निर्मोही व्यासबेहाल छ
खै बताऊँ म के ! आज के हाल छ ?
आज नेपालको हाल बेहाल छ
लूट, हत्या, बलात्कार सामान्य छ
दण्डनीयै यहाँ पूज्य–सम्मान्य छ
राज्यको नीति नै आज दिग्भ्रान्त छ
जाति–विद्वेषले देश आक्रान्त छ
दम्भ–दुर्भावना व्याप्त दुर्दान्त छ
सौम्य नेपाल यो खिन्न, विक्लान्त छ
देवको स्थानमा भूतको मान छ
धुन्धुकारीहरूको यशोगान छ
सत्य–निष्ठाविनाको अनुष्ठान छ
आज प्रज्ञाविनाको प्रतिष्ठान छ
योजनाहीन नै योजनाकार छ
भूमिकाशून्य जो, भूमिकाकार छ
व्याप्त सर्वत्र यस्तै अनाचार छ
न्यायको देशमा न्याय लाचार छ
‘काम राम्रो कुनै होस् कि बेकार होस्
वाहवाही लिने स्वप्न साकार होेस्
ढ्वाङ सक्तो फुकी गर्नु आफ्नै स्तुति’
झाङ्गिएको छ ऐले नयाँ ‘संस्कृति’
मारमा छन् परेका यहाँ सुकृति
नित्य मौलाउँदै छन् नयाँ विकृति
हुन्छ साम्राज्य धुत्र्याइँको नै जहाँ
सुन्छ सौजन्यको बात कस्ले त्यहाँ ?
आज उम्दा गनिन्छन् यहाँ पित्तल
‘स्वर्ण’ ओझेलमा पार्न हुन्छन् छल
छैन चोखो कुनै क्षेत्र यौटै पनि
छन् सबैमा छिरेका लुटेरा–खुनी
रूप तिन्का अहो ! छन् अनेकौँ थरी
फस्छ सादासिदा चिन्न गाह«ो परी
हाटमा, घाटमा, घात लाईवरी
मक्ख पर्छन् सिकारी भकारी भरी
कूटभाषा छ बुझ्नै नसक्ने गरी
गूटकै, भूटकै चल्छ दादागिरी
क्षेत्र सारा तिनैको छ बिर्तासरि
फल्छ खेती विनामेघ वर्षैभरि
‘शक्तिको भक्तिमा जो मजा,अन्त खै ?
बेमजाको अरू भक्ति हो व्यर्थकैै !’
गूढ यो मर्मलाई बुझेरै सधैँ
शक्तिको भक्तिमा छन् जुटेका सबै
काम खस्रो यहाँ चल्छ चिप्लो कुरा
को छ विश्वासिलो ? पर्नु कस्को भर ?
भन्नु आफन्त को ? को पराई अनि ?
चिन्न गाह्रो, अँध्यारो छ बत्तीमुनि
Subscribe
Login
0 Comments
Oldest










































