विमल निभाजुत्ता
देशलाई बदल्छु भनेर
कसम खानेहरूले
एकाएक बदलेका छन्
आफ्नो जुत्ता
जुत्ताको रंग छ कालो
विश्वासघातको रंग पनि
कालो नै हुन्छ
र काला रातहरूमा
उत्सव मनाउँछन्
दलाल, पाखण्डी, भाट,
बेइमान र जुवाडेहरू
दुष्ट जादुगरले
उचाल्यो चमत्कारिक लठ्ठी
घुमायो वायुमण्डलमा
र हामीले हेर्दाहेर्दै गायब भयो
यो देशको शरीरबाट
सबभन्दा नरम छाला
त्यसपछि सफल षड्यन्त्रकारी
र त्यसका अनुचरहरूले लगाए
त्यही छालाबाट निमिर्त
जुत्ता
आजभोलि जताततै
काला जुत्ताहरूले कुल्चिरहेका छन्
पहाड, उपत्यका र तराईको करङ
यही करङलाई भर्याङ बनाएर
पुगेका छन् जुत्ताधारीहरू
सबभन्दा माथिल्लो तलामा
एउटा विशाल कक्षमा
सजाएर राखिएको छ स्वर्णासन
जसको दुवैतिर तैनाथ छन्
हिंस्रक वनमानुषहरू
बन्दुक र बर्दीमा
अब दृश्य परिवर्तन हुन्छ
कृपया ध्यान दिनोस्
कविताका मेरा प्रिय पाठकहरू !
हाम्रो शिरमाथि चढेर
एकजोर कालो जुत्ता
घोषणा गर्दैछ सगर्व
–देशबासीहरू हो
हामीले कसम पूरा गरेका छौं
यो देशलाई पूरै बदलेका छौं ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































