रुद्र खरेलझाडीमुनिकी द्रौपदी : ठमेलका साइबर सिर्किस्न
(नेपाली हास्यव्यङ्ग्यका शक्तिशाली कलमवाज दिवङ्गत खरेलप्रति फित्कौली शब्दश्रद्धा व्यक्त गर्दै फित्कौलीको ११ औं अङ्कमा प्रकाशित यो उहाँको हास्यव्यङ्ग्य प्रस्तुत गर्दछ ।)
‘चारकोसे झाडीमा सालनालसहितको शिशुलाई ‘छोरी रहिछे’ भनेर धेरैले हेर्दै छाड्दै गरे । घाँस काट्न गएकी शान्ति सुनारले धमिराकमिला लागेको शिशु जब देखिन्, मन थाम्न सकिनन् । अरूले छुन पनि घिन माने….’
निजगढको यस घटना प्रति छापाले टाढा कान लाएछ । तर, गैंडाको छाला ठमेललाई घिउकमिलाले चिरिक्क टोके जस्तो होस् त मेरिबास्सै ! तीन पिलेट भसीको मःम हर्सले उतर्सिएर लफन्न्याउनेथें । वैंशले कुतकुतिएको ठमेललाई हिपहिप शैलीमा रिमिक्स र ज्याजको फाइँफुट्टी लाउँदैमा फुर्सद छैन । ठमेलमा त थैलीको मुख खोलिदिएपछि दिउसै रात पर्छ– बैंसले ताजन दिएपछि टुकुचा उत्ताउलिन्छ । उसलाई के मतलब झाडीभित्रका भन्ट्याङभुन्टुङ लन्ठ्याङलुन्ठुुङसँग ? समाचारले उसको टाउको टन्केन, दिमागभित्र कतै खिल उकुच पल्टेको जस्तो दुखेन, मलाई जस्तो थाप्लामा भुतभुते खन्याएको अनुभव पनि भएन; चितुवाका हजार गोठ भनेझैं निजगढमा एउटी पिउसीलाई धमिराले खाएर ठमेललाई के फरक पर्छ ? बनसाङलो पसेको ठमेलको खोपडी भालु बाँसको सोतोजस्तो सोलोडोलो धोद्रो छ । जसको दिमागै भित्रबाट धमिराले तादी नै खाइसक्यो, बाहिरबाट कसैलाई चिथोर्दा उसलाई के फरक पर्छ ? होइन, आज चिलाउनेको रुखमा तुन्दु्रङ्ग झुन्डिएको चिचिन्डो जस्तो टुइँकेमा जिन्स पेन्ट झुन्ड्याएर ठमेल कतातिर मुन्टिदैछ हँ ? उल्टो क्याप लाएको ठमेलमा वास्तवमै, कम्बल बर्सिएर पानी भिज्छ । हे ! कलियुगका राधाकृष्ण हजुरहरू भालेको सिउरजस्तो टाउकामा गग हल्लाउँदै कम्मर मर्काई मर्काई रासलीला रचिस्योस्;
यु नो आई लभ यु सो मच
बट गर्ल आई एम सो आउट अफ टच
उता कोलम्बियाली तरुनी कोही देवकीको कम्मर अँगालेर टुइँके हल्लाइरहेछ, हाम्रो युगको वसुदेव !
‘ह्वेनेभर ह्वेरेभर
वी विल लर्न टु बी टुगेदर …..’
