हरि खनालहाम्रो परिचय जिन्दावाद !
अचेल केही मान्छेहरू हाम्रो देशको नाम हरायो भनेर चिन्ता गरिरहेका पाइन्छन् । नाम हराएको हो कि भएको विशेषता चिनाउने क्षमता हराएको हो ? भन्ने कुरा मनमा खेल्दैछ ।
नामका लागि दाम र चाकडीधामको जति महत्व छ कामको कुनै महत्व छैन । काम त छलछामबाटै देखाउन सकिन्छ । कामचोरले काममा निपुण भनेर बढुवा पाउँछ हाम्रो चलनमा । श्रम नगर्नेले नाम पाउँछ र योगदान नगरेकाले ठाम पाउँछ । त्यसकारण नाम मेहनत गरेर, काम गरेर कमाइन्छ भन्नेहरूलाई महाउल्लू, बज्रस्वाँठ जस्ता विशेषण झुण्ड्याएर नेपाली नागरिकताको प्रमाणपत्र खोसिदिए केही फरक पर्नेवाला छैन । आजका जस्ता अखबार र अखबारे साहित्यकार भएका भए म ठोकुवा गर्छु, देवकोटा महाकवि बन्दैनथे, लेखनाथ देखनाथ मात्र हुन्थे ।
अचेल हामीकहाँ दाम छ भने साहित्य नबुभ्mने पनि महान् साहित्यकार हुन्छ, राजनीति नजान्ने नेता हुन्छ । दाम छ भने बेरोजगारले रोजगार पाउँछ, रोजगारले कमाउ ठाउँ पाउँछ । दामले लडाकुहरू दाहिना हुन्छन् । लडाकु दाहिना भए भने चिची पनि हुन्छ पापा पनि हुन्छ । दाम भयो भने ज्यान च्यान दुबैमा भारी छुट हुन्छ, । टोलमा जानुहोस् छिमेकीहरूलाई बिजुली पानी र सुकुटी चखाइदिनुहोस् गुणगान गाउँछन् । विश्वविद्यालयमा गुरुहरूलाई खाममा राखेर दामलाई सुटुक्क वरण गरिदिनुहोस् मूल्याङ्कनमा हात्ती अङ्क दिन्छन् । दाम छ भने आपैंm फिलिम बनाउनुहोस् हिरो वा हिरोनी निश्चित । सञ्चारमाध्यमसँग सुटुक्क साइनो गाँस्नुहोस् तपाइँले निर्माता भएर बनाएको फिलिम, तपाइँले लेखेको किताव सबैको जयगान हुन्छ । भन्नुहोस् त दामले नाम दियो कि दिएन ?
उहिले उहिले धेरै दाम भएकालाई क्रान्तिकारीहरू सामन्ती, पँुजीवादी, शोषक भन्थे तर आजभोलि वाह देशको नाम उचो पार्ने नायक भनिन्छ । दामले नाम ल्यायो कि ल्याएन ? कामले पनि नाम दिन्छ तर सूत्र जान्नु पर्छ । धेरै काम गर्नेले नाम पाउँदैनन् यो देशमा । धेरै काम गर्नेलाई त गोरु भन्छन् ठूलाबडाहरू । त्यसरी काम गर्नेले काममामात्र ध्यान दिन्छ धाममा समय दिँदैन । त्यसकारण पनि गोरु भनिएको हुनुपर्छ । काम सुकाको हल्ला हजारको गर्नेलाई भने शान्ति पनि मिल्छ सुख पनि मिल्छ, नाम पनि मिल्छ दाम पनि मिल्छ । किसानले उत्पादन ल्याउँछ र बजारमा डोकोबाट खन्याउनै नपाई उसले दुई रुपैंयाँमा बेचेको माल साहुले १० रुपैयाँमा बेचिदिन्छ । हेर्नुस् कमाइ गर्ने पसिना पुछेर ट्वाँ, घुमाइ गर्नै पैसा गनेर स्वाँफ्वाँ ? यो कुरा किसानका हकमा मात्र होइन, सबै क्षेत्रको प्रचलन यही हो । जिल्लामा काम गर्ने कर्मचारी बढुवा नपाएर रुन्छन्, केन्द्रमा बसेर हाकिमको गोडधुवा गर्नेहरू माथिल्ला पदमा पुग्छन् । गाउँघरमा बसेर राजनीति गर्नेले साधारण सदस्यता खुस्केको थाहा पाउँदैनन् तर केन्द्र र नेताका वरिपरि घुम्नेले चुनावको टिकट बजाइदिन्छन् । चक डस्टर समाएर कक्षाकोठामामात्र चक्कर दिनेलाई पुरस्कारले तिरस्कार गरिदिन्छ तर पढाउन छोडेर अधिकारकेन्द्र धाउने तथा झण्डा र डण्डा हल्लाएर हिँड्नेले पुरस्कारको खात भेट्टाउँछ । यो चाहिँ धामको करामत हो । यस्तो विशेषता भएको मुलुक कहीँ छ ?
