साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शेषराज भट्टराईको व्यङ्ग्यवेद हेर्दा

Nepal Telecom ad

उहिल्यै एकदिन व्यङ्ग्य शिरोमणि वासुदेव शर्मा लुइटेललाई मैले आफ्नो एक कविता सुनाउँदा उनले तिमीहरू भोक, रोग र शोकले मरन्च्याँसे बनेका जनतालाई एकछिन भए पनि हँसाउनेतर्फ नलागी रुवाउने खालका यस्ता कविता लेख्छौ र काम लाग्दैनौ भनेका थिए । वर्तमानका नयाँ नेपाल निर्माण गर्ने नेताहरूले पनि हामी जनतालाई हँसाउँछौँ भन्ने नारा दिएर अगि सरेका भए पनि जुवाडेले जूवा मारेर हाँसेझैँ खालका खाल जूवा मारी आफै गद्गद् भएर हाँसिरहेका छन् । स्वर्ग जान नपाउने गरी पृथ्वीमा तल खसेका मानिसहरू चाहिँ जहाँको त्यहीँ रछानको खाडलमा परिरहनु र नर्के कीराको जीवन बाँचिरहनु चाहिँ लोकोत्तर व्यङ्ग्य भएको छ ।

यस्तो अवस्थामा हामी जस्ता लेखकको के काम छ र ? मरन्च्याँसे जनतालाई हँसाउने दम भए पो ! गम खाएर भन्नुपर्दा नेपाली जनताले आफ्ना प्यारा नेताजीलाई पेट मिचिमिचि गलल्ल हँसाउनुुसम्म हँसाए सत्ताको स्वाद चखाएर; तर उनीहरूको ओठ चाहिँ भोकले कलेंटी परेको प¥यै छ, पेट खुम्री परेको प¥यै छ । नेताहरूले गरेको वाचा–बन्धन र जनताप्रति गरेको हमदर्दी त केवल ‘म खाऊँ, मै लाऊँ, सुखसयल वा मौज म गरुँ’ भन्ने सिद्धान्त नै त रहेछ नि ! आफूले जेलनेल भोगेर आफ्नो अंश सर्वस्व गरी कमाएको दौलत नाथे जनतालाई सम्पन्न पारी हँसाउन होइन नि ! आफै सम्पन्न बनेर हाँस्न पो त्यसो गरेका हुन् त ! हाम्रा नेता त कति बाठा ! जो राजनीतिको रेशमी लाल फेटा टाउकोमा गुतेर सुरा, सुन्दरी र भ्रष्टाचारको मातमा प्रमत्त भै रङ्गमञ्चमा अर्धनग्न बनी प्रदर्शन गर्न तल्लीन छन् । उनीहरूलाई आफ्नो धोती खुस्केको पनि थाहा हुँदैन । नेताहरू त पागल पनि होइनन् नि ! रङ्गमञ्चमा अभ्यस्त रङ्गकर्मी पो हुन् । पागल त सडकमा पो अर्धनग्न बनेर दौडन्छ, पागलले राजनीतिको रेशमी वस्त्र ओढेको हुँदैन, दस ठाउँ दुलो परेको बोरा वा प्लास्टिकले आफ्नो आङ ढाक्तछ । पागल ढी प्रलाप गर्छ, कसैलाई सराप्छ, कतै ढुङ्गा हान्दै, धूवाँ र छारो उडाउँदै, आकाशमा हेरेर थुक्तै पृथ्वीमा दौडन्छ । बोलीको ठेगान हुँदैन । नेताहरू पागल नभए पनि बोलीको ठेगान चाहिँ हुँदैन, यसैले पात्रसँग नेताहरूको हर लक्षण नमिले पनि यो चाहिँ लक्षण सयमा सय मिलेको छ ।

अब यस्तो जमानामा जनतालाई कसरी हँसाउनु र ? बुढा वासुुदेव पो जोक गर्न जान्दथे र ‘कौवा प्रकाशन’ खोलेर पनि जोकर बनी हँसाएका थिए । आफूले त त्यो पनि जानेको छैन । उनले मलाई काम लाग्ने मान्छे होइनौ भनेको ठीक रहेछ ! मैले न राजनीतिको लाल रेशमी फेटा गुतेको छु, न त गरिब जनताको आँसु पुछेको छु ! अनि म कसको काम आएँ र ? पछिल्लो पुस्ताका व्यङ्ग्यविनोदी मेरा मित्र नरनाथ लुइँटेलले एकदिन मलाई ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ भन्ने शेषराज भट्टराईको पुस्तक व्यङ्ग्यवेद मेरो हातमा थमाउँदै तपाईं पनि यसमा केही लेखिदिनुहोस् न भनेर आग्रह गर्नुभो ।

