लक्ष्मण गाम्नागेहाम्रो प्यारो बालभरिया
धेरैले भन्छन् यो मै जस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रममात्र हो । मेरो यो ताछेको आलुजस्तो नाङ्गो तालु, पोतोले राघेपाटे परेको बाङ्गो नाक, सप्तरङ्गी जुँगाले छोपेका काला ओठ, चिन्ता र अभावको छायाँ परेर हरियो भएको चाउरे अनुहारसँग यो पुटुस्स परेको भेडाको पाठोजस्तो बच्चोलाई तुलना गर्नुलाई म चाकरीको चरम नमूनामात्र ठान्दछु । यो मसँग काम लिन खोज्ने अथवा मेरो घरमा आएर बाक्लो, कडा रङ्गको स्वादिलो चिया खान पल्केका छिमेकी वा आफन्तजनको मलाई खुसी पार्ने दाउमात्र हो भन्ने कुरामा म ढुक्क छु ।
मलाई थाहा छ, यो मजस्तो छैन, मभन्दा कति राम्रो छ कति, कति प्यारो छ कति । सुन्दर छ, सफा छ, निर्दोष छ, निर्भिक छ, निष्पाप छ, निश्छल छ, निष्कलङ्क छ । यस्तो लाग्छ, अगाडि राखेर उसैलाई हेरिरहूँ, खेलाइरहूँ, जिस्क्याइरहूँ । उसलाई काँधमा बोकूँ, उसले मेरो कपाल तानोस् । घोडा बनूँ र ढाडमा चढाऊँ, उसले कानमा समातेर वरिपरि घुमाओस् । ढाडबाट लडोस्, रुँदै ममाथि आक्रमण गरोस् । उसलाई फकाउन बाहिर लिएर जाऊँ, उसलाई सबभन्दा मनपर्ने खानेकुरा खान दिऊँ । गालाबाट आँसुका डल्ला लडाउँदै मुस्कुराओस् । उसलाई उठाऊँ प्रेमपूर्वक र म्वाइँ खाने बहानामा गालामा टोकूँ, हलुका डाम बस्ने गरी । कल्पनै गर्दा पनि मन गदगद हुन्छ, छाती भरिएर आउँछ आनन्दले ।
तर अफसोच † अहिले ऊ डल्लो परेर ठसठसी कन्दै होमवर्क गरिरहेको छ । मैले चिताए जस्तो गर्न खोजेँ भने उसलाई ‘डिस्टर्भ’ हुन्छ । किनभने उसका अगाडि अहिले एक भारी किताब–कापी रास लागेका छन् र ऊ पूरा थिचिएको छ, होमवर्कको भारीले । म चुपचाप आफ्नो बच्चोले भोगिरहेको यातना हेरिरहेको छु, र मनमा अनेक तर्कना गरिरहेछु ।
बिचरा यसले दुई वर्षको नहुँदैदेखि ओछ्यानमा सू गर्र्न पाएन । सिँगान कट्कटिएर फुटेका गाला लिएर बाख्राका पछिपछि दगुर्न पनि पाएन । आँपको पातलाई बाँसको सिन्कामा उनेर फिर्फिरे बनाएर दौडिन, फलामको रिङलाई छाताको करङ्ले गुडाएर वल्लोपल्लो घरका केटाकेटीलाई फूर्ति देखाउन, अँजुलीभरि बालुवा उठाएर हुर्रहुर्र आकाशतिर फाल्न, साथीको टाउकाभरि माटो हालिदिन केही गर्न पनि पाएन । रूखमा चढेर काँचा आँप खानुको मजा यसले चाख्नै पाएन । ठूल्ठूला चौर वा खेतका गरामा मोजाभित्र झुम्रा खाँदेको फुटबल खेल्न पनि पाएन । डन्डिबियो के हो यसले पत्तो पाएन । खोपी खेल्दा ढ्याक्ले पैसालाई हिर्काउँदाको मज्जा, टिडिङ्टिडिङ् पारेर गुच्चा खेल्दाको आनन्द यसले भोग्नै पाएन । ढुङ्गामाथि चढेर छप्ल्याङ्ङ दहमा हाम्फाल्दाको आनन्द बटुल्नै पाएन । खाली खुुट्टा, कट्टु र फाटेको सर्टमा एकडेड घण्टाको