लक्ष्मण गाम्नागेसरररररररररर !
मैले धेरै भद्र व्यवसायहरू गरेँ । होटल खोलेँ, किराना दोकान चलाएँ, जग्गा दलाली गरेँ, वीमा एजेन्ट बनेँ, म्यानपावरसम्बन्धी काम गरेँ, ठेक्कापट्टा गरेँ, अर्थोक पनि धेरै गरेँ । कुनै पनि व्यवसायबाट म उँभो लागिनँ । सधैँ घाटाको घाटा । म ऋणमा चुर्लुम्म डुबेँ । बाबुबाजेका तीन पुस्ते पटकपटक पत्रिकामा छपाएँ । मान्छेका पैसा तिर्न नसकेर कतिपटक कुटाइ खाएँ, कतिपटक थुनामा परेँ । श्रीमतीसँग सम्बन्धविच्छेद भयो, छोराछोरीको बिचल्ली । के भएन, त्योचाहिँ भन्नुस् न † सम्झिँदा अहिले पनि भाउन्न होला जस्तो हुन्छ ।
अन्तमा कसोकसो गरेर कोरिया पुगेँ । त्यहाँ मेरा पुराना व्यवसायका अनुभवले निकै फाइदा ग¥यो । मैले त्यहाँ शारीरिक श्रम गर्नुभन्दा पनि नेपाली दाजुभाइको सेवामा जुटेँ । समाजसेवा गर्नु मेरो पुरानै बानी थियो । तिनीहरूका समाचार र नगदनारायणलाई जम्मा गर्ने र उनीहरूका घरमा पठाइदिने कामले मलाई राम्रो फाइदा ग¥यो । दुईतीन वर्षमै मैले २५–३० लाख जोडेँ । यसो विचार गरेँ, अब यहाँ बस्नु ठीक छैन । उनीहरूको पैसामा भएको लटरपटरको पोल खुल्नुअगावै मैले घरमा बाको देहान्त भएकाले भनेर रोई–कराई गरेर सबैसँग थप ३–४ लाख चन्दा सङ्कलन गरी म स्वदेश फर्केँ । माइतमा बसिरहेकी श्रीमतीलाई लाखका बिटाले हिर्काएरपछि लगाएँ । बा मरेको भन्दा पाप लागेको भए पाप पखालियोस् भनेर बालाई आधा किलो गुँदपाक लगेर कोचीकोची खुवाएँ । पगितो गुँदपाक खाएर त्यसपछि पो बा झन्डै बिते ।
बालाई बेस्सरी जीवनजल खुवाएर निको पारी म पैसाको उचित लगानीका लागि ठाउँको खाजी गर्न हिँडेँ । एक साँझ एक भट्टीमा एक पुरानो जग्गादलाल मित्र झनकलालसँग भेट भयो । मैले जग्गामा लगानी गर्ने कुरा गर्दा उसले भन्यो– ‘थुक्क लाटा, हामीजस्तो मान्छेले त्यस्तो दलाली गर्ने काम गर्नुहुन्छ ? पैसा छ भने ले न, मेरो स्कुलमा लगानी गर । मालामाल हुन्छस् ।’
त्यसले मेरो आन्तरिक प्रतिभालाई अचानक जगाइदियो । मैले गर्न बाँकी पेशा त्यही एउटा त थियो नि † पड्के झनकलालले त उहिल्यै ज.द. पेशा छाडेर, स्कुल खोलेर, अध्यक्ष भएर, युनिभर्सिटीका वरिष्ठ प्राध्यापकलाई प्रिन्सिपल बनाएर, नमस्ते खाएर.. केके पो गरिसकेछ त, मेरिआम्मै †
त्यो चमत्कार देखेपछि मलाई खपिनसक्नु औडाहा भएर आएको छ । मैले स्कुल खोल्ने सम्पूर्ण प्रक्रियाहरू ऊसँग सिकेको छु । मैले दृढ अठोट गरिसकेको छु, म अब एउटा नमुना स्कुल खोल्छु, खोल्छु । शिक्षाको क्षेत्रमा तहल्का मच्चाइदिन्छु । मेरो स्कुल यस्तो हुनेछ, जस्तो कि यो सहरमै छैन । यो सहरमा नहुनुको अर्थ यो देशमै नभएको भन्ने त तपाईँले बुझिहाल्नुभो क्यारे !
