साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवेकशील मानिस

अरूसँग लिन पाउँदा होइन अरूलाई दिन पाउँदा रमाउनु यो त म लाटाको भाषा ठान्छु मलाई त अरूको दुःखमा पो हाँस्न मन पर्छ अरूको मेहनतमा आफ्नो सपना गाँस्न मन पर्छ ...

Nepal Telecom ad

युवराज भण्डारी :

पाहुना भएर गएको बेला
अर्काको घरमा पनि
आफ्नै घरको नियम खोज्छु
ठाउँअनुसार आफूलाई ढाल्नुभन्दा
केही न केही खोट निकाल्न माहिर नै छु
अरूलाई सुन्दा
समय बरबाद गरेझैँ लाग्छ
कसैबाट सिक्नुपर्‍यो कि
कनसिरीका रौँ तातेर आउँछ
सबैभन्दा आनन्द
गफ चुटेर सल्लाहकार कहलिँदा

आफ्नो प्रशंसा आफैँ गर्दा
अरूलाई गराउँदा लाग्छ
मेरो स्वभाव नै यस्तै छ
मलाई यस्तै समझ प्यारो लाग्छ
किनकि म विवेकशील मानिस हुँ ।

खेलको नियम त
आफूलाई फाइदा हुँदा सोध्ने हो
अनुशासनको डोरीले त
विपक्षी टिमलाई बाँध्ने हो
मलाई खेलको नाममा अरूलाई पछार्नु छ
अझ भनूँ भने
मलाई जसरी भए पनि जित्नु छ
सबैभन्दा खुशी अरूलाई हराउँदा मिल्छ
मेरो स्वभाव नै यस्तै छ
मलाई यस्तै समझ प्यारो लाग्छ
किनकि म विवेकशील मानिस हुँ ।

गुनासो गर्नु अरूमाथि दोष थोपर्नु
मलाई औधी मन पर्छ
म चन्द्रमाको शीतल देख्ने कवि नयन होइन
जूनमा दागमात्र देख्ने चतुर नजर हुँ
झूटमा सत्यको जलप लगाउने
कुटिल अधर हुँ
कसैको गुण खोजीखोजी राम्रो किन भनूँ
भन्न त पर जाओस्
म अरूको राम्रो देख्न पनि सक्दिनँ
आफू समान अरूलाई देख्ने भूल मबाट हुँदैन
मेरो जिम्मेवारी ?
अहँ म देख्दिनँ
म जेसुकैमा, जोसुकैमा अधिकार देख्छु
अरूलाई सम्मान गर्ने भूल मबाट हुँदैन
मेरो स्वभाव नै यस्तै छ
मलाई यस्तै समझ प्यारो लाग्छ
किनकि म विवेकशील मानिस हुँ ।

हरेक जीव-जीवात्माको अस्तित्व स्वीकार गर्नु
आफू बाँच्नु र अरूलाई बाँच्न मद्दत गर्नु
अरूसँग लिन पाउँदा होइन
अरूलाई दिन पाउँदा रमाउनु
यो त म लाटाको भाषा ठान्छु
मलाई त अरूको दुःखमा पो हाँस्न मन पर्छ
अरूको मेहनतमा
आफ्नो सपना गाँस्न मन पर्छ
छिमेकीको घरमाथिको आकाशसँग
आफ्नो घरमाथिको आकाश तुलना गर्दै
उसको आकाशमा
कालो बादल छिरेको हर्न मन लाग्छ
उसको घाम बाटो बिर्सेर
मेरै आँगनमा झुल्केको मन पर्छ
तुलना नगर्नू
ईर्ष्या  नगर्नू
जे छ, त्यसैमा सन्तुष्ट रहनु
यो सब मलाई मूर्खहरूको पुराण लाग्छ
अरूको भलो गरे आफ्नो पनि भलो हुन्छ
स्वर्ग, नर्क पृथ्वीमा नै छ भन्ने म मान्दिनँ
मेरो स्वभाव नै यस्तै छ
मलाई यस्तै समझ प्यारो लाग्छ
किनकि म विवेकशील मानिस हुँ ।

०००
टोरन्टो, क्यानडा
(प्रकाशोन्मुख कवितासङ्ग्र्रह ‘अर्को कर्नाली’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x