साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारीको दोहोलो

Nepal Telecom ad

“सरुवा, बढुवा वा अरू कुनै काम गराउन नोटका बन्डल ब्रिफकेसमा कोचेर कुनै कर्मचारी मकहाँ आयो भने त्यही ब्रिफकेसले हानेर त्यसको टाउको फुटाइदिन्छु ।” हाम्रा सामान्य प्रशासन मन्त्रीज्यूको असामान्य अठोट हो यो । त्यस्ता कर्मचारीको टाउको फुटाउँदा कुनै मानव अधिकारवादी आफूसँग झगडा गर्न नआओस् भनेर पनि उनले अग्रिम चेतावनी दिएका छन् । मानव अधिकारकर्मीलाई मात्र होइन, उनले फौजदारी कानुनलाई पनि कडा चुनौती खडा गरेका छन् । कदाचित् त्यसरी ब्रिफकेसले हान्दा टाउको फुटेर त्यो कर्मचारी ठहरै भयो भने प्रहरीले मन्त्रीलाई हतकडी सोझ्याउन पाउँछ त ? पाउँदैन ।

उहिले पृथ्वीनारायण शाहले घूस खाने र खुवाउने दुवै राष्ट्रका शत्रु हुन्, तिनीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्नू भन्ने आदेश जारी गरेका थिए रे । कानुन अनुसार कारबाही गर्ने त्यो त सामन्ती युगको कुरा थियो । अबको कुरा बेग्लै । प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी गणतन्त्रमा पुगिसक्यौँ। त्यसैले हामीले त्यो सामन्ती युगलाई उछिनेर मध्ययुगतिरका बर्बर मौखिक कानुनहरूको अनुसरण गर्नैपर्छ, नत्र भ्रष्टाचार समाप्त हुँदैन ।

घूस खुवाउने फटाहाले ब्रिफकेसको सट्टा झोलामा नगद बोकेर आयो अथवा चेक बोकेर आयो अथवा बैंक खातामा पैसा जम्मा गरिदियो भने त लालबाबुका बाबुको पनि के लाग्ला र ? तर, प्लास्टिकको कडा खालको ब्रिफकेसमा नोट बोकेर मन्त्रीज्यूका अगाडि आयो भने त्यसको चाहिँ दोहोलो हुने भयो । लौ अब कुनै दुस्साहसी राष्ट्रसेवक सरुवा वा बढुवा माग्दै ब्रिफकेस बोकेर पण्डितजीकहाँ जाओस् त ?

केही वर्षअघि एक जना मन्त्रीले कर्मचारीलाई शौचालयमा थुनेर सजाय दिएका थिए । हाम्रा वर्तमान मन्त्रीज्यूले पनि उनको पदचापलाई पछ्याउँदै भ्रष्टाचार न्यूनीकरणका नयाँ नयाँ आइडियाहरू अविष्कार गरिरहेका छन् । मन्त्रीज्यूले यस्ता मौलिक र दिव्य कानुनहरू अझै धेरै बनाउनुपर्छ । भ्रष्टाचारलाई शून्य बनाउनुपर्छ । भ्रष्ट राष्ट्रसेवकहरूलाई खोलामा बगाउने, टाउको फुटाउने घोषणाहरू उनले गरिसके । अब यसपछिका गोष्ठी एवम् कार्यक्रमहरूमा मन्त्रीले के भनेर तहल्का मच्चाउने त ? त्यसका लागि अझै जोडदार र गणतान्त्रिक दण्ड विधिहरू सुझावका लागि प्रस्तुत छन् ।

ट्वाइलेटमा थुन्दा, खोलामा बगाउँदा वा टाउको फुटाउँदा पनि भ्रष्टाचारीहरूले ब्रिफकेस बोकेर शक्तिकेन्द्रमा दाँत ङिच्याउन छाडेनन् भने तिनीहरूका दाँत फुकालेर हातमा राखिदिने, बङ्गारा झारेर पातमा राखिदिने । तिनीहरूको जिब्रो काटिदिने, ढुङ्गाले हानेर ढाड खुस्काइदिने, घुँडा फुकालिदिने, कपालमा समातेर उचाल्दै पछार्दै गर्ने, गाला चड्काउने, कान उखेल्ने । तैपनि, टेरेन भने कालो मोसो दलेर ठेलागाडामा नगर परिक्रमा गराउने । दिसा कोच्याउने ।

त्यति गर्दा पनि भएन भने टुप्पीमा समातेर ढुङ्गामा टाउको ठोक्काउने, निधारमा हम्मरले हान्ने, नाक भाँचिदिने, मुङ्ग्राले हानेर करङ खुस्काइदिने, चिर्पटले हिर्काएर ठाउँका ठाउँ खुत्रुक्कै पार्ने, पुल्ठो बालेर पछाडिपट्टि झोसिदिने, तिघ्राको मासु हँसियाले तासिदिने।

मन्त्रीज्यूले भनेजस्तै भ्रष्टाचारीहरू साह्रै ज्याद्रा हुन्छन् । तिनीहरूलाई अझै कडा दण्ड दिनुप¥यो भने कराईमा तेल उमालेर डुबाइदिने । भुत्ते चुलेसीले रेटेर दुई फ्याक पारिदिने । काँडाले जीउ कोतरेर खुर्सानी र अमिलो दल्ने । त्यति गर्दा पनि भएन भने खाडल खनेर जिउँदै पुरिदिने ।

अर्थोक के के गर्दा भ्रष्टाचार समाप्त हुन्छ, तपाईं पनि केही लोकतान्त्रिक उपायहरू बताइदिनूस् न मन्त्रीज्यूलाई । मैले मात्रै कति बुद्धि लडाउनु !

‘नेपाल’ बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x