म मेरो स्कुललाई मेरो भए पनि हाम्रो स्कुल भन्नेछु किनभने अचेल हरेक कुरामा सहकारिता चलेको छ । हाम्रो बनाउनका लागि म मेरी साली, सालीका बा, सालीको भाइ, सालीकी दिदी आदिलाई पार्टनरमा लिनेछु । ग्राहकहरूको विश्वास जित्न पनि स्कुललाई साझा जस्तो देखाउनुपर्छ भन्ने झनकेको भनाइ छ । ग्राहक भन्नाले मेरा प्याराप्यारा विद्यार्थीका बाउआमाहरू हुन् । यहाँ ग्राहक शब्दको प्रयोग किन गरिएको हो भने सरकारले नै स्कुललाई कम्पनीमा दर्ता गरिदिएर यसलाई व्यापारिक संस्थाका रूपमा मान्यता दिएको छ । सो भएपछि म मजाले व्यापार गर्नेछु, सुखले बाँच्नेछु । बाँच्नेमात्रै किन झनकलाल जस्तै हरेक साँझ डान्स रेस्टुरेन्टमा बेस्कन मातेर मस्तीले नाच्नेछु ।
स्कुल खोल्नुको अर्थ विद्यार्थी भेला गर्नु र पढाउनुमात्र होइन, अर्थोक पनि धेरैथोक गर्नु हो भनेर झनकेले भनिसकेको छ । यहाँभित्र गर्न सकिने अर्थोक व्यवसायमध्ये राम्ररी चल्ने व्यवसाय हो, क्यान्टिन व्यवसाय । (मलाई क्यान्टिन भन्न अप्ठ्यारो लाग्छ, त्यसैले म होटल भन्ने अनुमति चाहन्छु । अनुमतिका लागि धन्यवाद †)
टिफिनको टन्टाले आजित भएका बाबुआमाका छोराछोरीलगायत घरमा खाना नखाने मात्तिएका केटाकेटीहरू मेरो होटलका ग्राहक हुनेछन् । उसो त स्कुल बिहान आठै बजे लगाइदियो भने जम्मै केटाकेटीलाई स्थायी ग्राहक बनाउन पनि सकिन्छ । मूल्यका आधारमा स्तर निर्धारण गर्ने आधुनिक अभिभावकलाई ध्यानमा राखेर होटल अलि महङ्गो हुनेछ, चलनचल्तीको भन्दा दोब्बर । होटलबाट आउने नाफाको ५० प्रतिशतमात्रै मलाई प्राप्त हुने हुनाले पनि खानाको मूल्य अलि महङ्गोजस्तो लाग्नेछ । एउटा खुल्ला गोपनीयता (बोर्डिङ् खोल्दै छु– अङ्ग्रेजीमै भनौँ न, ओपन सेक्रेट क्या !) के छ भने स्कुल जति दिन खुले पनि खाना र खाजाको शुल्कमा फरक नपर्ने हुँदा स्कुल नलाग्ने दिनको पैसोचाहिँ मेरी श्रीमतीको खातामा पूरै जम्मा हुनेछ । स्मरण रहोस्, अन्तर्राष्ट्रिय स्तर मेन्टेन गर्नुपर्ने भएकाले मैले शनिबार र आइतबार दुई दिन स्कुल छुट्टी गर्ने नियम बनाउने टुङ्गो गरिसकेको छु ।
होटलको कुरा सकिहालौँ । खाना एकदमै पौष्टिक र नेपाली पाराको खुवाइनेछ । नेपाली संस्कृति र परम्परागत खानाका बारेमा सहरबजारका नानीहरू परिचित होऊन् भनेर चिउरा, मकै, भटमास, मूलाको साग, लट्टेको तरकारी, ढिँडो, सिन्की, गुन्द्रुक जस्ता टिपिकल नेपाली खानालाई प्रोत्साहन गरिनेछ । केटाकेटी र हाम्रा ग्राहकलाई सम्पूर्ण रोगको एउटै कारण मासु हो भनेर स्कुलमा शुद्ध शाकाहारी खाना खुवाउने व्यवस्था गरिनेछ । बरु महिनाको एकपटक जिल्ला शिक्षाका हाकिम, विद्यालय निरीक्षक र विद्यालय सङ्गठनका केही प्रतिनिधि र टोलका केही गन्यमान्यलाई बेलाएर स्कुलमै खसी काटेर भोजन गराउनेछु, यसमै बढी फाइदा हुन्छ भनेर मलाई झनकलालले सिकाइराख्नु पर्दैन ।
होटल व्यवसायपछि किताबको दोकान पनि स्कुलमै चलाउने विषयमा केही प्रकाशक र व्यापारीसँग कुराकानी भइसकेको छ । म हाम्रा ग्राहकको सेवाका लागि केटाकेटीलाई चाहिने किताब, कापी, कलम, पेन्सिल, इरेजरलगायत कुनै पनि सामग्री किन्न बजारसम्म जानुपर्ने दुःखबाट पूर्णरूपमा छुटकारा दिनेछु । प्रायः सबै मालमा प्रकाशक र होलसेलरहरूले मेरो स्कुललाई ४० देखि ५० प्रतिशतसम्म छुट दिने वचन दिइसकेका छन् । हामी विद्यार्थीहरूलाई पूरा मूल्यमा उपलब्ध गराउनेछौँ । यसबाट कम्पनीलाई (सरी!), स्कुललाई राम्रो मुनाफा हुनेछ । स्कुललाई मात्र होइन विद्यार्थी र तिनका बाआमालाई पनि फाइदै छ । बजारसम्म जानुपरेन, कुनै चिज नपाइएला भन्ने पिर भएन । पैसो भए पुग्यो । आधुनिकता भनेकै यही होइन त ?