हे ! मोरमुकुटरधारी सिर्किस्न प्रभो ! कपाल रङ्गाएर चम्किलो पारिस्योस्, पङ्क स्टाइलको हेयरकट पारिस्योस् र जङ्की रूप धारण गरी कम्मरमा हेल्मेट झुण्ड्याउँदै ओठ, नाइटो र स्तनमा ट्याटु खोपाएकी टौदहकी कर्कोटक नगिनीका थाप्लामा धित मरुन्जेल नाचिस्योस् ! अँ, उता नजर बक्स होस् राधाका खिरिला खुट्टामा ट्याप्पै टाँसिएको जिन्सपेन्टतिर । मेरिआमै ! कस्तो टिमिक्क परेकी रुक्मिणी मोरी ! घुँडासम्म आउने जिन्सपेन्ट, त्यसभन्दा तल अग्ला न अग्ला चरिचुच्चे जुत्ता, सेतो ज्याकेट अनि अठार बर्खे चम्किलो रङ्गीन केश फरर ! पछाडितिर हेरिस्योस् त हे ! अन्तर्यामी प्रभो ! झोल घोप्ट्याए जस्तो मुख लाएर छिल्लिनै लागेको अमेरिकनसँग मन लागी नलागी नाचिरहेछिन् रुक्मिणी भाउजू । हे प्रभो, हजुर नै हाम्रो महानायक सिर्किस्न । यस धर्मक्षेत्र ठमेल क्षेत्रमा आज्ञा होस्, अर्को श्रीमद्भागवत गीता– ‘यदा यदा हिं धर्मस्य ग्लानिर्भवति भारत…. ।’ तर, प्रभो ! आजको साइबरपङ्क–साइबर जङ्की युगमा के काम छ नाथे पाञ्चजन्य शंखको ? हामीलाई त उग्र रक म्युजिक, उन्मत्त तातो गीत बक्स होस्, जसले गर्दा हजुर जस्ता महानायकलाई आजका तरुनी तन्नेरीले नभनून् – मामपाका सिर्किस्ने झुर आउट ! के जाति डट् डट् डट् झ्याउरे आउट ! प्रभो ! यो श्रीमद्भागवतको पवित्र वाणी होइन, एक्काइसौं शताब्दीको ‘पङ्स वाणी’ हो– कानमा पस्यो कि कहिले हाँसू–हाँसू लाग्ने, कहिले टुकुचाको नर्कट घारीमा लुकेर धित मरुन्ज्याल रूँ–रूँ लाग्ने !
सोमरसका कुरा वेदमा पढिस्या छ ? उत्तरआधुनिक युगको भाषामा त्यसलाई रेड लेभल वाइन भनिन्छ । हुन पनि यस साइबर युगमा कसले सिलौटोमा खल गरोस् गुर्जोको जरो र कमण्डलुको पानी घोलेर बनाओस् बाहिरै चिसो भित्रै चिसो सोमरस ! ऊः त्यो रातो झोलमा कोकाकोला कम्पनीको अलिकति स्प्राइट घोलिस्योस् र पाँचदश घुड्का सटासट अचाइस्योस् ! कहाँको राजा राम कहाँको गने भँडारी ! कहाँको खल गरेको गुर्जोको जरो र कमण्डलुको चिसो पानी, कहाँको निल्दा चिसो आन्द्राभित्र छिरिसकेपछि फिदर ज्याकेट जस्तो भित्रैबाट तात्तिएर आउने आधुनिक खोयाबिर्के रानी ! जिउनार गरिस्यो ? हो, यस्तै आनन्द आउँछ–तिरिमिरी झ्याईँ ! यो संसार भनेको तुलिगाँडाको रंगमञ्च तोरीबारी हो, हेरिस्योस् त कस्तो पहेँलपुर इन्द्रपुर फुल्यो ! हे प्रभो, यस धर्मक्षेत्र ठमेल क्षेत्रमा मथुराका माउ गाइको फिला दुर्लभ भएपनि बेलायतका बाच्छी र कतै उतै कुरुक्षेत्रतिरको जर्सीको सिकुटी छ्यास्छ्यास्ती पाइन्छ । तारे होटलमा सुकुटी चपाउँदा जनै खोल्नु पर्दैन राजन् ! यहाँ भाइ बलरामको पनि कुनै चिन्ता लिनु पर्दैन । हुन सक्छ–उनको प्रेमको हलो कतै ठुटामा अड्किएको छ । उनी झिलिक झिलिक गर्ने उत्तरआधुनिक यन्त्र मुख र कानमा राखेर घरि एक्लै बोल्छन्, घरि एक्लै हाँस्छन् । कृपा होस् प्रभो, उनको माया पिर्तीको हलो भिलियनको ठुटे जराबाट खुस्कियोस् ! उनको दिमाग नसड्कियोस्, मथुराको रैथाने गाईको घिउकेवरा रंगको नौनीका सट्टा भोलिपर्सिदेखि उनी नलट्ठऊन् नाम नखुलेको कालो खैरो पदार्थमा ! उनको मायाको हलो भस्मेको डढुवा ठुटामा अड्कियो भने के मात्र हुँदैन र प्रभो !