भैगयो, यी बेकारका कुरा नगरौं, यस्ता कुराले खकारमात्र ल्याउँछ । आउनुहोस् केही बेर मुलुकको नामको कुरा गरौं । मुलुकको नाम आउन पनि दाम चाहिन्छ । दाम भए शक्ति हुन्छ र शक्ति भए दुनियाँका निर्धाहरूले भक्ति गाउँछन् । अमेरिकालाई हेर्नुहोस् न । त्यसो भए हाम्रोजस्तो मुलुकको नाम कहाँबाट आउने ? उहिलेउहिले केही आधार थिए तर अहिले बोका खुइलिए भैंm खुइलिसकेका छन् । वुद्घ जन्मेको देश, सीता र भृकुटीको देश, शान्तिप्रिय देश, सगरमाथाको देश । अगिल्ला दुई परिचय अब इतिहास भइसकेको छन् । बुद्घ तानातानमा छन् । बलियाले आपूmतिर पार्ने हो कि हेर्ने बाँकी नै छ । फेरि सत्ताको आयुलाई दक्षिणी वायुले लामो पारिदिन्छु तिम्रो त्यो परिचयचाहिँ हामीलाई देऊ भने भने खुसुक्क हुन्छ भनेर सही गरिदिने उदार सत्ताप्रेमी हामी नै छौं । सीताको कुरा गरेर पितृप्रधान समाजमा नाम ठूलै हुन्छ भन्ने पनि छैन । उस्तै परे बैगुनी ज्वाइँपाटीले साला सालीको सम्बोधन गरेर गोडा धुन लगाउँछन् । सत्तालाई बलियो बनाउन छोरीलाई दाउमा राखेको प्रसङ्ग कसैले झिकिदियो भने भृकुटीको कुरा पनि ओजेलमा पर्न कति बेर छैन । त्यसकारण एउटा सगरमाथाको भरमा मुलुकको नाम कसरी जोगिने ? आपैंmसँग भएको कुरा पनि थाहा नभएको रहेछ हामीलाई । हामीसँग त धेरै कुरा पो रहेछ । पछिल्लो समयमा हामीले नाम कमाउन लायक धेरै काम गरेका रहेछौं । हामीसँग संसारलाई चिनाउने धेरै कुरा रहेछन् जुन कुरा अरूमा छैन । आउनुहोस् हामीलाई चिनाउने अरु केही कुराको थप चर्चा गरौं ।
अरूहरूका देशमा कलकारखाना छन्, सामान उत्पादन गरी विदेशमा निर्यात गर्छन्, हामीकहाँ अलिअलि भएका कलकारखाना पनि बेच्ने चलन छ । हामी मान्छे उत्पादन गर्छौं र विदेशी बजारमा बेच्छौं । कम्पनी र व्यक्तिले बेचेबापत कमिसन खान्छ र सरकारले रेमिट्यान्स खान्छ । हाम्रो देशमा मान्छेहरू सपनामा टन्न खान्छन् र शान्तिको सास फेर्छन् अरु देशमा विपनामा टन्न खान्छन् र विपना मै शान्तिको सास फेर्छन् । हाम्रोमा ढोकामा ताला लाग्छ झ्यालबाट ओहोरदोहोर हुन्छ तर अरूहरू ढोकाबाट ओहोरदोहोर गर्छन् । अन्यत्र जहाज उड्छन् हाम्रोमा जहाज कम्पनी उड्छ । अरुको र हाम्रोमा फरक धेरै कुरामा छ । अरूहरूको सडकमा गाडी गुड्छ हाम्रो गाडीमाथि सडक । अरु देशका नेताहरू निर्णय गर्छन् हाम्रोमा वायुबतासले निर्णय गर्छ । अन्यत्र चटकीहरू भालु नचाउँछन् यहाँ भालुहरू चटकीलाई नचाउँछन् । अन्यत्र