माणिकरत्न शाक्यउटपट्याङ– १
मेरो टोले दाजुभाइहरूको घरमा धेरै परिवार डेरामा बस्छन् । त्यसमध्ये डेरामा बस्ने दोलखा जिल्लाका मित्र हुनुहुन्थ्यो– दाहालजी । मित्रको कोठामा जाने बस्ने खाने गर्दा निक्कै गाढा प्रेम थियो हामी दुईमा । तर वि.स. २०४९ सालमा मेरो विवाह पश्चात् यो क्रम टुट्यो व्यवहारिकताको कारणले ।
केही वर्ष अघिदेखि सडकबाट भित्रपट्टि हामीले आफ्नै घरमा पसल थापेका थियौ‘ । नेवार समुदायमा हुर्के बढेका कारणले हामीकहाँ रक्सी छुट्ने कुरै भएन । काम सकेर बेलुका सितनसहित रक्सी खाने चलन छ औषधीको रूपमा । तर मात्ने गरी होइन । होलीको केही दिन अघि मात्र हाम्रो परिवारले रक्सी बनाएर कट फाल्ने ठाउँ नभएकाले बाँकी रहेको थियो । त्यसबेला हाम्रो टोलमा ढलको सुविधा थिएन ।
होलीका दिन टोलका दाजुभाइ दिदीबहिनीहरू र वरपरका साथीहरूसमेत मिलेर रङ्गमा रङ्गिए । दाजुभाइहरूले दिदीबहिनीहरूलाई अविर दलेर राताम्य पारेपछि निथ्रुक्कै हुनेगरी पानीले भिजाए । हाँसखेलको साथै लखेटालखेट गर्दै पानीले मुसा चुटे झै चुटने क्रम जारी थियो । त्यस मध्येकी एउटी दिदीलाई सबैले मिलेर अबिर र पानीले निथ्रुक्कै भिजाइदिए । आफूले केटाहरूलाई केही गर्न नसकेपछि उनी यता र उता भौ‘तारिन थालिन् । त्यसैबेला मैले मकहाँ रहेको रक्सीको कटको सुइँको उनलाई दिए‘ । तिनले सो कट बोकेर भेटे जति सबैलाई छ्याप्दै अघि बढिन् । त्यही क्रममा दाहालजीलाई पनि टाउकोदेखि खुट्टासम्म निथ्रुक्कै हुने गरी कटले भिजाइदिइन् । अघिसम्म सबैजना रमाएर खेलिरहेकाहरूको एउटै स्वर निस्कियो–कटले नहान ।
दाहालजीको त विजोगै भो । शरिरमा लागेको कट पखाल्दै कराउ‘दै थिए– दाहालजी । “रक्सीको कटले नुहाइदिएर बाहुनको छोरालाई ।”– उनको मुखबाट धेरै पटक निस्कियो नुहाउने क्रममा, गुरु मन्त्र जपे जस्तै गरी । पछिबाट थाहा भयो– दाहालजीले त त्यो कट लागेको लुगा गाउँमा भाइलाई पो दिएछन् ।
रक्सीको कट मान्छेको गोबरजस्तै ह्वास्स गन्हाउने र हेर्दा पनि उस्तै पहे‘लो लेदो हुन्छ । त्यो लुगामा लागेपछि त्यसको गन्ध धेरैदिनसम्म रहिरहन्छ । होलीको दिन आयो कि मलाई दाहालजीको सम्झना आइहाल्छ । उनले ‘रक्सीको कटले नुहाइदिएर, बाहुनको छोरालाई !’ भनेको अहिलेजस्तो मेरो कानमा गुन्जिरहेको छ । कता के गर्दै होलान् दाहालजी हिजोआज !?
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest







































