साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्षायामका जुकाहरू

Nepal Telecom ad

वर्षा याम सुरु भएसँगै लेकतिर जुका सल्बलाउन थाल्छन् । गोठाला, खेताला, बटुवा लगायत बस्तुभाउको रगत चुसेर टिलपिल हुँदै बुर्लुक्क बुर्लुक झर्छन् । च्याउ तेत्तिकै जहाँतही उम्रन्छ । कतिपय मानिसहरू खाने च्याउ कुन हो नखाने च्याउ कुन हो नचिनी खाँदा पुर्लुक पुर्लुक मर्छन् । यो सिजन नै यस्तै हो । एस.एल.सि.को रिजल्ट भयो भन्ने सुने लगतै यतिजनाले आत्महत्या गरेर मरे रे भन्ने पनि सँगसँगै सुनिन थाल्या छ । जता पनि आमाबाबुलाई नै घाटा एस.एल.सी. पास गरे क्याम्पसले ढाड सेकाउने, फेल गरे भने कतिपय छोराछोरीले मरेर ज्यान सुकाइदिने ।

देशभरिका उच्च शिक्षादाता भनाउँदा कलेजहरू विद्यार्थीले एस.एल.सी.को उत्तरकपी लेख्न थाल्दैदेखि मुखमा र्याल काड्दै आषाढ कुर्न थालेका हुन्छन् । जेष्ठको अन्त्यसँगै उनीहरूको दशैं शुरु हुन्छ । कलेजहरूले यो सिजनलाई महाकुम्भ मेला झैं गरी मनाउँछन् । हनुमान सीतालाई भेट्न श्रीलङ्का जाँदा बाटोमा मुख बाएर बसेको खै के पो नाम गर्या राक्षस जस्तै गरी कलेजहरू मुख बाएर उभिएका हुन्छन् । विद्यार्थीहरू लुरुलुरु गएर सुरु सुरु त्यही मुखभित्र छिर्छन् । तर हनुमान जस्तो कला उनीहरूमा कहाँ हुनु, हनुमान त उपाय गरेर निस्किएर गएथे तर विचरा विद्यार्थीहरू एकपल्ट मुखभित्र छिरिसकेपछि नपचेसम्म निस्कनु त के सास फेर्न पनि पाउँदैनन् ।

नानाथरिका रङ्गिन सपनाहरू देखाएर ईन्द्रजाल नै लगाईवरी रुपियाँको कुम्लोमा लाहाछाप लगाउँछन् । बस, दुई वर्षलाई चुप । एकमुष्ठ ट्युसन फि यति । सेक्युरिटि फि यति । लाईब्रेरी फि यति । ल्याबको चार्ज यति । प्राक्टिकलको यति । सबै बुझाई सकेपछि सेक्यो रोटी, लइबरी, ट्याब बनाउने हो केको सेक्युरिटी, केको लाईबेरी । अझ कतिपय कलेज ले त आजकाल विद्यार्थीसँग क्रेडिट कार्ड पनि पो बनाउन लगाउन थाल्याछन् रे । वा ! कति भरपर्दो शिक्षा दीक्षा !

वर्षामा लेकतिर लाग्ने जुकालाई त नुन वा सूर्तिको धुलो दलिदियो भने झर्छ तर यी जुका एकपल्ट टाँसिएपछि पेट फुलुन्जेल नचुसेसम्म जे दलिदिए नि झर्दैनन् । बरु झन स्वादिलो मानेर पो रगत पसिना पिउँछन् त । जय होस् बर्षे जुकाहरूको ।

गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x