दुष्यन्त भट्टराईलाग्छौ तिमी ईश्वरझैँ मलाई
मान्छे स्वयम् जे पनि भन्न सक्छ सत्कर्मले ईश्वर बन्न सक्छ बन्यौँ भने सेवक दु:ख पर्दा भेटिन्छ स्वर्गाश्रम भोलि मर्दा ॥ थियौ महासागर काव्यभित्र बग्यौ नदी अक्षरमा पवित्र यात्री बन्यौ जीवन चैत्यभित्र देखाउँदै मानिस यो विचित्र ॥

दुष्यन्त भट्टराई :
लक्ष्मी उठ्यौ काव्य विधान बुन्दै 
सौभाग्य शब्दाक्षरले उधिन्दै
लेख्यौ नयाँ काव्य सुधा मिलाई
स्वदेशको माथ उँचो बनाई ॥१॥
संस्कार लेख्यौ समभाव लेख्यौ
आत्मा हुँडल्ने मनभाव लेख्यौ
गर्यौ मुनाका मनका बयान
शकुन्तलाका नयनाभिराम ॥२॥
तिम्रा कथामा जब पस्न पाएँ
आफू स्वयं पात्र बनेँ हराएँ
शकुन्तला जीवनले रुवायो
सुलोचनाले मन धर्मरायो ॥३॥
मान्छे स्वयम् जे पनि भन्न सक्छ
सत्कर्मले ईश्वर बन्न सक्छ
बन्यौँ भने सेवक दु:ख पर्दा
भेटिन्छ स्वर्गाश्रम भोलि मर्दा ॥४॥
थियौ महासागर काव्यभित्र
बग्यौ नदी अक्षरमा पवित्र
यात्री बन्यौ जीवन चैत्यभित्र
देखाउँदै मानिस यो विचित्र ॥५॥
संज्ञानको सौरभ मार्गलाई
बताउँदै हेर समाजलाई
बाँच्यौ तिमी पर्वत दु:ख देखी
हाँस्यौ तिमी हर्ष कतै नलेखी ॥६॥
जन्म्यौ तिमी मानिस रूप पाई
लाग्छौ तिमी ईश्वरझैँ मलाई
सुकाव्यका पारस रत्नलाई
श्रद्धाञ्जली यो कविता सुनाई ॥७॥
०००
मेचीनगर, झापा
हाल : बेलायत
Subscribe
Login
0 Comments
Oldest







































