फित्काैली डटकमयादमा बुबाहरू…
बुबा, जब पीडाहरू उब्जन्छन् सम्झिरहन्छु बुबा, जब अलिअलि खुसी पाउँछु सम्झिरहन्छु अन्तिम सत्य नै अब सम्झना त रह्यो मेरो भगवान्... मेरो चेतले सम्झन सकुन्जेल हजुरलाई सम्झिरहन्छु ।
इश्प्रन श्री इन्द्र :
कति नदेखेका कुराहरू सम्झिरहन्छु
कति तस्विर चित्रहरू सम्झिरहन्छु
हरिवंशको पुराण लगाएर जन्मेको रे म….
नजन्मेका बेलाका कथा पनि सम्झिरहन्छु
या… खोलाको पानी सम्झिरहन्छु
बेसी छेउको पैरो सम्झिरहन्छु
जिन्दगी सहज थिएन तर बुबाको आँट…
बिरामी आमा ओछ्यानमा वैद्यधामी सम्झिरहन्छु
मेरो भविष्य र आमाको स्वास्थ्य सम्झिरहन्छु
यही कारण हाम्रो बसाई सराई सम्झिरहन्छु
राम्रो खाइन पाइन र सामाजिक इज्जत छाडेर…
भारीमा जीवन बोकेर ओरालो झरेको सम्झिरहन्छु
मधेसका फाँटमा तापको पसिना सम्झिरहन्छु
रामायण र महाभारतका कथा सुनाएको सम्झिरहन्छु
गलत बाटो हिँडेर तपाईंको सपनामा आगो लगाएँ मैले…
तपाईंका सल्लाह र उपदेश सम्झिरहन्छु
वंश र सन्तान प्रतिको तपाईंको आकाङ्क्षा सम्झिरहन्छु
परिवार प्रतिको लगाव र समर्पण सम्झिरहन्छु
कहिल्यै कसैलाई पीडा नदिने त्यो महान हृदय तपाईंको…
ज्ञानको भण्डार थियो, पल पल सम्झिरहन्छु।
धमिरो लागेझैं खस्किरहेको परिवार सम्झिरहन्छु
सम्योजनको उपायहरू कठीन भएको सम्झिरहन्छु
कहिल्यै नहार्ने हजुरलाई कसैले हराएको खबर आयो..
सून्य स्थिर परलोक गमनको मौनधारण सम्झिरहन्छु ।
बुबा, जब पीडाहरू उब्जन्छन् सम्झिरहन्छु
बुबा, जब अलिअलि खुसी पाउँछु सम्झिरहन्छु
अन्तिम सत्य नै अब सम्झना त रह्यो मेरो भगवान्…
मेरो चेतले सम्झन सकुन्जेल हजुरलाई सम्झिरहन्छु ।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest











































