हाेमनाथ घिमिरेनिर्लज्जता !
झोले हैन कुनै दलाल दलको झोला लिई दौडियूँ । खोले हैन कुनै विषाक्त ढलको आँफै कुँदू पौडियूँ । गर्दै आश ढुकेर दुष्ट खलको उच्छृष्ट खोजीकन । बाँच्नू छैन कदापि यो मुलुकमा धिक्कारको जीवन !

होमनाथ घिमिरे :
दैलो भित्र पसे डसे मुलुक नै बेचेर खाए कति !
आमामाथि गरे प्रहार जसले रेटे रमाए अति !
पापी दुष्ट कुकर्म बाट जसले हाँक्दैछ संसारमा ।
गर्दै यो उपहास संस्कृति तथा पूर्वीय संस्कारमा ।
निन्दा मात्र सदैव गर्छ जसले अस्तित्व नेपालको ।
पुर्खाको बदनाम गर्छ सजिलै भुल्दै प्रतिष्ठा अहो !
थप्दै ; मस्जिद चर्च देशभरमा सद्भाव मैल्याउने !
छैनन् राष्ट्रियता न धर्म करुणा यो देश टुक्र्याउने !
बोल्दैनन् जसले बिरुद्ध दल या सत्ता र नेतातिर ।
खोल्दैनन् जसले रहस्य युगको कर्तव्यको मन्दिर ।
लेख्दैनन् जसले भविष्य पछिको बढ्दैछ बाधा भनी ।
देख्दैनन् जसले हिजो कति थिए यो राष्ट्रका बैगुनी ।
छैनन् सोच सफा कुनै विषयमा ताली र गालीतिर ।
दौडिन्छन् बिचरा अबोध शिशु झैँ देखिन्छ चारैतिर ।
साँच्चै लाग्छ दया भनूँ म कसरी निर्लज्ज डाँकाहरू ।
हेर्दैछन् जनता चरित्र खलका डाँडा र पाखाहरू ।
झोले हैन कुनै दलाल दलको झोला लिई दौडियूँ ।
खोले हैन कुनै विषाक्त ढलको आँफै कुँदू पौडियूँ ।
गर्दै आश ढुकेर दुष्ट खलको उच्छृष्ट खोजीकन ।
बाँच्नू छैन कदापि यो मुलुकमा धिक्कारको जीवन !
०००
भरतपुर चितवन
११ भाद्र,२०८२
Subscribe
Login
0 Comments
Oldest







