भर्नाशुल्क वा मासिक शुल्कको सिद्धान्त पनि मेरो स्कुलमा अलि विशेष प्रकारको हुनेछ । सस्तो शुल्क राखेपछि ग्राहकहरूलाई स्कुलको क्वालिटीप्रति शङ्का लाग्छ भन्ने मैले पत्ता लगाइसकेकै छु । त्यसैले बजारमा चलेको सरदरभन्दा डब्बल शुल्क हुनेछ । यसबाट पैसा बढी बुद्धि कम भएका ग्राहकको भिड मेरो स्कुलमा लाग्नेछ ।
किताब र फीबाट त कति नै पैसा सङ्कलन हुने हो र † पैसा त यातायात शुल्क, ड्रेस, बेल्ट, टाइ, ब्याच इत्यादिमा पो हुँदोरहेछ त बाबै † सहरबजारमा सकभर पाउँदै नपाउने महङ्गो खालको, अनौठो कलरको ड्रेस लागू गरेर त्यस्तो कपडा मेरै स्कुलको कपडा दोकानबाहेक अन्त मारेकाटे नपाउने बनाइदिनेछु । झनकलालभन्दा एक कदम अगाडि बढेर अर्थोक त अर्थोक, मैले त झोला पनि एकनास चाहिन्छ भनेर युनिफर्मकै रूपमा लागू गर्ने विचार गरेको छु । त्यो पनि मेरै दोकानमा पाइनेछ । जुत्ता दोकान खोल्न सालो केटोलाई गाउँबाट बोलाएको छु । बज्जेले यसपालि एसएलसीमा तेस्रो डिभिजन ल्याएछ । त्यसलाई हजार रुपैयाँमा मास्टरीमा जोताउन पाइन्छ । पढाउँछ पनि, जुत्ता दोकान पनि हेर्छ । साँच्चि, एउटा कुरो, कट्टु, गन्जी र रुमालमा पनि युनिफर्म लागू गर्न सकिएला कि नसकिएला हँ ? झनकलाललाई सोध्नुपर्ला ।
दोकानको कुरा गर्दा मेरो स्कुलमा औषधी उपचारको पनि व्यवसाय हुन्छ, भन्दा तपाईँलाई पत्यार नलाग्न पनि सक्छ । केटाकेटीको नियमित स्वास्थ्यपरीक्षण गर्ने भनेर पनि शुल्क उठाउन मिल्दोरहेछ । चिनेका साथीभाइ डाक्टर बोलाएर सुरुका एकदुई महिना परीक्षण पनि गरायो । पछिपछि बानी पर्दै गएपछि ग्राहकहरूले केको पैसा तिरेको भन्ने बिर्सँदै जान्छन्, बस् ! शुल्क उठेकोउठेकै । लाइब्रेरी, पौडीपोखरी, कम्प्युटर, शैक्षिक भ्रमण शुल्क, खेलकुद, कम्पूmकराँते इत्यादि अनेक छन्, ग्राहकका ढाड भाँच्ने एम्बुसहरू । त्यस्ता धराप थाप्न झनकलालले पनि नभेट्ला भन्ने लाग्छ मलाई ।
पढाइको क्वालिटीको पनि पो कुरा गर्नुपर्छ होला त अलिअलि । स्कुल खोलेर व्यापारकै मात्र कुरा गर्दा तपाईँले के भन्नुहोला मलाई, लाजैमर्नु ! पढाइका विषयमा मैले स्कुलको ब्रोसरमा लेखिनै सकेको छु, मेरो स्कुलमा नेपालमै नहुने खाले पढाइ हुनेछ । हाम्रा केटाकेटीले नेपाली बच्चाहरूसँग होइन, विदेशी बच्चाहरूसँग प्रतिस्पर्धा गर्नेछन् । (गोप्पे कुरा के छ भने त्यो विदेश भनेको भारत, सोमालिया, अफ्रिका, सुडान हो वा अमेरिका, बेलायत हो ? त्यो भने खु्लाइएको छैन । काम गर्दे जाँदा पछि कस्ता विद्यार्थी निकाल्न सकिने हो ? कुरालाई त्यतैतिर मोडौँला ।)