घरमा मानिसहरू बस्छन् यहाँ घरहरू मानिसमाथि बस्छन् । अन्यत्र शिक्षाले मानिसलाई ज्योति दिन्छ यहाँ शिक्षाले मानिसको ज्योति लैजान्छ । अन्यत्र अस्पतालले विरामी निको पार्छ हाम्रोमा बाँचेर मरिरहने बनाउँछ । अरूहरू खुसी र सुखमा हाँस्छन् हामी हाम्रो दुर्दशामा हाँस्छौं । अरूहरू एकत्रित हुन्छन् हामी विभाजित हुन्छौं । अरू जोड्छन् हामी फोड्छौं । अन्यत्र राम्रो पुरष्कृत हुन्छ यहाँ हाम्रो पुरष्कृत हुन्छ । अरूहरूले जुस खान्छन् हामी घुस र भुस खान्छौं । नेपालीले नागरिकता पाइएन भनेको ठाउँमा साइकिल घिसारेर बोर्डर पार गर्नेले नागरिकता पाउँछ । राशन कार्ड र नेपालको नागरिकता साथसाथै चल्तीको खल्तीमा बोकेर हिँडेपछि उता रासन मिल्ने यता आसन र शासन मिल्ने कति फाइदा ? सिमानाका दशगजाका खुट्टा छन् ? पँखेटा छन् ? केही छैनन् तर हेर्नुस् त एक रातमा झण्डै एक किलोमिटरसम्म आइपुग्छन् । दशगजा हिंडेपछि घर हिँड्दैन भन्न मिल्छ ? हाम्रोमा ढुङ्गा टुसाउँछ र उन्युँ फुल्छ भन्दा फरक पर्छ र ? अन्यत्र भन्दा विपरित छ हाम्रोमा जून दिउँसै लाग्छ र घाम राती । जनावरहरू दुई खुट्टे छन् । दिउँसो गर्ने काम राती गर्ने भएपछि यसो भन्दा केही बिग्रन्छ र भन्या ? खै यतिका नयाँ कुरा हामीले सार्वजनिक गरेको ? त्यसै पहिचान प्राप्त हुन्छ ?
मलाई किन यस्तो कुरा गर्न आयो ? तपाइँलाई भनिदिऊँ हिजो बिहान मैल बोकाको घीउ दलेको पाउरोटी र गोरुको दुधसँग कुखुरोको अण्डा खाएको थिएँ । यसो भन्दा तपाइँ एकै झट्कामा विश्वास गर्नु पनि हुन्न होला । यसलाई सजिलै बुझाउन हामीकहाँ गन बोक्ने डनहरूको आवश्यकता पर्दछ । एक दुईवटा उदाहरण दिएपछि भने यी कुरा सजिलै बुझ्न सकिन्छ ।
मकहाँ बिहान दूध ल्याउने ग्वाला छन् । उनको सङ्गठन छ– नेपाल दूधपानी सबलीकरण सङ्गठन । उनले ल्याउने दूध सेतो देखिन पनि छोडिसकेको छ तर यो दूधमा पानी हो कि पानीमा दूध हो भनेर सोध्न पनि पाइँदैन । उनले नारा जुलुस गर्न थालिहाल्छन् । दुधको शुद्घतामा प्रश्न उठायो भने त लाठाधारी आउँछन् र रामधुलाई गर्ने धम्की दिन्छन् । हिजो बिहान डराइडराइकन सोधें, बाबु यो दूध केको हो ? उनले तिखो स्वरले जबाफ दिए गोरुको । गोरुको पनि दूध– भन्नै नपाइ उनी बोले गाईको मात्र दूध हुन्छ भन्नेहरू त प्रतिगामी हुन्छन् । कुरा पनि हो जहाँ गोरु ब्याउँछ त्यहाँ गोरुको दुध पाइन्छ भन्नु त स्वाभाविक नै हो नि । मलाई प्रतिगामी बन्नु र भनिनु त छैन