छविलाल आचार्यप्याकुलीको बिहे
त्यसैले त चुल्ठी समाइ, घर निकाला गरे । माइतमा जा भनेछन् आउने होली भरे ॥ बोल्दिनथी घुसघुसे, रै छे छोरी हावा । दुवै हात कन्चेटमा, प्याकुलीका बाबा ॥

छविलाल आचार्य :
अनमेल विवाह हटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २ 
परालको टौवा देखाइ, बिहे गरिदिन्थे ।
बाध्यतामा हाँसो खुसी, सबै साटिदिन्थे ॥
आजकल कारसँग, बिहे हुन थाल्यो ।
सक्नेले त इज्जत टाल्यो, नसक्नेले फाल्यो ??
नसक्नेले ऋण काड्यो, मन्मा आगो बाल्यो ।
टपर्टुइँया जो छ उस्ले, घुस खान थाल्यो ॥
देखासिकी गर्नै पर्छ ? नगरेर हुन्न ?
फट्याई र ठगीको नै, थाले जाल बुन्न ॥
अनमेल विवाह हाटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २
प्याकुलीको घर्मा आज, टिकोटालो छ रे !
बाह्र सय जन्तीलाई, निम्तो भयो अरे ॥
आठ जोर गर्दुवा र, कार दिने भए ।
घर धितो राखेर नै, ऋण खोज्न गए ॥
दुलहीका साथी सङ्गी, कानेखुसी गर्छन् ।
नखोल्दिनु भित्री कुरा, जे पर्ने हो टर्छन् ॥
डकार्ने र खकार्नेको, नाता जोडिने भो ।
लुकीछिपी लाको माया, अब तोडिने भो ॥
अनमेल विवाह हटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २
जग्जगी र बग्बगीको, बिहे हुने भयो ।
प्याकुलीको व्यथा अर्कै, धोको त्यसै रह्यो ॥
क्याटरिङ्ले खाना तोक्यो, बाह्र सय रेट्मा ।
आधा खाना गलैँचामा, आधा खाना पेट्मा ॥
बरियात अघि बढ्यो, दुलहीको घर्मा ।
कस्ले त्यहाँ बुझिदिने, दुलहीको मर्म ॥
कन्यादान भइसक्यो, दुलाह त छक्क ।
पेटतिर दृष्टि छैन, आँखा आँखा मख्ख ॥
अनमेल विवाह हटाइदेऊ, सामन्तीलाई नौ डाँडा कटाइदेऊ २
टिन्टी मिन्टी नर्सिङ्गे र सनाइको बाजा ।
प्याकुलीको मन अन्तै, बा ले भन्छन् जा जा ॥
मुटुभित्र गाँठो पार्दै, डोली चढी गै छ ।
मैना पाँच के भएथ्यो, सुत्केरी पो भै छ ॥
त्यसैले त चुल्ठी समाइ, घर निकाला गरे ।
माइतमा जा भनेछन् आउने होली भरे ॥
बोल्दिनथी घुसघुसे, रै छे छोरी हावा ।
दुवै हात कन्चेटमा, प्याकुलीका बाबा ॥
अनमेल विवाह हटाइदेऊ , सामन्तीलाई नौ डाँडा कटाइदेऊ २
(प्याकुली नामसँग कसैको नाम मिल्न गएमा सन्जोग मात्र हुनेछ । हुर्के बढेका छोरीहरुसँग सल्लाहनै नगरिकन, तडकभडकमा गरिने विवाहको विरोधमा कोरिएको कविता हो यो ।)
०००
पोखरा – १६, कास्की
Subscribe
Login
0 Comments
Oldest











































