भोलानाथ सुबेदीझोलेहरु
आफ्नै आङमा भैंसी बोकेर अर्काको आङमा गोबर खोज्नुहुन्छ ओ महोदय ठिकै भन्नुभयो अर्काको आसमा बाँच्नेहरु शिलालेखको अक्षर जस्तै हुन तिनीहरू पुस्तौंदेखिका झोले नै हुन् ।

भोलानाथ सुवेदी :
खोले खान नपाएर झोले भएकाहरु
आङ सुहाउँदो लाउन नपाएर
धुरुधुरु रोएकाहरू
घरको छानो टाल्न नसकी
जङ्गल पसेकाहरू
सगौरव आफूलाई
कायर ठानिरहेछन्
पामर र निच ठानिरहेछन्
झोले भएकोमा गौरव गरिरहेछन्
हुन त
हिँड्दा पाँचजनाले समात्नुपर्छ
खुवाइदिनु पर्छ, लगाइदिनु पर्छ
जे बोलेपनि ताली बजाइदिनुपर्छ
न बोक्रो थाहा छ
न गुदी थाहा छ
गहिराई हेर्ने दृष्टिकोण कहाँ छ
सबै अरुमा भर पर्नु परेको छ
गर्ने पनि गरेको छ
नगर्ने पनि गरेको छ
बोलीको भाँती आफैँले बिगारेर
दोष अरुलाई थुपारेको छ
यति भएपछि
मालिक भएको सपना के देख्नु
ठिकै भन्नुभयो हजुर
झोलेलाई झोले नभनेर के भन्नु
शरीरमा भ्रष्टाचारको गन्ध छ
विकासको ढोका बन्द छ
परालको लौरो टेकेर
सगरमाथा चढ्न खोज्नुहुन्छ
जनतालाई विश्वासै छैन
तिनैलाई काँध हाली बोक्नुहुन्छ
काम गर्न सिकाउनु भन्दा
विदेशतिर धपाउनुहुन्छ
जनतालाई सधैँ लाटो सम्झेर
झुटको खेती गर्नुहुन्छ
आफ्नै आङमा भैंसी बोकेर
अर्काको आङमा गोबर खोज्नुहुन्छ
ओ महोदय ठिकै भन्नुभयो
अर्काको आसमा बाँच्नेहरु
शिलालेखको अक्षर जस्तै हुन
तिनीहरू पुस्तौंदेखिका
झोले नै हुन् ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest







