त्यसैले भनिदिएँ मैले बिहान खाने दूध गोरुको हो । अब कुरा रह्यो कुखुरोको अण्डा । म कहाँ लोकल कुखुराको अण्डा आउँछ । त्यस्तो अण्डामा पोथी एक्लोको हक हुँदैन रे । भालेविना पोथीले अण्डा नकोरल्ने भएपछि अण्डामा कुखुरोको पनि त हक दिलाउनु प¥यो भन्ने मनसायले कुखुरोको अण्डा भनेको जबाफ दिए अण्डा प्रदायकले । उनको पनि नेपाल अण्डा डण्डा सङ्घ नाम गरेको संस्था छ । उनीहरूले भनेअनुसार टाउको नहल्लाउनेलाई काँचो अण्डा मुखमा कोचाएर डण्डा हान्ने प्रावधान छ रे । त्यसकारण उनको कुरा नमान्ने त झनै कुरै भएन । बाँकी रह्यो बोकाको घीउ । घीउ ल्याइदिने महानुभावकहाँ हरेक वर्ष पूजा गर्ने र त्यसका लागि बोका पर्सिने चलन रहेछ । बोका पर्सेपछि घिउ पनि छुट्याउनु पर्ने रहेछ । त्यसरी छुट्याएको घीउलाई बोकाको घीउ भनिँदो रहेछ । उनले त्यही घीउ मलाई ल्याइदिएका रहेछन् । उनले नयाँ नेपालमा धर्म परिवर्तन गरे अरे । कर्म र धर्म परिवर्तन गरेपछि त्यो बोकाको घीउ मकहाँ आइपुग्यो । हेर्नुस् त यस्ता कुरा संसारमै अद्वितीय छन्, के यो कुरा हाम्रो परिचयको लागि काफी छैन ?
नेपालमा जजसले जे गरे पनि प्रतिकार नगरी बस्ने बुज्रुगहरू छन् । बजार भाउ दिनप्रतिदिन उकालो चढ्छ लुरुलुरु तिर्छन्, तेलको मूल्य बढ्न नपाई बढ्छ तर अन्तर्राष्ट्रिय बजारमा घट्दा भने घट्दैन तर कोही बोल्दैन । निजी विद्यालयहरूले बच्चाहरूको दिमाग खुइल्याएका छन् र अभिभावकको घरव्यवहार धुल्याएका छन् तर हामी खुसी छौं । बजार भाउमा नेपाल सकेजति कमाउ सङ्घको कुरा मान्नुपर्ने, यातायातमा नेपाल मनपरि यातायात सेवाको आदर्श शिरोधार्य गर्नुपर्ने, स्कुलमा नेपाल पढाए पढाऊ नपढाए पनि नपढाऊ सङ्गठनको विधान मान्नुपर्ने, विश्वविद्यालयमा आप्mनो विश्वविद्यालयमा नपढाऊ अन्यत्र गएर कक्षा चलाऊ प्रध्यापक सङ्घको विधान मान्नुपर्ने, कार्यालयहरूमा नेपाल घुसकमिसन सङ्गठनको विधान मान्नुपर्ने, नेपाल पत्रकार अलपत्र पार सङ्गठनले जे जे भन्यो त्यही पालना गर्ने । मुलुकमा जे गरे पनि नबोल्ने मान्छे र जोत्दा जति दपेटे पनि लुरुलुरु मान्ने गोरुमा के फरक छ ? त्यसैले हामी गोरु हौं अरे, दुध ल्याइदिने महानुभावले गरेको व्याख्या हो यो । यति धेरै विशेषताहरू रहेछन् हाम्रा । अनि पहिचानको खडेरी कसरी प¥यो ? हामी महान् छौं । हाम्रो परिचय जिन्दावाद ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