उकालो, ओरालो, खोला, जङ्गल काटेर स्कुल जान पनि पाएन । स्कुल जाँदा कालेझारको झ््यासमा लुकाएको काँक्रो फर्किँदा लुकाएको ठाउँ बिर्सिएर नभेट्टाउँदा भएको उदेकलाग्दो अनुभूति…!? स्कुलबाट फर्केपछि मोही र नुनसँग मुछेर बिहानदेखि कट्कटिएका भातको ‘टिफिन’ खाँदाको मिठास यो बबुरालाई के थाहा ! हरिया मकै खाएर कक्षामा ग्याँस छाड्दाको आनन्द, अझ त्यसरी अपानवायु छाडेको अभियोगमा अर्कै साथीका पुट्ठामा सरले सिर्कनाले हान्दाको रमाइलोे… मेरी बास्सै ! यसलाई के थाहा !? पाँच–सातदेखि दश–बाह्रजनासम्मका वर्षेनीका दाजुभाइ दिदीबहिनीसँग घुर्चाघुर्ची, कुटाकुट, लुछालुछ, चिथोराचिथोर र खोसाखोस गर्दै नाङ्गैभुतुङ्गै हुर्कनु बढ्नुको उदेकलाग्दो अनुभव यसका भाग्यमा भए पो †
लौ हेर, यो बच्चो ! बिहान पाँचै बजे मम्मीले (आमा भन्नुपर्छ भन्यो भने त हामीलाई नै उल्याउँछ) सिरक पर हुत्याएर यसलाई उठाउँछिन् । मुख च्यातिदिएर एक गिलास डेरीको गन्धे दूध भुँडीमा घोप्ट्याइदिन्छिन् । दूधको गिलास राखेर भातको प्लेट तान्छिन् र बाछापाडालाई नुन कोच्याएजस्तो मुखमा भात खाँदिदिन्छिन् । यसले वाक्क गर्न खोज्दा मम्मीले पानी हालेर भित्रै ठेलिदिन्छिन् । यसैगरी तीनचार गाँस भातले आन्द्रालाई छक्याउँछ । मम्मीले बिजुलीको गतिमा ड्रेस लगाइदिन्छिन्, घाँटीमा सुर्केनी कसिदिन्छिन् र ऊभन्दा ठूलो भारी झोला बोकाएर पाखुरामा समातेर गुडुडु घिसार्दै बस चढ्ने ठाउँसम्म चितुवाकोे गतिमा पु¥याउँछिन् ।
उचाल्नै नसक्ने झोलाको भारी यसले बोक्नै पर्छ किनभने उसले चानचुने स्कुलमा पढ्दैन भन्ने प्रमाणित गर्नुपर्छ । जति ठूलो किताबको भारी, उति ठूलो स्कुल भन्ने यो बच्चोलाई थाहा नभए पनि उसको बाबुलाई त्यही लाग्छ, उसको प्रिन्सिपललाई त्यही लाग्छ, उसका छरछिमेकीलाई पनि त्यही लाग्छ । अर्को कुरा के पनि हुन सक्छ भने यो बच्चाको स्कुलले जुन व्यापारीबाट पुस्तक खरिद गरेर बच्चालाई बेचेको छ, त्यहाँबाट जति धेरै किताब किन्यो, स्कुललाई उति धेरै फाइदा हँदो हो । अर्कातिर बच्चोले यत्रो ठूलो भारी नबोक्ता पाठ्यपुस्तकका व्यापारीलाई पनि घाटा हुँदो हो । तिनीहरूले बडेबडे अफसेट मेसिन जोड्न नपाउँदा हुन् । भव्यभव्य महल ठड्याउन नपाउँदा हुन् । तिनीहरूले नयाँनयाँ गाडीका सिटमा आफ्नो भ्यात्ले भुँडी अड्याउन नपाउँदा हुन् । यिनै विविध कारणले गर्दा ऊ आज्ञाकारी बालभरिया बन्न वाध्य छ ।
जे होस्, बच्चो हस्याङफस्याङ गर्दै ढिलो गरेकोमा हप्काउन मुख बाएर बसेको खलाँसीको हात समातेर गाडीमा छिर्छ र रुन्चे अनुहारले मामुलाई बाइबाइ गर्छ । उसले गरेको बाइबाइ मामुले नदेखेकोमा उसको मन कटक्क हुन्छ । मानौँ, मामुसँग अब कहिल्यै भेट हुँदैन कि जस्तो !
