दुर्गाप्रसाद ग्वालटारेमामा ! मेरो बिन्ती
मामा, म धनुषटङ्कार गर्दै ‘मावल्’ भित्र पसेँ भने,
‘मर्जी होस्’ भन्दै कुरा सुरु गरेँ भने,
‘गुनगानको महात्म्य’ पाठ गर्न थालेँ भने,
मलाई कोठामा पस्नै नदिनोस् ल !
मामा, मैले आकाश पाताल जोड्दै स्व–विज्ञापन गरे,
आफू ज्ञान र सीपको भन्डार नै भएको बखान गरे,
अरुको कुरा काट्दै ‘दाउको’ छुरा रोप्न खोजे,
मलाई सोफामा बस्नै नदिनोस् ल !
मामा ! मैले ‘मर्जी होस्’ को सट्टा ‘गर्नुहोस्’ भनेर औंला ठड्याएँ भने,
‘मैले के पाउँछु’ भन्दा ‘मैले के दिन्छु’ भन्ने हेक्का राखेँ भने,
माइजूसँग ‘खास्खुस्’ भन्दा बरु तपाईंसँगै ‘ठाकठुक्’ गरेँ भने,
मलाई धाप मारेर ‘क्याबात्’ भन्नुहोला ल !
मामा ! मैले आफ्नोभन्दा अरुको कुराउठाएँ भने,
‘समस्याको सागर’ भन्दा ‘समाधानको औजार’ देखाएँ भने,
विदेशको ‘स्तुति’ भन्दा देशको चिन्ता दर्शाएँ भने,
फेरि धाप मारेर ‘भान्जा स्याबास्’ भन्नु होला ल !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































