हेम अधिकारीआदरणीय साथी
बिग्रिएको रेडियोेलेझैँ भाषण गर्छ जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ भुक्छ, लुक्छ, ढुक्छ खुशीराम पाख्रीनको गीत साकार हुन्छ अनि बादशाहको नयाँ लुगा लगाएर सर्वाङ् नाङ्गै हुन्छ । अनि रे ऊ जनताको मान्छे ।

हेम अधिकारी :
मेरो साह्रै आदरणीय साथी छ
म उसलाई असाध्यै आदर गर्छु
तर ऊ धेरै माथि छ
म धेरै तल छु
अचेल भेट्न सक्तिन
तर पनि
म सधैँ आदर गरिरहन्छु
ऊ भने मलाई मज्जैले घृणा गरिरहन्छ ।
पहिले हामी उस्तै थियौँ
मैले खाँदा ऊ पनि खान्थ्यो
उसले खाँदा म पनि खान्थेँ
म भोकै हुँदा ऊ पनि भोकै
ऊ भोकै हुँदा म पनि भोकै
कस्तो आत्मीयता !
उतिबेला हामी
दुईज्यान एक मन थियौँ ।
आहिले भने फरक छ ऊ र ममा
ऊ मेरो मान्यवर भएको छ
म भने भुइँ मान्छे
बगुन्द्र भुइँमान्छेहरूका भीडमै छु
त्यसैले सँगै कुम जोडाएर बस्ता पनि
हामी धेरै टाडा हुन्छौँ ।
पहिले साथी थियौँ
एक अर्कामा साथ थियो
सुख सुखै बाँड्थ्यौँ,दुःख दुःखै बाँड्थ्यौँ ।
अहिले ऊ मेरो मान्यवर भएको छ
ऊ अग्लो चुचुरो छ ऊ
म उसलाई टाडैबाट देख्छु
नामी र मानी छ
म उसलाई जहिल्यै चिन्छु
फरक यत्ति मात्र हो
ऊ मलाई देख्तैदेख्तैन
ऊ मलाई चिन्दैचिन्दैन
कहिलेदेखि हो कुन्नि थाहा छैन चिन्न छाडेको,
टेडा आँखाले हेर्छ तर चिन्दैन
अग्लाइसँगै उसको सङ्गत फरक भएको छ
मैले खाने उसलाई रुच्तै रुच्तैन
उसले खाने म पाउँदै पाउँदिन
पहिले उस्तै थिए
अहिले हाम्रा जिउडाल पनि फरक भएका छन् हाम्रा ।
नितान्त फरक
मैले लगाएका लुगा उसलाई घिन लाग्छ
उसले लगाएका लुगा लाउँभने
मलाई तिर्नै नसक्ने रिन लाग्छ ,
त्यसैले ऊ मेरो आदरणीय भएको छ
उसको बढुवा भयो
र साथीबाट आदरणीय भयो
म भने स्थायी पसिनाबहादुर भैरहेँ
म पसिना तर्तरी बगाउँछु
कहिले भोकै बस्छु र कहिले अघाउँछु
ऊ तिनै पसिना चुस्छ र डम्म भैरहन्छ
फरक यत्तिमात्र हो
सँगै हुँदाझैँ
सँगै हुँदाझै मेरा हातभरि ठेला छन्
उसका हात कल्कलाउँदा भएर
रूप फेरिएका छन्
हिँजोआज
उसलाई मेरा हात छुनै घिनलाग्छ
झुक्किएर पनि ऊ मसँग हात मिलाउँदैन ।
अहिले हाम्रो कामदाम फरक भएको छ
म ठेलाका बुट्टादार हातका चोर औँलाको डिलले
बेपर्वाह भुल्भुलाइरहेका
तुरुर्र तप तप चिउँडो र कुइनाबाट झरिरहेका
पसिना सोहोरिरहन्छु
ऊ भने आमाको मुटुकलेजो चोरिरन्छ ।
म पेट भर्नलाई किटको कराहीमा खट्टे भुट्ने गर्छु
फरक यत्ति हो
ऊ भने दाउ पारी पारी आमाको अस्मिता लुट्ने गर्छ
मेरो पूर्वसाथीका कान सारै ठुला छन्
हात्तीका भन्दा ठुला
मेरो सानो स्वरले बोलाएको ऊ सुन्दैन
बिग्रिएको रेडियोेलेझैँ भाषण गर्छ
जसरी पनि आफ्नो खड्कुँडा जत्रो भुँडी भर्छ
भुक्छ, लुक्छ, ढुक्छ
खुशीराम पाख्रीनको गीत साकार हुन्छ
अनि बादशाहको नयाँ लुगा लगाएर
सर्वाङ् नाङ्गै हुन्छ ।
अनि रे
ऊ जनताको मान्छे ।
०००
२०८०।०१।२०
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































