साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिर खेल

Nepal Telecom ad

तपैँलाई एउटा कुरो भनौँ ? म सानो हुँदा मेरी ज्यामैले मलाई बारम्बार एउटा वाक्य भन्दै गाली गर्ने गर्थिन्– ‘अहिले मेरो टाउकाँ गिर खेल्न पा’की छेस्, पछि था पाउलिस् ।’

उनले यसो भन्दा म उनलाई ओठे जबाफ दिन्थेँ– ‘म त गट्टा खेल्छु । भाँडाकुटी खेल्छु । पुतली खेल्छु । बल खेल्छु । डोरी खेल्छु… आदि के के खेल खेल्छु । तिम्रा टाउकाँ त जुम्राले गिर खेल्छन् । म जुम्रा हो र ? तिम्रो सन्पाटजस्तो कपाल भा टाउकाँ गिर खेल्नलाई ?’

वास्तवमा यो कस्तो प्रकारको खेल हो, र यसलाई कसरी खेलिन्छ भनेर मलगायत् मेरो खेल मण्डलीलाई यस बारेमा केही ज्ञान थिएन । नत्र बूढीमाउको खोपडीमा गिर खेल्न के पो छोडिन्थ्यो र ! साँच्चै भनूँ भने अहिले पनि ‘गिर खेल’का बारेमा मेरो ज्ञानको भण्डार राजधानी बासीका गाग्रीबाल्टी जस्तै खाली छ भन्नु पर्दा खानेपानी संस्थानलाई जस्तै मलाई पनि फिटिक्कै लाजसरम लाग्दैलाग्दैन ।

जे होस्, मलाई बारम्बार ‘मेरो टाउकाँ गिर खेल्ने’ भन्दै गाली गर्ने मेरी ज्यामैलाई यो खेलका बारेमा बिस्तारमा सोध्नुहुन्थ्यो नि, तर के गर्नु र ! आइरन नला’को लुगाजस्तै गाला भएकी ती मेरी ज्यामै पनि जेमराजको साथ लागी परलोकतिर प्रस्थान गरिसकिन् । खैर केही छैन, यो खेलका बारेमा तपैँलाई था छ भने खुरुक्क ला’र भण्डाफोर गर्नुस् । था छैन भने खाली दिमागाँ बोटिङ नगर्नुस् । बरू मैले गिर खेलका बारेमा गरेको गेस मिल्छ कि मिल्दैन ? सुन्नुस्, गुन्नुस् र भन्नुस् है त !

मलाई के लाग्छ भने समय परिवर्तनसँगै गिर खेलमा पनि परिवर्तन हुँदैहुँदै अहिले आएर नयाँ नेपालको राग अलाप्ने नेता नीतिसँग ठ्याक्कै मिल्ने अर्थात् हात्ती र हात्तीछाप चप्पलजस्तै हुनुपर्छ गिरखेल ! ‘चिची पनि मलाई, पापा पनि मलाई मात्रै’ भन्दै अर्काको खुट्टा तानी डङरङ्गै उत्तानो टाङ पार्न पर्फेक्ट प्लेयरले खेल्ने खेल नै ‘गिर खेल’ हुनुपर्छ । ‘जसोजसो पुरेतबाजे उसोउसै स्वाहा’ भने झैँ जता जोसँग गाला जोड्दा, हात मिलाउँदा चिठ्ठा पर्छ उतैतिर लाग्ने अनि आफ्नोे स्वार्थ पूरा नहुने जस्तो लाग्यो भने साथ छोड्न क्षणै नलाग्ने खेललाई नै ‘गिर खेल’ भनिएको हुनुपर्छ । अझ लाजै पचाएर भन्ने हो भने जो कुर्सीमा बस्छ उसलाई त्याँबाट गिराउने अनि अर्को बस्ने, त्यसलाई पनि गिराउने, बस्ने, गिराउने…। यसरी एक अर्कालाई बसाउने, उफार्ने, पछार्ने, थचार्ने, गिराउने खेल नै ‘गिर खेल’ हुनुपर्छ । यसमा खेलाडीले आफ्नोे नैतिकता, इमान्दारिता, सत्यता, लाजसरम आदि कुरालाई अनिवार्य रुपमा ढलमतीमा सलल बगाएको हुनैपर्छ । फोस्रा आश्वासन दिन ठूल्ठूला कुरा गर्न सिपालु हुनुपर्छ । भोकप्यासले प्राणान्त प्राणीलाई ‘किन खान हतार गरेको ? पख न ! म टन्न अघाएको छँदैछु क्यार ! तिमीलाई पनि मरेपछि अघाउन्जेल बासमती चामलको पिण्ड र मेलम्चीकै पानीले तर्पण दिउँला । त्यसैले अहिले नछट्पटाऊ धैर्य गर ।’ भन्दै आफ्नोे अजङ्गको उदर मालिस गर्दै मुसुक्क मुस्काउन जान्नुपर्छ ।

गिर खेल खेल्ने ठाउँ चैँ सोझा निमुखा मान्छेको दुःखैदुःखले थिल्थिलिएको थाप्लो नै हुनुपर्छ । किनभने उदाहरण खोज्न कहीँ टाढा जानै पर्दैन । हामी सबै साक्षी छौँ । हामीले विश्वास गरी भोट दिएर ठूला बनाएकाहरूले नै आज हाम्रै गिदीको गातामा गिर खेल्दै गर्जना गर्दैछन् । र हामी आफ्नोे थाप्लोमा ऋणको भार बोक्दै, उनीहरूलाई पोस्दै, उनीहरूकै नौटङ्कीको मुक दर्शक बन्न बाध्य छौँ । हो कि हैन भन्नुस् त ? यही त होला नि ‘गिर खेल’ भनेको !

आ.. जे सुकै होस्, चेतनाको चिल्लोले चिपिच्याल्लै पारेर चिप्ल्याई चारचित्त पारेर चेतबाबा काशी भनेर दोहोलो काढ्ने कोही नभएसम्म जे पर्ला पर्ला म पनि गिर खेल्न जानु पर्ला जस्तो छ । तपैँ पनि जाने हो कि गिर खेल्न ? ? ?

‘झिँगापुर महाजात्रा’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x