धनराज गिरीमहादान
प्रेम विवाह / सात वर्षसम्म सहपाठी (त्यसपछि जीवनसाथी / अनुपम जोडी / पढाइमा दुवै अब्बल / लोकसेवा आयोगमा नाम निकाले / दुवै शाखा अधिकृत / शहरको बसाइ । डेरा / मूल घर पहाड / पूर्ब र पश्चिम / सरलता उनीहरूको परिचय / त्यही भएर जागिर सुरु गरेको तिन वर्षमै एउटा मुण्डा घर किन्न सफल भए / थोरै सहयोग घरले पनि गर्यो / दुबैको घरको आर्थिक अवस्था सबल / ‘यी मोहन र राधिकाको जोडी त माथि भगवान आफैले बनाएका हुन् ।’ कयाकैरण ।
कृष्ण (मोहनको अति मिल्ने मित्र / पहाड होइन, मधेसको / ऊ पनि जागिरे / बैंकमा / फुर्सदको बेलामा कृष्णको बास अन्त हुँदैन / खाना पनि अनुदान सहयोगमा / एउटी प्रेमिकाले धोका दिइन् उसलाई / त्यही भएर आजसम्म उसले घरजमको मेसो गरेन / मोहन र राधिकाले जति कोशिस गरे पनि यो पत्थर पग्लिएन / समय रोकिने कुरा आएन / अरु २ वर्ष चिप्लिए / मोहनको बाबुआमाको हजुरबा, हजुर आमा बन्ने सपना अझै बिपना भएको छैन र विभागले मोहनलाई विशेष तालिमका लागि विदेश पठायो / यस्तो मौका पाउनु सौभाग्य / पछि पदोन्नतिमा आड / उड्ने दिन पनि आयो । ‘कृष्ण, आज म राम बनेर तिमीलाई लक्ष्मणको जिम्मेवारी सुम्पिदैछु / मेरो गैरहाजिरीमा यो पन्चवटीमा कुनै रावण आउन नपावोस् / भाउजू तिम्रो जिम्मा ।’ मोहनको आवाजमा कम्पन छ, थोरै भावुकता । ‘अरे यार, यो दोस्ती कैले काम लागिजान्छ हाँ ? आब यो लखन पूरा भाभीश्रीको बडीगार्ड हुन्छ हाँ ।’ मधेशी लवजमा प्रस्तुत भयो । कृष्ण– ‘ए मोहन, तिमी कुन युगमा छौ ? यो नारी आफ्नू बडीगार्ड आफै बन्न सक्षम छे / यही शहरमा म एक्लै रात वर्षसम्म बसेकी होइन ? तिमीले मलाई अझै चिन्न सकेनौ ?’ बोल्ड आवाजमा, ‘राधिका ! आइ एम् ए प्राउड अफ माइ स्वीट हर्ट ! यति भन्दै ग्वाम्म अँगालो हाल्छ / राधिका अलिकता सरम माने झैँ गर्छिन् र कृष्ण मौन ।
च्याट, इमेल, स्काइप– हरेक दिन / छ महिना बित्यो / जाडोको मौसम सुरु भो / पुस गयो / माघ गयो / फागुन लाग्यो / जाडो कम भएको छैन, हिउँको कारणले / अचानक राधिका बिरामी भइन् / ज्वरो १०५ डिग्री / सात दिनसम्म छोडेन कृष्णले / राधिकाले केही भन्न खोजे ऊ भन्थ्यो ‘भाभीश्री, आपका नमक खाया है ।’ सात दिनपछि राधिका अलि अलि उठबस गर्न थालिन् / नियमित फलफूल सेवन र कृष्णको सेवाले दस दिनमा ताजा गुलाफ / आज फागुन १४ गते / भ्यालेन्टाइन डे / साँझ कृष्ण फलफूल लिएर राधिकालाई भेट्न पुग्यो / कृष्ण पुगेको केही समयपछि मुसलधारे पानी पर्यो र रोकिएन / खाना राधिकाले पकाइन् / खान बसे र खाए / राधिकाको हेराइ कस्तो कस्तो मान्यो उसले / बर्सादी खोज्यो / पाएन / छाताले नधान्ने / हावा पनि उस्तै– ४९ बायु नै / ‘कृष्ण !’ मिठो स्वरमा / झसङ्ग भयो एउटा वफादार मित्र / ‘राज कपूर, राजेन्द्र कुमार, बैजन्ती माला र संगम ! हिन्दी सिनेमा सम्झियो / केही बोल्न सकेन / मित्रको अनुहार सम्झियो / कालो कृष्ण र गोरी राधिका / कृष्ण, आजको दिन, यो मौसम, तिम्रो तपस्या / मलाई अरु प्यासी हुनु छैन / हामी मात्र होइनौ यो संसारमा यसो गर्ने / ऊ जानु, म बिरामी हुनु, यो मौसम, विधिको लिला हो यो / मलाई आज तृप्त हुनु छ / आखिर कुन मेनकाको अघि विश्वामित्र धानिएका थिए र ? एउटा महा अनुष्ठान सम्पन्न भयो र त्यो रात कृष्ण आफ्नू डेरामा सुतेन र त्यसपछि ? सख्खरमा पल्किएको झिंगा भयो मधेसी भाइ ।
त्यति बाक्लो सम्पर्क हुन छोड्यो मोहनसित राधिकाको / यसलाई सहज रुपमा लियो मोहनले / बित्यो एक वर्षे तालिम / फर्कियो मोहन / फर्किएको रात उसले जुन साथको कल्पना गरेको थियो, त्यो पाएन /‘सन्चो भएन होला’ यस्तै सोचेर चित्त बुझायो / तर कुनै दिन पनि उसले एक वर्ष अघिकी आफ्नी पत्नी भेटेन र कृष्ण पनि त्यति नआउने / आयो भने चिया त के पानी पनि नपिउने र कृष्णलाई देख्दा राधिकाको अनुहार अर्कै ।
एक दिन / बिदाको दिन र हस्याङ फस्याङ गर्दै मोहन घरमा आयो ‘राधा, राधा, कृष्ण बाइक….’ वाक्य पूरा गर्नै पाउन्न मोहन, आत्तिँदै झम्टिँछे– ‘के भयो ? कहाँ ? कतिखेर ? कस्तो छ अवस्था ? कतै… हे भगवान, कस्तो मित्र हौ तिमी ?’ मानौ प्रलय नै आयो / अब मोहनको शङ्का दूर भयो / यो उसले नाटक गरेको थियो ।
आफ्नू विवाह भएको सात वर्ष पुगेको खुसियालीमा मोहनले एउटा पार्टी दियो र पार्टी भव्य / जीवनमा एक थोपा पनि सोमरस नचाखेको मोहनले त्यो दिन पाँच प्याग / साथीहरू आफ्नै धुनमा / अचानक बोल्यो मोहन / ‘मित्रहरू, यो जीवन विचित्रको छ / हामी मान्छे / हाम्रो जीवन रहस्यको पोको / हाम्रो यो मन हाम्रै हुन्न र राधे, तिमी एता आऊ, कृष्ण तिमी पनि । राधे, सायद त्यो विभागीय तालिम हाम्रो जीवनको नयाँ मोड रहेछ । म कुरा बुझ्छु ! आजबाट तिमी आजाद / कृष्ण, लैजाउ तिम्रो नासो र यो महादान !’ वातावरण स्तब्ध र मोहन अचेत ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































