घाउको आदत
घाउ हो यो
नकोट्याऊ
थाक्न दिनुपर्छ यसलाई
निको हुन दिनुपर्छ,
तिमीले भने जस्तो
निको हुने भए आजको भोलि
घाउलाई कसले घाउ भनिरहन्थ्यो ?
थाहा हुनुपर्ने हो तिमीलाई
कति घाउहरूको आयु
लामो हुन्छ…
जीवनको भन्दा पनि
मृत्यु नै पखिर्नु पर्छ
निको हुन
कति घाउहरूले !
किन घाउ घाउ भनेर बर्बराउँछौ ?
किन घाउ घाउ भनेर घबराउँछौ ?
दुख्नु यहाँ
जीवनको स्वभाव भैसकेको छ
अनेक बहानामा
अनेक चाहनामा
खोंचमा जीवनको गहिराई खोजेर
अक्करमा जीवनको उचाई खोजेर
बालुवामा पानीको अर्थ खोजेर
मान्छे आखिर दुखिरहन्छ
ठोकिंदै हिंड्न खोजेर
साँगुरा गल्लीहरूमा,
तिमी
कोट्याई रहन्छौ आफ्नो घाउ
र दुख्यो भनिरहन्छौ ….,
तर मलाई थाहा छ
कि तिम्रो शैली
जीवन बिरुद्धकै भए पनि
एउटा नसा भएको छ मान्छेको
बाँच्ने प्रक्रियामा,
मलहम लगाउने बहानामा
म पनि कोट्याई रहेछु तिमीलाई
र भनिरहेछु…
“घाउ हो यो
नकोट्याऊ
थाक्न दिनु पर्छ यसलाई
निको हुन दिनुपर्छ ।”