चन्द्रमणि अधिकारीजान्छु एक्लै मलाम
खानेपानी सहित नभई प्यासमा ग्रस्त लाेक खाएका छन् कति समयमा निल्न पाएर भोक आफैं आफ्नै सब मुलुकको श्रोतले छन् हसुर्दै भाषा बोल्छन् कपट बलियो पार्न जो छन् बतुर्दै ।

चन्द्रमणि अधिकारी :
१.
देख्दा बाधा सब किसिमका दुष्ट जो राष्ट्रघात
नाता गोता वरपर सबै पोस्न राख्छन् लगाव
लुच्छन् खान्छन् मुलुक ढुकुटी स्वार्थको मेलजोल
सक्दा पेल्छन् सरल जनता बिर्सिएका कबोल ।
२.
लज्जा फाले, हविगत भयो राष्ट्रको लाज लाग्ने
गज्केका छन् पर मुलुकमा बन्न पाएर माग्ने
यस्तो चाला अति अगतिलो देखियो कष्टसाध्य
पाखण्डी छन् जुलुम भरियो भन्न पारेर बाध्य ।
३.
खानेपानी सहित नभई प्यासमा ग्रस्त लाेक
खाएका छन् कति समयमा निल्न पाएर भोक
आफैं आफ्नै सब मुलुकको श्रोतले छन् हसुर्दै
भाषा बोल्छन् कपट बलियो पार्न जो छन् बतुर्दै ।
४.
मार्छन् मर्ला कवि अचम यो मर्न मान्दैन लाज
लाएको हो सहज कविले कालको दिव्य ताज
आत्मा आभामय प्रकट यो क्षेत्र हो काव्य पाठ
चढ्दा घुम्दा कति पटक हो, सोह्र दुने छ आठ ।
५.
ताक्छन् डाक्छन् कवि मन बुझी ठग्न राखेर होश
ङ्याक्छन् सक्छन् अबल छ भनी मार्न खोजेर दोष
मर्दैनन् ती अधम बुझ याे छैन आत्मा लिएको
लुट्छन् लग्छन् जुन समय नै हुन्छु मैले पिएको ।
६.
पढ्दा सच्चा हरफ तगडा तड्पिएको छ व्याँसो
लेख्छौ यस्तै कवि किन भनी राख्न थाल्छन् गुनासो
चिन्दैनन् ती सकभर कसै बिर्सिएका हुनेछन्
ठाने लाटो अब छ र कहाँ सम्झिएका रुनेछन् ।
७.
सोध्दैनन् के खबर छ भनी व्यस्त आफैं सबै छन्
आयो श्रष्टा अब नजिकमा त्रस्त व्याधा अझै छन्
खोज्दा खोज्दै रहर चुलियो काव्यकाे कीर्तिमान
पर्ने बुझ्दा मन अझ खुल्यो जान्छु एक्लै मलाम ।
८.
मैले मर्दा सहज कसरी लोक याे हाँस्न थाल्यो
मुर्दा भन्दै कति पटक हो कुन्नि कात्रो उचाल्यो
खोजें पाएँ सुगम पथ जो मर्न थालेँ मजामा
स्वादे आयो वचन अहिले भन्न थालेँ कथामा ।
९.
राखेका यी कति हरफका भित्रमा छन् कहानी
ओढाएको कति पटक हो बिर्सिएँ रामनामी
मर्दा मर्दा रहर अझ झन् मर्न पाे बढ्न थाल्यो
वर्षा आयो झमझम झरी कालले जो पगाल्यो ।
०००
२०८०/१२/१४
अचम, अभिनव व्यास
तनहुँ, नेपाल
Subscribe
Login
0 Comments
Oldest







