स्कुल खोलेर केही महिनासम्म चाहिँ उल्कातमास गरेर ग्राहकहरूलाई हेरयाहेरयै पार्नुपर्छ, बिस्तारै जेजे गरे पनि हुन्छ भन्ने झनकलालको महावाणी मलाई ठीकै लागेको छ । केटाकेटीलाई बोकेर, म्वाइँ खाएर, मीठोमीठो खान दिएर, तिनका बाउआमालाई पनि बोलाएर सल्लाह लिएजस्तो गरेर, पार्टी दिएर, स्कुलका कार्यक्रममा पालैपालो सबैलाई अतिथि बनाएर, सम्मान गरेर अनेक गर्नुपर्ने कुरा मैले बुझिसकेको छु । तिनका खुट्टामा तेलै लाउनु परे पनि लगाइदिनेछु ।
अर्को कुरा के छ भने संसारको कुनै स्कुलले नलिएका केटाकेटी मेरो स्कुलले लिनेछ । मैले केही पूर्वप्रहरी, सेना र खेलाडीहरूलाई पनि मास्टरमा भर्ना गर्ने विचार गरेको छु । तिनले जस्तासुकै जण्ड विद्यार्थीलाई पनि ठीक पार्नेछन् । ठीक पार्ने भनेर हामी अरू स्कुलले जस्तो बीसौँ–तीसौँ विद्यार्थीका ढाड एकैपटक भाँच्तैनौँ । एकएक गरेर बिस्तारैबिस्तारै अभिभावक वा बालअधिकारवादी आदिले पत्ता नपाउने गरी पाता फर्काउने कार्य गर्नेछौँ । सुम्ला नदेखिने पाराका सजाय गर्ने नयाँ प्रणालीको विकास गर्नेछौँ । हामी विद्यार्थी र अभिभावकका ढाड सँगसँगै तर फरकफरक पाराले भाँच्नेछौँ ।
होटल व्यवसाय, व्यापार, चिकित्साविज्ञान, प्रशासन, राष्ट्रसेवा, समाजसेवा, सैनिक शासनलगायत अनेक क्षेत्रको एकै ठाउँ बसीबसी अनुभव गर्न पाइने टन्न दाम पनि नाम पनि कमाउन सकिने यस्तो उत्कृष्ट पेशा झन्डै मेरो हातबाट खुस्किएछ गाँठे हो ! धन्य त्यो मोरो झनकेसँग भेट भएछ । धन्यवाद छ झनके तँ गधालाई !
आउँदो शैक्षिक सत्रदेखि मैले खोल्ने भएँ एउटा स्कुल । बच्चा कसरी भेला गर्ने भन्ने पनि मैले जानिसकेको छु । मैले मेरा पूर्वव्यवसायमध्येको जग्गा दलाली र वीमा व्यवसायको पूरा उपयोग गर्नुपर्नेछ । चिनेजानेका, नातागोता, साथीभाइ, छरछिमेकी, ससुरालीतिरका, माओलीतिरका, गोरु बेचेका, कुखुरा किनेका, जग्गा मिलाइदिएका, लमी गरिदिएका, चिनेका र चिन्दै नचिनेका इत्यादि कसैलाई नछाडी सबका घरघरमा जाने, रुँदा लाग्ने ठाउँमा रुने, रिसाउँदा लाग्ने ठाउँमा रिसाउने, फकाउँदा लाग्ने ठाउँमा फकाउने, केही नलागे भर्ना शुल्क छुट गर्ने (अर्को वर्ष ढाड भाँच्ने त छँदै छ नि!), पैसा छैन भन्नेलाई पैसा सापटी हालेर भर्ना गर्दिने, भर्नामा उपहार राख्ने, ब्रोसर कोट्याएर १० देखि १०० प्रतिशतसम्म छुट पाउने प्रचार गर्ने आदि अनेक उपाय गरिनेछ । चुस्तदुरुस्त र आकर्षक मोडेल मैञाहरूलाई घरघर, अफिसअफिस पठाएर पनि केटाकेटी भेला गर्न सकिन्छ भन्ने मलाई लाग्छ । स्कुल खोल्ने कुरा सम्झिँदै म त खुसीले बौलाउँला जस्तो पो भइसकेँ भन्या ! ओ माइ गड !
खोलेँ ! खोलेँ !! खोलेँ !!! मैले स्कुल खोलेँ ! आउँदो शैक्षिक वर्षदेखि खोल्ने भएँ मैले एउटा प्राइभेट बोर्डिङ स्कुल । कुद्ने भएँ कारमा म पनि सरररररररररर ।
Subscribe
Login
0 Comments
Oldest






































