विश्व विनोदडाइबरसाब
खन्ट्याङ मन्ट्याङ परेको बाटोमा लिन्ठिङ लिन्ठिङ गरेको गाडीमा मेरो आडैमा गज्जबले कुम्भकर्णलाई चुनौति दिने गरी मै बसेको सिटलाई नै उसकै बाउको बपौती सोचेर होला सिमाना मिचेर मेरो आधा शरिर ढाकेर किचिक्क र थिचिक्क पारेर निदाएको थियो त्यो अपरिचित मान्छे । यो लामो रातमा रात्रिबसको यात्रामा कतिबेला ऊ मेरो आडमा आएर ढाड तन्काएर सामान थन्काएर र अलिकति सोमरस दन्काएर सुतेछ मलाई यादै भएनछ । शिर पुच्छर हेरेँ ।
बजिया मोरो त बडेमान्को रहेछ । प्याट्ट भुँँडी भा’को भुँँडीमाथि टिसर्ट ला’को रहेछ उसले । उसलाई उठाएर हेर्ने हो भने उसले खुट्टाको बुढीऔँला हेर्न निकै मेहनत गर्नुपथ्र्यो । मलाई लाग्यो उसले वषौं भयो होला सर्लक्कसँग बुढीऔँला उभिएर नहेरेको । उफ् घुर्न पनि कति घुरेको हो, ऊ बेलामा बासुकीनागको नेती बनाएर देवगणले समुन्द्र मन्थन गरेको भन्दा भिमकाय आवाज निकालेर घुर्दै थियो । बल गरेर निदाउँछस भन्यो अहँ, निदाउनै सकेको छैन, आखिर कामधेनु पहाडले किचेको झै थिच्चिएर यात्रागर्नु जस्तै जात्रा भयो । हैन निदाउनै सकस भो, यस्तो चालाले रात जाँदैन भन्ने सोचेर मैले बिस्तारै उसलाई उठाउने जमर्को गरेँ । तर अहँ, गाउँका कटुवालले कटुवाल लगाएझैं गाडी मात्र हैन, गाडी बाहिरको झाडी समेत थर्काउने गरी सुतेको उसलाई तर्काउनको लागि उठाउन निकै यत्न प्रयत्न गर्नै प¥यो । लौ जे पर्ला पर्ला, प¥या कुरा टर्ला भनि मज्जाले आची आउने गरी चिच्च्याएँ । अनि बल्ल भगबान् श्रीकृष्णले मुख बाएझैं गरि हाई गरे । अनि ब्युँझिएर आफूले सिमाना मिचेकोमा अलिक लाज मान्दै भने सरि ।
राजनीति झैं लामो थियो, रात काट्नै गारो हुने देखेर म ऊसँग बोल्न उपयुक्त ठाने । उनले आफ्नो परिचय दिँदै भने– म जिल्ला प्रशासनको ड्राईभर सा’प हुँ । वाह ! क्या अचम्म ? ड्राइभरले को के भन्थे होलान् उनले त ड्राइभरमा साप् जोडेर ड्राइभर साप् हुँ भने । हुन त साना गाडीका ड्राइभर गुरु होलान् । ठूला अफिस जसका हाकिमलाई साप् भनिन्छ त्यसता अफिसका गाडीका ड्राइभर चाहिँ ड्राइभर साप् होलान् किन कि हिङ नभए पनि हिङ हालेको टालो भन्या झैं ठूला अफिसको ठूलै चालामालामा तिन्ले आफूलाई साप् सम्झेका होलान् । मैले पनि कुनै सरकारी अफिसको कर्मचारी भनेर ढाँटे पछि उनले आफ्नो अफिसको फेहरिस्त सुनाए । हाकिमको लागि साथ दिने, सधंै हाकिमको पिछलग्गु भएर होला ड्राइभर साप्ले हाकिमको पोल खोल्दै थिए । हाकिम मात्र हैन अन्य कर्मचारीको पोल एकाएक खोल्दै थिए ।
गाडी एक तमासले गुडी रहेथ्यो, उनी एक तमासले बोली रहेका थिए । गाडी गएर एक बिसौनिमा खानाको लागि घ्याच्च रोकियो । ड्राइभर साप्ले त्यहीँ नजिकको एक होटेलमा देखाउँदै भने– अरे सर, जाऊँ न त्यहाँ, बडा अच्छा माल पाइन्छ । मैले भने हैन ड्राइभर साप् तपाईले यो कुरा कसरी था’पाउनु भो ? ड्राइभर साप्ले भने कुरा के नि, अस्तिको त्यो ज्यानमारा केसमा हाम्रा हाकिम साप्ले त्यो हत्यारालाई छुटाए बापत् तिनीहरूले यो होटल हामीलाई एक महिनाको लागि जे गर्न र जे खान पनि फ्रि गराई दिएका छन् नि त । त्यतै जाऔं न ।
उनको अफिस समानुपातिक रहेछ । जति दायाँ बायाँ टेबुलमुनिबाट आएको रकम पनि सुरमुनि देखि भुसुनासम्म अर्थात्
हाकिम् साप् देखि ड्राइभर साप्सम्म समानुपातिक तरिकाले पैसाको बाँडफाँड हुने रहेछ । वाह ! क्या प्रजातान्त्रिक अभ्यास रहेछ त्यो अफिसमा । म त उनले सोमरसको सुरमा सुर फुस्केका कुरा सुनेर सरकारी अफिसको चालामाला
थाहा पाउन पाएकोमा गद्गद् हुँदै थिएँ । आखिर अफिसको आन्द्राभुँडी सबै थाहा हुन्छ भने उनी गाडीका गुरुजी नभएर हाकिम साप्कै सरह ड्राइभर साप् हुन् भन्ने निष्कर्षमा म पुगेँ । कुरा गर्दै जाँदा थाहा लाग्यो उनी भारतिय भूमिका रहेछन् तर के कसरी हो नेपाली नागरिकता हत्याएपछि त प्रशासन कार्यालयमै ड्राइभर साप्को जागिर खाएर देखाई दिएका रहेछन् ।
अचेल तपाई सरकारी अड्डातिर धाउँदै हुनुहुन्छ भने अलिक बिचार पुर्याउनु पर्ने हुन्छ– कतै तपाई त्यहाँका पावरवाल ड्राइभर साप्लाई हाम्रो परम्परागत सम्बोधन अर्थात् गुरुजी त भन्नु भा’को छैन, उनीहरू त हाकिम साप्का ड्राइभर साप् हुन् । त्यसैले सम्बोधनमा नचुक्नु है, बडेघरका कुकसर पनि शक्तिशाली हुन्छन् आखिर भुकाइ यौटै भए पनि । जदौ ।
लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