एकडेढ घण्टासम्म गाडीमा थेचारिँदै, निचोरिँदै र निस्सासिँदै ऊ स्कुल पुग्छ । स्कुलले यसलाई खूब घोटाउँछ । यसले मरुन्जेल घोटिएर उत्कृष्ट नतिजा ल्याएन भने स्कुलको इज्जत जान्छ । व्यापार घट्छ । सर र म्यामहरूको जागिर हिँड्न सक्छ । स्कुलले एकपछि अर्को गर्दै बिल्डिङ् थप्न पाउँदैन । एकपछि अर्को गर्दै नयाँनयाँ गाडी किन्न सक्तैन । संस्थापकको घर बन्दैन, उसका छोराछोरीले विदेशमा पढ्न पाउँदैनन्, उसकी श्रीमतीले सूनमा लटपटिएर पार्टीमा जान पाउँदिन । ड्याडीमम्मीको सपना तुहिन्छ । गाउँटोलमा उनीहरूको इज्जत जान्छ । फूर्ति हराउँछ । हुनसम्मै हुन्छ ।
यस्ता ठुल्ठूला सामाजिक, आर्थिक अपराधको सम्भावित अभियुक्त हुनबाट बच्न योे बालकबबुरोले स्कुलमा टिफिन खाने समय पनि पाउँदैन । उसलाई एक छटाक अरमठिएकोे खाजा खान पन्ध्र मिनेटको समय दिइएको छ । औषधी निलेजस्तो पानीले पाउरोटी, चाउचाउ इत्यादि जे छ किलकिलेमा अड्काउँदै मरीतरी निल्छ र हुत्तिँदै कक्षामा पसिहाल्छ ।
स्कुलले चार बजेपछि अतिरिक्त ट्युसन पढाउन नथालेको हुनाले चारै बजे बालक गाडीमा पस्न पाउँछ र भोकले झोल्टिङ भएको ज्यान लिएर पाँचछ बजेतिर घर पुग्छ । हत्तपत्त झोला घोप्ट्याएर एक रास होमवर्क थुपार्छ र स्कुलको लुगा पनि नफेरी घोट्न थाल्छ । घोट्ता–घोट्ता–घोट्ता सकिए पो ! झर्किँदै जुरुक्क उठ्छ र खाटमुनिबाट फुटबल निकालेर कोठाभित्रै हाइ हान्छ । बलले कतै सिसामा वा बिजुलीको बल्बमा लाग्न सक्छ र उस्तै परे मामुको थप्पडै पनि खान सक्छ । एकछिन पिलपिल गरेर आँसु खसाल्छ, फन्फनिन्छ र घर बाहिर खेल्दै गरेका अरू केटाकेटीको आवाजतिर कान ठड्याउँछ । बाहिरतिर दगुरौँ कि झैँ गर्छ तर छेवैमा आँखा तरेर बसेको बाउलाई देख्छ, लुत्रुक्क परेर बस्छ र मन नलागी–नलागी होमवर्क गर्न थाल्छ । सायद होमवर्क नगरी जाँदा कक्षामा कुखुरो हुनुपर्ने कल्पनाले भित्रभित्रै काम्छ र नराम्रै अक्षर पारेर भए पनि बाबु र मिसका लागि होमवर्क गरिदिन्छ । बालक जसोतसो होमवर्क सक्छ । उँङ्दै, ब्युँझँदै, चिसो पानी छ्यापिमाग्दै मम्मीका लागि अलिकति भात जबरजस्ती खाइदिन्छ र भात खाँदाखाँदै झपक्कै निदाउँछ ।
बिहान मामुले कठोरतापूर्वक सिरक तानिदिन्छिन् । बिचरो २–४ पटक त सिरक तानेर फेरि सुत्ने प्रयास गर्छ । तर मामुले सिरक खोसेर पर हुत्याएपछि के लाग्छ उसको ? झरक्क झर्किँदै उठ्छ, रिसाउँदै उठ्छ, रुँदै उठ्छ । उठेर रुन्चे स्वरमा भन्छ– ‘थुक्क ! हिजो पनि कार्टुन हेर्न पाइनँ !’ बेलुका टेलिभिजनमा कार्टुन हेर्न छुटेकोमा ऊ पछुताउँछ, नमीठोसँग चित्त दुःखाउँछ ।
आज शनिबार पनि ऊ होमवर्कमै व्यस्त छ । शनिवारलाई स्कुलले थप होमवर्क पठाएको छ । छुट्टीमा बाबुआमासँग कतै घुम्न जाने वा खेल्ने वा टेलिभिजन हेर्ने वा छरछिमेकका केटाकेटीसँग रमाइलो गर्ने समय स्कुलले दिएको छैन । त्यो स्कुललाई मतलब भएको विषय पनि होइन । स्कुलको मतलबको विषय त एसएलसीमा सकेसम्म धेरै प्रतिशत डिस्टिङ्सन र शतप्रतिशत फस्ट डिभिजन हो । एसएलसीसम्मलाई गधाजस्ता भरिया, रोबोट जस्ता आज्ञाकारी र कम्प्युटर जस्ता ट्यालेन्ट विद्यार्थी उत्पादन गर्नु हो । म चकित भएर यो बालकलाई हेरिरहेको छु र सोचिरहेको छु । यो मैले जन्माएको बच्चो हो कि कुनै यन्त्रबालक !?
लौ हेर्नुस्, यो प्यारो बालभरिया, होमवर्कको भारीले थिचिएकै ठाउँबाट अलिकति मुन्टो उठाएर कस्तो निरीह भएर मतिर पुलुक्क हेर्दै छ ।
‘गर बाबा गर … किन त्यस्तरी हेरेको ? मलाई चिनेनौ कि क्या हो ? म तिम्रो बाबु …ए के रे ड्याडी क्या !’
………………………………
लौ ! रुन पो थाल्यो फुच्चे त !!
Subscribe
Login
0 Comments
Oldest






































