा यी पदहरू मध्ये डिट्ठा भन्ने पद चाहिँ तामेलदारको उपाधि पाएर अहिले म्याद बोकेर गाउँघरमा गिट्ठा खोजेर खाने अवस्थामा पुगेको छ भने बिचारीको पद चाहिँ निचोरनाचर गरी खाई नै सकेका छन् । मतलब सो पद खारेज भैसकेको छ । यदि हजुरलाई यस कुराको जानकारी नभयाको भया जानकारी गरायाको हुँ ।

कविज्यू, बाचुन्जेली अपमान मरेपछि सम्मान गर्ने नीति अहिलेसम्म जस्ताको तस्तै छ । सत्ताका रोगीदेखि भत्ताका भोगीहरू कुर्सीकै लागि लडिरहेका छन् । नेपाली साहित्यमा कसले कति योगदान गरेको छ भनेर सोच्ने यहाँ कसैलाई फुर्सत छैन । अघिपछि नभए पनि मरणोपरान्त यस्तै जन्मदिन तथा अन्य कुनै सभा समारोहमा भने प्रशंसा गर्दै भावुक भएर “उहाँ महान् हुनुहुन्थ्यो, उहाँलाई आदिकवि मात्र होइन पूरै कवि भने पनि केही फरक पर्दैन, नेपाली साहित्यका चम्किला तारा जो अहिले स्वर्गलोक निवासी भए पनि यस लोकमा पुर्‍याएको योगदानले उहाँको नाम नेपाली साहित्यको आकाशमा सधँै चम्किरहने छ । परलोकमा समेत उहाँको साहित्यिक सिर्जनाले यमलोक नै हल्लाओस् भन्ने कामना गर्दछौँ” भन्दै तपाईं जस्ता मूर्धन्य साहित्यकारहरूको सम्मान हुने संस्कारको तिरस्कार भैसकेको छैन । यस वर्षको गणतन्त्र दिवसको अवसरमा समेत धेरैलाई मरणोपरान्त पुरस्कृत गरियो । त्यसैले न मलाई बिर्सिएका छन् कि भनेर हजुरले चिन्ता गर्नु पर्दैन । फेरि यहाँका कतिपय कविताको भाव पनि पछिकै लागि केहि गर्नुपर्छ भन्ने छ नि, हेर्नोस् त-
भर्जन्म घाँस-तिर मन्-दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुआ खनायो ।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ॥
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जो धन र चीजहरू छन् घरभित्र नै छन् ।
यस् घाँसिले कसरि आज दियेछ अर्ती,
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ॥

यो कविताको निचोडलाई निचोरेर हेर्ने हो भने पनि पछि नाम राख्नकै लागि केही गर्नुपर्छ भन्ने बुझिन्छ नि हैन र ? घाँसीले खनाएको कुवा मासिएको छैन तथापि पानी खान भने अहिले गाउँगाँउमा धारा आइसकेको हुुनाले कुवाको अलि बेवास्ता जस्तो भएको छ । घाँसीले कीर्ति राख्न खनाएको उक्त कुवामा पानी भर्न जाँदा कतिले मायाप्रीति लगाएर घरजम गरेका थिए होलान् । अहिले ती घाँसीसँग तपाईँको भेटघाट हुन्छ हुँदैन, स्वर्गमा पनि यमराजले घाँस काट्न लगाएका छन् कि ? अरु कुनै काम गर्दछन् । भेट भएमा उनीलाई मेरो र नेपालका सम्पूणर् घाँसीहरूको तर्फबाट अभिवादन सुनाइदिनु होला ।

अनि तपाईंका छिमेकी मित्र गिरिधारी भाटको हालखबर के छ ? एकै ठाउँमा हुनुहुन्छ कि अलग-अलग ? कतै तपाईंलार्ई त्यहाँ पनि दुःख दिने गरेका त छैनन् नि ? तपाईं साहित्यकार भएको हुँदा राम्रै स्थान पाउनु भएको होला अनि भाट छुल्याहा र मुल्याहा भएकोले पक्कै नराम्रो स्थानमा यमराजले राखेका होलान् भन्ने हाम्लाई लागिरा’छ । नेपालमा जस्तो “सोझालाई सुली चोरलाई चौतारो” त्यहाँ पक्कै हुँदैन होला । यमराज निकै कडा छन् निस्पक्षसँग निसाफ गर्दछन् भन्ने सुनिएको छ । नेपालमा कस्तो निसाफ हुन्छ भन्ने कुरा तपाईँलाई मुद्दा लागेको हुँदा थाहा भएकै कुरा हो । कविता सुनाएर, दुःख बिलौना पोखेर तपाईँले मुद्दा जिते जस्तो जमाना अहिले छैन । अहिले त विधिको शासन चलेको हुँदा थोरै गिदी हुनेले मुद्दा हारजितको केही पत्तै पाउँदैन । जित्नेले सधैँ जितिरहन्छन् हार्नेले सधैँ हारिरहन्छन् ।

