साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानी रे पानी !

Nepal Telecom ad

काकाकुल सहरका प्राणीहरू ! तपैँहरू पनि मजस्तै पेट पूजा गर्न भातसात पकाउन पानीको खोजीमा पसिनाको खोलो बगाउँदै हुनुहुन्छ कि क्या हो ?

के गर्नु जति पसिना बगाए पनि पानी देवतालाई प्रसन्न पार्न पटक्कै सकिएन क्यार ! विना पानी सुक्खै पकाएर खान पनि मिलेन । बरू पानीको सट्टा पसिनाले नै भए पनि काम चलाउनु पर्ला जस्तो छ । नहोला त यसो गर्न ?

अलि महिना अघिसम्म त यसो आक्कल झुक्कल झुक्याएरै भए पनि धारो रसाएको झुलुक्क देख्न पाइन्थ्यो । तर विगत केही समयदेखि त धारामा पानीको सट्टा कमिलाले पो भूमिगत सुरुङ मार्गको प्रयोग निर्धक्क भएर गरिराखेका छन् ए गाँठे ! किन यस्तो भयो होला भन्ठानेर आफू त घोत्लेर सोच्यासोच्यै ।

२२ मार्च ‘खाने पानी’ दिवस पर्छ । त्यसैको खुसियालीमा हरेक वर्ष ‘खाने पानी संस्थान’ले ‘खाने पानी सप्ताह’ मनाउँछ । अब आफ्नै दिवस भव्य रुपले मनाए त पुगिहाल्यो नि ! कहाँ सर्वसाधारणको खिया लागेको धारामा जानु भनेर नआएको पनि हुनसक्छ । हुन पनि हो, ठीक समयमा आम मानिसको घरको धाराबाट धरररर भ’र रित्ता गाग्रीबाल्टी भरिई सर्वसुलभ भै दिने हो भने जलदेवको महत्व घटिहाल्छ नि ! अनि कसले पानी ! पानी ! भन्दै हरबखत रट्दै महत्व बढाउछ र ? त्यसैले आफ्नोे प्रेस्टिजको ख्याल गर्दै महिना पन्ध्र दिनमा यसो एकछिन आएको जस्तो गरेर दर्शन दिने कृपा गरे त पुगिहाल्यो क्यार ! मान्छेहरूले पानी विना कसरी आफ्नोे जीवन चलाउलान् भनेर बित्थामा किन सोच्नु पर्यो र ! उनीहरूको जीवन, उनीहरूको टेन्सन उनीहरू नै सोचून् के गर्ने भनेर । ‘खाने पानी संस्थान’को काम त पानी दिने हैन, बिल दिने र पैँसा लिने हो । अनि यसो बेलाबेलामा ‘पुग्दो सेवा दिन नसकेकाले क्षमा प्रार्थी छौँ’ भनेर विज्ञप्ति निकाले त पुगिहाल्यो नि ! सर्वसाधारणहरू पानी विना बगरमा मिल्का’को माछाजस्तै छट्पटाउँदै मरे मरून्, के मतलब, हैन त हाकिम सा’प ? पानी दिने जिम्मा लिँदैमा पानी दिनैपर्छ भन्ने कुरा संविधानको कुनै पनि धारा अथवा उपधारामा लेखिएको छैन क्यार !

पानी नदिए पनि केही हुँदैन तर ‘पानी दिवस’ र ‘पानी सप्ताह’ चैँ राम्ररी मनाउनुपर्छ । यसो देशी विदेशीलाई पनि त काम गरे जस्तो गरेर देखाउनु प¥यो । चैते हुरीले उडा’को छारो सबैको आँखामा हाल्नुपर्यो नि ! अनेक परियोजनाको योजना गर्नुपर्यो । फाइभ स्टारमा सिटिङ, मिटिङ, र फिटान नहुन्जेल इटिरू गर्नै पर्यो । फाइलमा लेखिएका धाराबाट धररररर पानी झारेर देखाई हरिया डलर झ्वाम्म पार्नु पर्यो । मेरी बाबै ! काम त कति हुन् कति, गरिसाध्ये भए पो !

जेहोस्, घरघरको धाराबाट चैँ बिल बढाउने हावा पठाए भैहाल्छ । कुर्सीराम र मनीरामको महलमा ट्याङ्गरबाट ट्याङ्गी फूल भैहाल्छ । अनि तपैँ हामीलाई चैँ आश्वासन दिँदै सधैँ फुल बनाए भैहाल्यो नि, हैन त !!

‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x