नन्दलाल आचार्यउपवास
मैले नसके पछि लोभले आफ्नै शरीर सुकाउन थाल्यौ हैन । अहिले त त्यागीले हार्ने र भोगी जित्ने समय हो । खै, कुरा बुझेको ?’

‘ए नानी, तिम्री महतारीलाई एउटा कुरा भनिदेऊ त !’ नरबहादुरको बोली सुनेर छोरीले प्याच्चै भनिदिई; ‘जे सुनाउनुछ, आफ्नी प्यारीलाई सुनाउनु क्या ! मलाई माध्यम किन बनाउन खोजेको ?’
आफूले जन्माएकी र उम्रेर दुई पात मात्रै भएकी छोरीको कठोर बोलीले नरेको मनमा च्वास्स घोच्यो । गम खाँदाखाँदै ऊ रिसले धुँवा भयो । छोरीको मुख च्यातिदिने र गालामा स्पष्ट पञ्जा छाप बनाइदिने मन भयो । तर आफूले भर्खरै गरेको प्रतिज्ञा सम्झेर ऊ टक्क अडियो ।
‘कुरा त सुन । त्यसपछि जे गछ्यौ गर ।’ उसले अनुहारमा कृत्रिम हाँसो ल्याउँदै यत्ति भन्यो ।
‘महाभारत र रामायणका तानाबुना नबुनी एकोहोरो सुनाउनुस् । प्रश्न नसोध्नुस् । चुपचाप आफ्नो थान्कामा थन्किनुस् । किनभने मैले हमवर्क गर्नुृछ । नत्र भोलि स्कुलमा हेन बन्नुपर्छ ।’ छोरीले सर्तसहितको फेहरिस्त प्रस्तुत गरिन् ।
‘मैले २०७९ असार महिनामा नौ दिन २४ घण्टे उपवास र आंशिक मौनधारण गर्ने निणर्य लिएको छु । हरेक शुक्रबार र मंगलबार मेरा लागि खाना नपकाउनू । सम्झी राख, असार ३, ५, १०, १२, १७, १९, २४, २६ र ३१ गते ।’ उस्तै फेहरिस्त सुनाएर नरे काममा लाग्यो ।’
बेलुका पत्नीको बोली सुनेर नरेको मुख बन्द भएको अझै खुलेको छैन । बोली थियो; ‘महंगीमा खर्च घटा भन्थ्यौ । मैले नसके पछि लोभले आफ्नै शरीर सुकाउन थाल्यौ हैन । अहिले त त्यागीले हार्ने र भोगी जित्ने समय हो । खै, कुरा बुझेको ?’
२०७९/०३/०२ सिर्जनाकुटी, सिरहा ।
nandalalacharya@gmail.com
Subscribe
Login
0 Comments
Oldest










































