विश्व शाक्यम्याउ, ढ्याउ मिलेर भ्याऊँ भाले
राजतन्त्र मासिएपछि देश बन्छ भनेर थुप्रै ज्योतिष पण्डितहरूले भविष्य फलाक्ये यस नेपाल भन्ने देशबाट राजा लखेटिएका पनि चार पाँच वर्ष त भए । शान्ति सम्झौता भएको पनि त्यस्तै भयो ।

विश्व शाक्य :
अचेल सहमतिको कुराको मिति सकिएको जस्तो छ । हाम्रा पर्धानमन्तरी झल्लुनाथजी जाँडपानी त खाँदैनन् भन्थे । तर उनलाई जाँडपानी खानेको भन्दा कम लत सहमतिको लागेको थिएन। बिहान उठे देखुन्ट बेलुकी नगुडुल्किदासम्म ‘सहमति’ रटेको रट्दै गर्थे । सहमतिको विकल्पै देख्तैनथे । अचेल त उनको सहमति ठेउवा हराए पो हराउन पुगेछ । कता गो गो सहमति विचरो । सहमति सहमति भनेर कराम्दा कराम्दै आखिरां पुष्टकोमल पडितले न्वारानां गुरुमन्त्र फुकेझैँ झल्लुनाथजीका कानाँ के मन्त्र फुकिद्याथे कुन्नि उनी त सहमति च्वाट्टै बिर्सेर ठ्याम्मै पर्धानमन्तरी पो भइराख्या । क्या बात मन्त्र फुक्नु त फुक्नु यस्तरी पो फुक्नु ।
अचेल बन्दुकको लत छोडिएर सहमतिको लत त बाउरामजीलाई लाग्याजस्तो छ फेरि । उनलाई कुनचाहिँ पण्डितले कान फुक्या हुन् कुन्नि ? भोलि त बाउराम पनि आरामसँग पर्धानमन्तरी भैराख्या रे के ? हाम्रा पुष्टकोमल पण्डितचाहिँ अलिबेसी पुष्टै हुनुभा हो कि क्या ? नत्र त उनी ढिकुर पोखरीका मचाहिँ कमलपोखरीको । उनी अँधेरी खोलाको जङ्गल ढिकुर मार्ने । म चाहि कमलपोखरीमा माछो मार्ने । उनी ढिकुर हान्दाहान्दा देशै हान्ने भए म भने माछो चिप्लिया झैं चिप्लिया चिप्लियै । क्या बात । तकदीर भनेको त यस्तो पो त ?
सहमति सिहमति खोलखोलै ह्यायी भएपछि अचेल बल्ल देश विकासको रन्को नेताहरूलाई लाग्याजस्तो छ । हुन त उनताका राजा भनाउँदा वीरेन्द्र शाहलाई पनि देश बनाउने रन्को नलागेको कहाँ हो र ? उनले पनि शान्ति नभई देश बन्दैन भनेर देशलाई ‘शान्ति क्षेत्र’ घोषणा गरेका थिए । परपरका ठूलासाना देश सबैले शान्तिक्षेत्रको मान्यता दिए । दायाँबायाँ कुम ठेलेर बसेका देशले रत्तीभर सुनेका होइनन् । उनीहरूले सुने पनि नसुनेझैँ अरेर बसिदिए के लाग्यो, बिचरा । यस देशलाई शान्तिक्षेत्र बनाउने र देशको आर्थिक विकास गर्ने सपनासँगै वीरेन्द्र शाह ढ्याइँढ्याइँ खाएर सकिए । उनको पार्थिव शरीर त शान्त भयो, तर देश ?
राजतन्त्र मासिएपछि देश बन्छ भनेर थुप्रै ज्योतिष पण्डितहरूले भविष्य फलाक्ये यस नेपाल भन्ने देशबाट राजा लखेटिएका पनि चार पाँच वर्ष त भए । शान्ति सम्झौता भएको पनि त्यस्तै भयो । सतीको सराप परेको यस देशाँ शान्तिको पनि सराप पर्या रछ कि क्या कुन्नि, शान्ति त आउने नै होइन । शान्तिशान्ति भन्दा भन्दै फेरि कताबाट कसले ढ्याइँ ढ्याइँ गर्ने हो, थाहा पत्तै छैन ।
सत्यसत्य, धरोधर्म । अचेल यस फुटया आँखालाई शान्तिको नामै लिन मन लाग्या छैन । घरकी शान्तिले त कोकोहोलो गरेकी छे छे, देशकै शान्तिको पनि यो बिजोग भन्या ? कस्तो दिक्क । आ… यो शान्ति भन्ने त हात्तीको देखाउने दाँतजस्तो मात्र रहेछ । शान्तिशान्ति भन्ने, भित्रभित्रबाट विमति राख्नेलाई झ्याक्ने अनि आफ्नो हात जगन्नाथ गरेर देश हाँक्ने, यस्तो पो हुँदो रहेछ शान्ति । त्यही भएर पो पर्धानमन्तरी, अर्थमन्तरी, गृहमन्तरी, स्थानीय विकास मन्तरी भनेसी हुरुक्कै हुँदा रहेछन् नेताहरू । क्या बात ? अब त देशको विकास हुने नै भयो नि । यता हेरे म्याउ उता हेरे ढ्याउ, क्या मज्जा । म्याउ, ढ्याउँ मिलेर भ्याऊँ भाले ।
०००
११ चैत २०६७
फुट्या आँखा (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