मित्रले मलाई उठाउन चाहेको हो कि सुताउन केही थाहा भएन । किनभने म कुनै पुस्तकको पनि विवेचन गर्न जान्दिनँ । त्यसमा पनि व्यङ्ग्यवेद जस्तो बृहद् विषयमा हात म नामको अभयलाई भय भएकै हो; किन ढाँट्नु र ? ढाँटेको कुरा काटे मिल्दैन । नेता भए पो ढाँट्न पनि सुहाउँछ, लेखकलाई त ढाँट्न सुहाउँदैन । सर्वसाधारण जनता राजनीतिमा कता के भइरहेको छ थाहा पाउँदैनन्, चासो पनि राख्तैनन् । उनीहरूको समस्त ऊर्जाशक्ति उँभोपट्टि हाल्ने एउटा मुख र उँधोपट्टि फाल्ने दुईवटा मुख भएको छ । छालाको थैलो भर्नमा नै खर्च भइरहेको छ । यस्तालाई कसरी हँसाउन सकिन्छ र ? शेषराजले पो जनतालाई हँसाएका छन् कि भनेर उनका कृतिमा ‘काकस्नान’ गरियो । पोखरीको डीलमा बसेर कागले नुहाएजस्तो गर्नेले पोखरीको गहिराइ र पानीको परिमाण नाप्न सक्तैन । तर पानीको चिसो र तातोपन भने थोरबहुत थाहा पाइयो ।

शेषराजजी पनि श्लील व्यङ्ग्य गर्न निकै खप्पिस रहेछन् । त्यसमा पनि राजनीतिक माहौलमा रङ्गिएर व्यङ्ग्य गर्न धेरै सिपालु मान्छे भन्नुपर्छ उनलाई । उनको व्यङ्ग्यवेदमा धेरै व्यङ्ग्य र थोरै हास्य भएको पाइयो । हास्यव्यङ्ग्य विनोदी लेखकले त छोरा होऊन् वा छोरी दुवै बराबरी गर्नुपर्ने हो भन्ने मेरो मूढ बुद्धिमा फुरेको हो । हुन त उनको विवेच्य कृति हास्यव्यङ्ग्यवेद नभएर व्यङ्ग्यवेद मात्रै त हो नि ! मैले पनि के भनेको हुँला ! लेखकहरूले लेख्न पाए भने जे पनि लेख्छन् भनेको ठिकै रहेछ जस्तो लाग्छ । मैले पनि मेरा मित्र नरनाथजीको आग्रह टार्न नसकेर शेषराजजीको कृतिलाई सर्सर्ती हेरेर खर्खर्ती लेखिटोपलेको मात्रै हुँ ।

लेखकले जनतालाई, अझ भोकानाङ्गा जनतालाई हँसाउने खालका लेखनिबन्ध रचेर के नै पाउँछ र ? तर शीर्ष दलका शीर्ष नेतृत्वलाई पेट मिची मिची हँसाउने खालका रचना लेख्न सकियो भने मात्रै त लेखकले पनि आफ्नो दशा सुधारेर आफ्नो मरन्च्याँसे जीवनमा काचुली फेर्न पाउँछ । अन्यथा ‘आकाशको फल, आँखा तरी मर’ सिवाय के पाउन सक्छ र ? यता तर्फ लेखकको दृष्टि नपुगेको देखिन्छ । नेतालाई लेखकले वा जनताले अर्ती–बुद्धि दिने होइन, अर्ती–बुद्धि दिने काम नेताको मात्र हो, अरुको यसमा हक लाग्दैन । लेखकजस्तो ‘सडकछाप’ मान्छे भएर पनि शेषराजजीले आफ्नो विचार अर्ती–उपदेशको रुपमा घाममा सुकाउन फिंजाएको बिस्कुन जस्तो मैले सोहोर्न पाएकोमा भने उदेक लागेको छ ।

वास्तवमा काम नलाग्ने मानिस भनेको कवि–लेखक नै हो र साहित्य कसैलाई पनि काम नलाग्ने कुरा हो भनेर लुइटेल बाजेले भनेका होइनन् होला ! उनले मलाई मात्रै काम नलाग्ने मान्छे हो भनेका हुन् भन्ने बुझ्नु आइतवार बार्नु पर्दैन । एक छिन गलल्ल हाँसियो भने एक दिन आयु बढ्छ भन्ने कुरा आफूले मात्रै जानेजस्तो गरे ती बूढाले पनि । मैले पनि यस्तो कुरा जानेकै थिएँ नि ! भैरव अर्यालले अरुलाई ‘काउकुती’ लगाएर हँसाए पनि आफूले चाहिँ हाँस्नु त परै जाओस्, आफूसँग भएको छालाको तीनमुखे थैलो भर्न नसकेर त हो नि ! गोकर्ण छेउको बाग्मतीको पूलबाट हाम फालेर इहलीला समाप्त गरेका । अथवा म जस्ता सम्भ्रान्त परिवारको बारेमा भए नभएका कुरा लेखेर जनतालाई हँसाउने भएको सिल्ली भैरेलाई नमारी छोड्दिन भनेर कुनै संहारक भैरवले नै मारेर फलिदिएका हुन् कि ! के थाहा ? राजदरबार जस्तो सुरक्षित ठाउँमा पसेर नरसंहार गर्ने संहारक भैरवले ‘सडकछाप’ लेखक भैरुलाई मार्न आइतवार बार्नै पर्दैन । त्यसर्थ शेषराजजी ! तपाईँले आफ्नो टाउको कसरी जोगाउन सक्नुहुन्छ ? भविष्यले बताउला ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सुनको फुल पार्ने पोथी’ कृतिमा मजगैयाँकाे हास्यव्यङ्ग्य शिल्प

‘सुनको फुल पार्ने पोथी’...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x