स्वर्गको कुरा गर्दा इन्द्रको बखान छुट्यो भने सो कथा अपूणर् हुन पुगे झैँ हजुरको प्यारो अमरावती कान्तिपुरी नगरीको कुरा नगर्दा यो सन्देश पनि अधुरो हुन सक्छ । त्यसैले सानो प्रसङ्ग कोट्याउन लागिरहेको छु । कान्तिपुरीका बाबु साहेबको सो नगरीबाट आफ्नो पगरी खोसिएकोले अन्तै डेरा सरेका छन्, अहिले उनी भन्दै छन्-
मेरा ललाटमा के लेखिदिया भावी भाग्या बनाया खोटो ।
अरु नै अघि सन्र्या भया अहिले देखाउन्या मछिन्द्रको भोटो ।
छोरा मोरा बन्या सब् मतलब छोडी दिया क्या भया हे हरि ।
छोड्नु पन्र्या भया मैले अब यस् अमरावती कान्तिपुरी नगरी ॥

पशुका पति चुपचाप बसी मकन नियाल्दो भया ।
जहान काखी च्यापी धरधरी रुँदै नागार्जुन् सरी गया ।
सबै दलबल मिली एक भै कन छल गरि लिया
मेरा नारायनहिटी दरवार म्युजियममा परिणत् गरिदिया ॥

अरु सब ठिकै छ । तपाईंले बालकाण्ड, सुन्दर काण्ड, युद्धकाण्ड जस्ता अनेकौँ काण्डहरूको रचना गरी रामायण नै तयार गर्नु भएको हुँदा त्यस्ता काण्डहरूलाई जीवन्त राख्न यहाँ १० वर्षे युद्धकाण्ड, दरबार काण्ड तथा अनगिन्ती थुप्रै काण्डहरू भैरहेका छन । उक्त काण्डहरू देख्ने धेरै छन् तर तपाईंले जस्तो लेख्ने चाहिँ कोही छैनन् । तपाईंले पितामह श्रीकृष्ण आचार्यसँगै बनारस बसेर विशेष शिक्षा हासिल गर्नु भएको थियो भने हाम्रा राजनीतिका पण्डितहरूले पनि दिल्लीबाट नै दीक्षा लिइरहेका छन् ।

नारीहरूले कस्तो पहिरन लगाउनु पर्ने हो भन्ने सम्बन्धमा तपाईँले बधूशिक्षामा स्पष्टसँग नलेखिदिनु भएको र हाल नेपालमा महँगीले सताएको हुँदा मितव्ययिता समेतलाई ख्याल गर्दै महिलाहरूले पनि छोटा र पातला कपडा लगाउन थालेका छन् । गुडुल्किएको गनाउँने जनै समातेर गोप्यसँग गायत्री मन्त्र गुनगुनाउनु पर्ने जमाना गैसकेको छ । अहिले त एफएम, रेडियो तथा टेलिभिजनहरूबाट आफंै बज्ने गर्दछ ।

अन्त्यमा, एउटा खुसीको खबर सुनाउन चाहन्छु । हाम्रो हेटौँडा नगरीको पूर्वतर्फ गढी गाउँकोे भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा तपाईंको सालिक राखिएको छ । सालिकमा चराहरूले बिस्ट्याउने, टाउकैमा आएर फोहोर खुट्टाले कुल्चिने, चुच्चोले दल्ने जस्ता नचाहिँदा काम गर्दा तपाईँलाई दुःख लाग्नु स्वभाविकै हो । अब त्यस्ता कार्यहरू हुन नदिनको लागि तपाईंलाई साहित्यको मालिक ठानी सालिक ठड्याउन सक्रिय हुनुभएका बेजोड व्यङ्ग्य लेख्ने, साहित्यमै जीवन देख्ने, तपाईँप्रति साह्रै निष्ठा राख्ने आरसी रिजाललाई विष्टा समेत सफा गर्ने जिम्मा दिइएको छ । आजलाई यति ।

आगे भेटमा । उतै यमराजको गेटमा ।

उही तपाईंको
लामिछाने

०००
हेटौंडा
‘बिएन बाइलाइन नेपाल’
२९ असार २०७७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x