बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भक्ति जप्न जपीसक्यौ
स्वदेश स्वर्गजस्तै हो, नर्क हो परदेश ता
जहाँ संस्कार भासिन्छन्, मासिइन्छन् स्वसभ्यता ।
जान्दा जान्दै पनि हाम्रा, लाखौं युवा विदेशिए
नामधारी छ सर्कार, योजना नीति नै मरे ।।१।।
सत्ताको स्वादमा डुब्ने, पदका पगरी भिरी
सृष्टि–दृष्टि सबै शून्य, हल्लाकै लाउँछन् फिरी ।
केटाकेटी लुला—बुढा, अपाङ्गमाथि शासन
युवा—उर्जा लखेटेर, दरिलो हुन्छ आसन ? ।।२।।
जनता—जनता भन्दै, लुट्ने मेसो चलाउँछौ
जन—शासनको धाक, फोस्रो धोत्रो लगाउँछौ ।
बुद्धिशुद्धि दुबै मासी, नाशी राष्ट्रिय— अस्मिता
युवा रगत बेचेर, भत्कायौ निज सभ्यता ।।३।।
पूँजीवाद चल्यो भन्छौ, छैन उद्योग नै यहाँ
भिक्षावाद चलाएर, लुट्न माहीर छौ जहाँ ।
विधिकानुन के बन्ला, भागबन्डा छ दैनिकी
ढुकुटी सुकुटी पार्यौ, ओखती—सोखती कती ? ।।४।।
राणा शाहहरू भन्दा, जन्डा छौ भ्रष्ट—कायर
मौनता तोड ए योद्धा, क्रान्तिको गर फायर ।
गूट फूट सधैं लूट, खप्नसम्म खपीसक्यौ ।
मुर्दा बनेर के बाच्ने ? तिम्रा भक्ति जपी सक्यौ ।।५।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