नीला आँखा र सेता तिघ्राहरूमा दिनभरि ठमेलको घाम सुरेली खेल्छ । चौबीसै घण्टा दुस्शासनले गहुँगोरा द्रौपदीहरूको सारी तान्छ । हे ! उल्टो क्यापधारी खोयाबिर्के तथा बिफआहारी प्रभो ! मसाजकेन्द्रमा विवश द्रौपदीहरू, गान्धारी र कुन्तीहरू भित्र–भित्र रोएर पनि बाहिर स्मित मुस्कानका साथ आफूलाई समर्र्पण गर्छन् । हरेक दिन, हरेक रात, किच्चकहरू उनीहरूको अस्तित्व र अस्मिता लुट्छन् । ठमेलमा आइसकेपछि के को लाज ? यहाँ त चीरहरण होइन, पीरहरण पो चाहियो प्रभो ! यहाँ प्रेम छैन, लिनु दिनु– पाउनु गुमाउनु छ । हे ! साइबर पङ्केश्वर ! हे जङ्केश्वर ! पालिस्योस्् रासलीला मच्चाउन मसाज केन्द्रहरूमा । अझ उत्पात मचाइस्योस्् ज्याजको जंगलमा । सयौं–सयौं गोपिनीहरू हजुरका काखमा आफूलाई समर्पण गर्न प्रार्थना गर्दै छन्– सिर्किस्न गोविन्द हरे मुरारे ! हे नाथ, नारायण वासुदेव !
घाँटीमा फूलको सट्टा महँगो आइपोडको माला, कानमा कुण्डलका सट्टा इयरफोनको जालो, छाँतीमा कौस्तुभ मणिको सट्टा भालुको नङ्ग्रा, टाउकामा मोरमुकुटका ठाउँमा कालो गग, अनि सुदर्शन चक्रका ठाउँमा चेनमा झुन्ड्याइएको स्प्रिङ्गवाला छुरी, चम्किलो रङ्गीन कपाल, घुँडासम्म च्यातिएको जिन्स पेन्ट, सिग्रेट र के जाति रंगको धुलोको धुँवाले डामेका बाँसुरी बजाउने फुस्रा ओठ, खुट्टामा डिङ्गो बुट, घरिघरि मोबाइलबाट च्याट, नर्कटलाई पेन्ट–ज्याकेट लगाइदिएको जस्तो ज्यान, यही हो प्रभुको विश्वरूप दर्शन ! हजुरलाई देख्दै गोपिनीहरूको जाबो चीरहरण त के कुरा, पीरहरण पनि हुने पक्का पक्की छ । प्रभुको ठमेल गीताले अदुभूत दर्शन ओकल्छ – आइमाई भनेका अन्नबाली चना हुन् । हो, उनीहरूलाई चनाजस्तै गाईजात्राको क्वाँटी बनाउन सकिन्छ; गेडागुडी, मासुका टुक्रा र अलिकति अमिलो तामा हालेर । घर बढार्ने कुचीकार, भान्से, बाथरुमको गन्जीकट्टु सित्याइँमा धोइदिने धोबी, लाएअराएको काम गर्ने नोकर्नी र सबभन्दा गाँठी कुरा आफ्नो शारीरिक भोक राम्ररी पूरा गरिदिने सुवासिनी अर्थात् स्वास्नी रूपमती–बुद्घिमतीहरूका भूमिका हुन् । हे प्रभो ! यी सबै कुरा एकै ठाउँमा मिलाए पछि काइदा किसिमको क्वाँटी बन्छ, झारमुडी बन्छ । प्रभुलाई थाहै छ –कसरी चनाको सातुझैं ठमेलमा महिला अस्मिता उड्छ ? कसरी बम्बईका अँध्यारा गल्लीहरूमा उडेको चनाको सातु सामुद्रिक भुँवरीमा रुमल्लिएर महासागरमा धुलिधङ्कड हुन्छ ? सुनिस्यो ? अचेल त कति भ्रूणमै सातु बनेर उड्छन् रे ! हे पङ्सहरूका परमेश्वर ! नारी भनेका चनाको पिठो हुन् । गोकुलको प्याजमा हाले पनि ठिकै, हस्तिनापुरको सागमा हाले पनि ठिकै, साह्रै भोक लागे त्यसै बुक्याए पनि ठिकै । जो बोल्न सक्दैनन्, भित्रभित्रै बाफिन्छन् – ती खालि पकौडा हुन् प्रभो ! सडक सिनेमा, भिडभाड बस, चोक, अफिस र गल्लीहरूमा खास गरी युवतीहरू खाँटी चटपटे हुन् – जिब्रामा ट्वाक्क ! हे परमपङ्केश्वर नारी भनेको साँच्चि नै चना हो – दाल हो, झोल हो, आलुचना तरकारी हो, चनाचाट हो, चनाचुर हो । चिउरामा राखेर चपाइस्योस्, नारी चना भुजिया दालमोठ हो, भातमा राखेर कुरुम–कुरुम चपाइस्योस्, नारी स्वादिलो पापड हो, अथवा चिनीको पाक हालेर बनेको बेसनको गुलियो लड्डु हो । भातको साँटो खाइस्योस्, भिजाएर खाइस्योस्, आलुसँग खाइस्योस्, दालसँग खाइस्योस्, सुकुटी मासुसँग खाइस्योस्, हरियो सागै खाइस्योस् कि कोसा पाकेपछि खाइस्योस्् अथवा खरपराल झिक्राझिक्री बालेर हरियो कोसा पोलेर होराहा बनाइस्योस्–नारी वास्तवमै चना हुन् । ठमेल गीता अनुसार नारी फ्राइफुड हुन, फास्टफुड हुन, लन्च, डिनर, स्न्याक के मात्र होइनन् र जङ्केश्वर प्रभो ? कराहीमा पकाइस्योस् कि कसौडी हाँडी वा टिनको ह्वार्लाङेमा भुटिस्योस्, कुकरमा उमालिस्योस् कि ताप्केमा ओकाईफकाई गरिस्योस्, हे गोपिनीहरूका वस्त्रचोर प्रभो ! त्यो हजुरको इच्छा हो, मथुराको मस्याममा मिसाउनु पर्छ कि, गोकुलको गहतमा, इन्द्रप्रस्थको इनारको पानीसँग गेडै मुक्क्याउनु पर्छ कि कान्दाहारको केराउसँग– त्यो प्रभुको रुचिको विषय हो ।
हिपहिप शैलीको रिमिक्स र ज्याजको संगीतमा झुमेर उल्टो क्याप यताउति फर्काउँदै कालो पदार्थ र चुरोटको धुँवा मिसिएको मगमगाउँदो ह्वास्स सासमा लट्ठिएर राधाद्वारा म्वाई खाइएका हे ! सर्वज्ञानी साइबर सिर्किस्न प्रभो, एकपटक झाडीतिर नजरबक्स होस् । धमिरा र कमिला गोहीहरूले निल्न लागेकी हाम्रो युगकी द्रौपदीलाई धमिरा–कमिला मोक्ष गरी रच्छे गरिबक्स्योस् । हे ! नटराज, यो भक्त हजुरको भाइव्रेन्ट स्ट्रीट फेस्टिबलमा लामो चम्किलो कपाल फरर पार्दै उत्तरआधुनिक ताण्डव शैलीमा नृत्यरत हजुरको विश्वरूपको फेरि पनि संझना गर्दै साष्टाङ्ग दण्डवत् ढोग सेवा टक्र्याउँछ । आगे अन्तर्यामी महापङ्केश्वर प्रभु जाने । यस भक्तलाई जो कृपा ।
हजुरको परम् भक्त
रुद्रायल खरेलोत्सकी
ज्याजमाडौं
Subscribe
Login
0 Comments
Oldest







































